लमजुङमा खुल्यो ‘किसान घर’

Share to:

रासंसा/लमजुङ, माघ ३,

मुलुकमा लमजुङको सदरमुकाम बेसीशहरमा ‘किसान घर’ सञ्चालनमा ल्याइएको छ । बेसीशहर नगरपालिका– ८ को ठाडोलाइनमा ‘किसान घर’ सञ्चालनमा ल्याइएको हो । आरसिडिसीका संस्थापक अध्यक्ष राजेन्द्र बोहराले किसानलाई तरकारी उत्पादन गरेपछि बजारीकरणको समस्या नहोस् भन्ने उद्देश्यले स्थापना गरिएको किसान घरका लागि आरसिडिसीले घरभाडाको आधा रकम आउँदो असारसम्मका लागि बेहोर गरेको छ । त्यस्तै बिक्री गर्ने झोलासहित आवश्यक सामग्री सहयोग गर्नुको साथै सिड मनिका रुपमा एक लाख रुपैयाँसमेत एकता कृषि सहकारी संस्थालाई सहयोग गरेको बोहराको भनाइ छ । किसानले स्थानीय क्षेत्रमा गरेको उत्पादन खासगरी तरकारीलाई उचित मूल्यमा बिक्री गर्न र उपभोक्तालाई पनि सस्तो मूल्यमा खरिद गर्न सहज होस् भन्ने उद्देश्यले किसान घर सञ्चालनमा ल्याइएको सञ्चालकहरूको भनाइ छ । एकता कृषि सहकारी संस्थाले किसान घर सञ्चालनमा ल्याएको हो । सो कार्यका लागि ग्रामीण सामुदायिक विकास केन्द्र ((आरसिडिसी) लमजुङ र बेसीशहर नगरपालिकाले सहयोग गरेका छन् । सो प्रयोजनको सहजताका लागि आरसिडिसीको सहयोगमा दुई लाख ९८ हजारमा कोल्ड स्टोरसमेत स्थापना गरिएको छ । ‘किसान घर’ स्थापना भएर सञ्चालनमा आएपछि बेसीशहर र आसपासका किसानहरू खुसी भएका छन् । यसअघि आफूले फलाएको तरकारी बेच्नका लागि डोकोमा बोकेर घरघरै डुल्नुपर्ने समस्या थियो । ‘अब डोको बोकेर घरघरमा धाउन नपर्ने भएपछि खुसी लागेको छ ।’ बेसीशहर नगरपालिका– २ का किसान वीरबहादुर विकले बताए । उनका अनुसार कसैकसैले त ‘ए डोके !’ भन्दै होच्याउने हिसावको बोली बचत गर्ने गर्थे । उनले भने, ‘अब त्यस्तो अपमान सहन गर्नु पर्दैन कि ! भन्ने आशा जागेको छ ।’ उनका अनुसार झण्डै डेढ वर्ष अघि खरिद गरेको एग्रो एम्बेलन्सले पनि काम नपाएर थन्क्याउनु पर्ने अवस्था थियो, अब त्यसले पनि काम पाउने आशा जागृत भएको छ । उनले भने ‘अब किसानको गाउँ टोलसम्म पुगेर कृषि एम्बुलेन्समार्फत सङ्कलन भएको अर्गानिक तरकारी सस्तो मूल्यमा उपभोक्तासम्म पु¥याउने उद्देश्य नगरपालिकाको रहेको छ ।’ किसानहरूलाई आफूले उत्पादन गरेको अर्गानिक तरकारी सजिलोसंग विक्री गर्न र ग्राहकलाई खरिद गर्न सहज होस् भन्ने उद्देश्यले लमजुङको सदरमुकाम बेसीशहरमा किसान घर सञ्चालनमा ल्याउन पहल गरेको बेसीशहर नगरपालिकाको कृषि शाखाका प्रमुख किसान श्रेष्ठले बताए । सो अवसरमा बेसीशहर नगरपालिका– १० बाँझाखेतका किसान केशबहादुर गुरुङले बेसीशहरमा किसान घर स्थापनाले किसानहरूलाई उत्प्रेरणाका साथै उत्साह थपेको बताए । उनले भने, ‘यो साच्चैनै किसानको घर हुन सक्यो भने त्यसले किसानलाई खुसी र सुखी जीवन दिनेछ ।’ मौरी व्यवसायी रहेका उनले मौरीको बीमा नहुनाले आफूहरू मर्कामा पर्ने गरेको सुनाउँदै यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछु भने । लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामकुमार श्रेष्ठले १० वर्ष अघि आफू उद्योग वाणिज्य संघको अध्यक्ष भएको बेलामा पनि हाम्रै पहलमा तरकारी संकलन केन्द्र सञ्चालनमा ल्याइएको थियो । त्यो बेलामा उत्पादन नै कम भएका कारणले त्यसलाई निरन्तरता दिन सकिएन । अब त्यस्तो हुने छैन, किसानमा पनि चेत पलाएको अवस्था छ उनले भने । सो किसान घर व्यवहारमा किसानको घर हुन के कति सफल हुने हो त्यो भने भोलिका दिनले बताउने छ । एकता कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर घिमिरेले यो पहलले किसानमा मात्र नभई उपभोक्तालाई समेत उत्साहित बनाएको छ । उनले भने, ‘किसान घर’ मार्फत बिचौलियाको अन्त्य गर्न प्रयास गर्ने लक्ष्य छ ।

Like