‘पोखरा भ्रमण वर्ष’ घोषणा
मिनबहादुर कुँवर/कास्की, फाल्गुण ३,
मुलुकमा सन् २०२५ मा स्वदेशी र विदेशी गरि २० लाख पर्यटक पोखरा भित्र्याउने लक्ष्य सहित ‘पोखरा भ्रमण वर्ष २०२५’ को शनिबार विधिवत् घोषणा गरिएको छ। शनिबार पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक सुरुवात गरियो। अर्थमन्त्री विष्णु पौडेलले पोखरा भ्रमण वर्षको उद्घाटन गरेका थिए। पोखरामा आन्तरिक र बाह्य पाहुना भित्र्याउने योजना अनुरूप पोखरा महानगरपालिकाले वर्षभरि गरिने कार्यक्रम सार्वजनिक गरिसकेको छ भने पर्यटन क्षेत्रले पनि प्याकेज घोषणा गरेको छ। सन् २०२५ सुरु भएको डेढ महिना पछि घोषित कार्यक्रमले पोखरा क्षेत्रमा स्वदेशी र विदेशी पर्यटक भित्र्याउने गरि विभिन्न कार्यक्रमको तय पनि गरिएको छ। त्यसबाहेक पर्यटन क्षेत्रले पोखरामा यो वर्ष भित्रिने पाहुनालाई दिइने छुट सहितको प्याकेज पनि सार्वजनिक गरिएको छ। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा भ्रमण वर्षको अवसरमा सन् २०२५ भर पोखरा भित्रिने आन्तरिक तथा बाह्य पाहुनालाई होटलको कोठाको मूल्यमा २० प्रतिशत छुट दिने घोषणा गरेका बताए। उनका अनुसार होटलले प्रकाशित गरेको मूल्यमा २० प्रतिशत छुट पाहुनाले पाउनेछन्। पोखरा महानगरले केहीदिन अघि पोखरामा वर्षभरिमा पाहुना भित्र्याउनका लागि गरिने गतिविधि समेत सार्वजनिक गरिसकेको छ। स्वदेशी तथा विदेशी पाहुनालाई सपरिवार तथा इष्टमित्रलाई समेत पोखरा घुम्न बोलाउने योजना महानगरले बनाएको छ। त्यसका लागि विभिन्न निकायमार्फत स्वदेश र विदेशमा प्रवर्द्धन गरिने पनि महानगरले बताएको छ। विकास साझेदार, विदेशी नियोग तथा नेपालस्थित राजदूतावाससँग समन्वय गरी विभिन्न सहरमा पोखराबारे प्रचारात्मक अभियान चलाउने र भ्रमणका लागि आह्वान गर्ने महानगरले तयारी गरेको यसअघि मेयर धनराज आचार्यले बताएका थिए। ‘पोखरा भ्रमण वर्षमा पोखरामा आन्तरिक र बाह्य पर्यटक भित्रिने अपेक्षा छ। त्यसै अनुसार अहिले भ्रमण वर्ष घोषणा पनि गरिएको छ,’ उनले भने, ‘भ्रमण वर्षले पोखरामा अहिले भन्दा बढी पाहुना भित्रिने अपेक्षा छ। त्यसले व्यवसायमा लाभ हुनेछ। पोखरा भित्रिएका पाहुनालाई यो छुटले केही सहज हुनेछ।’ पोखरामा पाहुना भित्र्याउन यस्ता छुटले सहजीकरण गर्ने उनले बताए। उनका अनुसार पोखराका पर्यटन क्षेत्रका अरु व्यावसायिक संस्थाले पनि महानगरमा छुट सहितको प्याकेज बुझाएका छन्। कार्यक्रममा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा भ्रमण वर्षले पोखरालाई पर्यटन क्षेत्रमा जुरुक्क उठाउने पनि बताए। उनले पोखरालाई केन्द्र बनाएर आसपासका क्षेत्रमा पनि पर्यटकीय गतिविधि बिस्तार गर्नुपर्ने बताए। साहसिक पर्यटकीय क्षेत्रको गन्तव्यको रुपमा पोखराले पहिचान पाएकोले भारत र चिनियाँ पर्यटकलाई पोखरा भित्र्याउन सक्ने हो भने पर्यटन क्षेत्रले अहिले भन्दा बढी लाभ पाउने उनले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु नहुँदा अझै पोखराले गति लिन नसकेकोमा अब त्यसको पनि सुरुवात हुन थालेको उनले बताए। हिमालय एयरलाइन्सले केही समय पछि पोखरादेखि चीनको ल्हासा उडान गर्ने तयारी गरेकोले हिमालयको उडानपछि अरु अन्तर्राष्ट्रिय उडानका लागि पनि ढोका खुल्ने उनले बताए। ‘पोखरा–ल्हासाको उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको ‘आइसब्रेक’ गर्नेछ,’ उनले भने। ‘नेपालको प्रकृति र संस्कृति हेर्नका लागि भारतीय र चिनियाँ पाहुना भित्र्याउन सकियो भने त्यसले पोखराको मात्र नभई समग्र नेपालको अर्थतन्त्र बढाउन सघाउनेछ,’ उनले भने, ‘पर्यटन क्षेत्रको नेतृत्व अब पोखराले गर्नुपर्छ । कम्तीमा एकपटक पोखरा घुम्न जाऊँ है भन्ने माहौल यो कार्यक्रमले ल्याउनुपर्छ।’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय राजधानी पोखरामा यस्ता कार्यक्रमले पाहुना भित्र्याउन सघाउने बताए। पोखरामा कति संख्यामा पर्यटक भित्रिए भन्दा पनि त्यसबाट लिन सकिने लाभबारे ध्यान दिनुपर्ने उनले बताए। ‘पोखरासँग सबै प्रकारका पर्यटक भित्र्याउने सम्भावना छ। स्थानीय तहले प्रयास गर्ने हो भने प्रदेशलाई पनि पर्यटनमा सक्रिय हुन झनै बल पुग्छ,’ उनले भने। भट्टराईले अहिले गरेको प्रर्वद्धनात्मक गतिविधिका कारण आगामी वर्षमा पनि पोखरामा पोखरामा पाहुना आकर्षण भइरहने भएकोले सबै क्षेत्रको उत्तिकै सक्रियता आवश्यक रहेको बताए। ‘यो वर्ष लक्ष्य मात्र पुरा गर्ने देखिएको छ। तर, त्यसको लाभ आगामी वर्ष अझै बढी हुनेछ । सरकारले पूर्वाधार बढाउनमा ध्यान दिने र निजी क्षेत्रले व्यवसायमा अपग्रेड गर्ने हो भने पोखराले यो गतिविधिबाट लाभ लिन्छ,’ उनले भने, ‘पोखरासम्मको पहुँचमा समस्या भएकोले केही अप्ठेरा छन्। तर, सरकारले ती अप्ठेरा चिर्नका लागि तत्काल कदम चाल्नुपर्छ।’ पोखरा महानगरपालिकाद्वारा घोषित पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले यो वर्षका गतिविधिले पोखरमा अहिले भन्दा बढी पर्यटक भित्र्याउन सघाउने अपेक्षा रहेको बताए। ‘२०२५ को लक्ष्य पुरा गर्न केही चुनौती छन्। ती चुनौती पुरा गर्न निजी क्षेत्रको भरमा मात्र सम्भव छैन। सार्वजनिक निकायले पनि उत्तिकै साथ दिनुपर्छ,’ भट्टराईले भने, ‘सरकार र निजी क्षेत्र मिलेर अघि बढेको खण्डमा अहिले भन्दा बढी पर्यटक पोखरा भित्र्याउन सकिनेछ। त्यसले लाभ दिनेछ।’ व्यवसायीले पनि व्यवसायको अहिलेसम्मको मोडललाई परिवर्तन गर्न जरुरी रहेको उनले बताए। ‘समय परिस्थिति अनुसारमा प्रवर्द्धनको तरिका बदल्न सकिन्छ। त्यसबाहेक नयाँ गन्तव्य पनि खोज्दै जानुपर्छ। आन्तरिक प्रवर्द्धनलाई पनि उत्तिकै ध्यान दिनुपर्छ,’ उनले भने। त्यसैगरि पोखरामा भारतीय पाहुनाको आगमन पनि पर्याप्त हुने हुँदा वर्षमा आन्तरिक र भारतीय गरि १० लाख पाहुना आउने अनुमान रहेको उनले बताए। आन्तरिक र भारतीय गरेर १० लाख र तेस्रो मुलुकका विदेशी ४ लाख गर्दा वर्षमा १४ लाख हाराहारीमा पाहुना आउने गरेको अनुमान व्यवसायीको छ। तर, पोखरा भित्रिने पर्यटकको तथ्याङ्क आधिकारिक रुपमा भने कतै राखिँदैन। विमानस्थल हुँदै भित्रिने विदेशी पाहुनाको तथ्याङ्क मात्र रहने गरेको छ। व्यवसायीको अनुमानमा अहिले पोखरामा वर्षमा करिब १४ लाख पाहुना भित्रिन्छन्। ती सबै आन्तरिक र बाह्य हुन। वर्षमा चारलाख हाराहारीमा विदेशी पाहुना भित्रिने होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली बताउँछन्। ‘नेपाल भित्रिएका पाहुनामध्ये करिब ४० प्रतिशत पाहुना पोखरा आउने हुँदा हाम्रो अनुमानमा ४ लाख विदेशी पाहुना पोखरा आउँछन्। त्यसबाहेक पोखराका होटलको वर्षभरिको अकुपेन्सीमा करिब ३० प्रतिशत योगदान आन्तरिक पाहुनाले दिएका छन्,’ पराजुलीले भने। आन्तरिक उडानमा मात्र सीमित रहेको विमानस्थलले सन् २०२४ मा १० लाख २३ हजार यात्रुलाई ओहोरदोहोर गराएको छ। ती सबै आन्तरिक र विदेशी यात्रु हुन्। सन् २०२३ मा पोखराबाट ९ लाख ५ हजार हवाई यात्रु ओहोरदोहोर गरेका थिए। सन् २०२४ मा यात्रा गरेका १० लाख २३ हजार यात्रुमध्ये १ लाख ७६ हजार भने विदेशी यात्रु छन्। २०२३ मा ९ लाख ५ हजार यात्रु ओहोरदोहोर गर्दा १ लाख २५ हजार विदेशी यात्रु थिए।