मिलेर अघि बढ्न ट्रम्प र पुटिन सहमत

Share to:

एजेन्सी/फाल्गुण २,

विश्वमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्यादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छुट्टा छुट्टै फोन वार्ता भएपछि तीन वर्षदेखि दुई देशबीचको युद्ध अन्त्य हुने संकेतहरू देखा पर्न थालेका छन् । दुवै नेताले फोन वार्ता निकै सकारात्मक र नतिजा दिनेखालको वार्ता भएको दाबी गरेका छन् । रुसी समाचार संस्था तासले क्रेमलिन र वासिङटनडिसीबीच पुनः सम्बन्ध स्थापित हुने गरी दुई राष्ट्रपतिले फोनवार्ता गरेको उल्लेख गरेको छ । कुनै समय पुटिनलाई हत्यारा, तानाशाह, अपराधीजस्ता घृणा फैलाउने शब्द प्रयोग गर्दै आएका अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिनबीचको ९० मिनेट लामो फोन वार्तापछि पश्चिमा राष्ट्र र रुसबीच लामो समयदेखि रहेको तिक्तता हट्ने अपेक्षा गरिएको छ । दुई नेताबीच कुराकानीपछि ह्वाइटहाउसबाट बाहिरिने क्रममा राष्ट्रपति ट्रम्पले रुसी समकक्षीसँग साउदी अरेबियामा भेट हुने र रुस युक्रेन ‘वार’ अन्त्य हुने बताउनुभएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । दुवै राष्ट्रपतिले एक अर्काको देश भ्रमण गर्ने सहमति पनि भएको ट्रम्पले सञ्चार माध्यमलाई जानकारी गराएका थिए । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले रुस युक्रेन युद्ध अन्त्यका लागि आफ्ना विशेष दुतलाई युरोप पठाएका थिए भने दुवै देशलाई शान्ति वार्ताको टेबलमा ल्याउन त्यसरी खटिएर आएका दुतहरूले वातावरण बनाएपछि दुवै देशका राष्ट्रपति फोन सम्पर्कमा आएको बताइएको छ । राष्ट्रपति ट्रम्पले साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले छलफलमा भूमिका खेल्नसक्ने जनाउँदै हामी क्राउन प्रिन्सलाई राम्रोसँग चिन्छौं । दुईदेशबीच हुने वार्ताका लागि त्यो ठाउँ उपयुक्त हुने मेरो ठहर छ उनले समाजिक सञ्जाल एक्समा लेखेका छन् । युक्रेनमाथि रुसको लगातारको आक्रमणपछि युद्धले थिलथिलिएको युक्रेनले पछिल्लो समय आफू नाटोको सदस्य नहुने बताएपछि हाल युरोपको भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्री पिट हेगसेथले युक्रेन नाटोको सदस्य हुने भन्ने कुरा जसरी बाहिर आएको छ यसमा सत्यता नभएको बताएका छन् । लामो समयदेखि रुस र अमेरिकाबीच उच्चस्तरीय भ्रमण भएको थिएन । झण्डै एक दशकपछि दुवै देशका राष्ट्रपतिले एक अर्काको देश भ्रमण गर्ने औपचारिक घोषणापछि युरोपेली नेताहरूमा भने तनाव र चिन्ता बढ्दै गएको बताइएको छ । बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित एक कार्यक्रममा युक्रेन नाटोको सदस्य नबन्ने बताएको केही घण्टापछि दुवै देशका राष्ट्रपति बीच कुरा हुनुले युक्रेन रुस युद्ध अन्त्य हुनसक्ने संकेत देखिएको अन्तर्राष्ट्रिय युद्ध विश्लेषकहरूले बताएका छन् । सन् २०१३ मा अमेरिकी तत्कालीन राष्ट्रपति बराक ओवामाले रुस भ्रमण गरेपछि उच्चस्तरीय भ्रमण हुन सकेको थिएन । तर, अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले भने ट्रम्पले जेलेन्स्कीसँगको वार्ताका क्रममा अमेरिकाले युक्रेनको रक्षाका लागि ठूलो धनराशि खर्च गरेको त्यसको बदलामा युक्रेनले त्यहाँ रहेको दुर्लभ खनिज पदार्थ ५ अर्ब डलर बराबरको उत्खनन गर्न दिनुपर्ने प्रस्ताव अघि सारेको छ । ट्रम्पको प्रस्ताव युक्रेनले मान्छ वा मान्दैन त्यो भने भविष्यले बताउने रक्षा विश्लेषकहरूले बताउँदै आएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँग वार्ताको केही बेरमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पनि फोनवार्ता गरेका थिए । फोनवार्तापछि दुवै देशका राष्ट्रपतिले वार्ता सकारात्मक रहेको बताएका छन् । अमेरिकामा राष्ट्रपति फेरिएसँगै रुसलाई हेर्ने नीति, भाषा र दृष्टिकोण पूर्ण रूपमा फेरिएको छ । युक्रेन–रुस युद्ध अन्त्य गर्न पुटिनसँग ‘मिलीजुलीका साथ, धेरै नजिकबाट’ काम गर्न चाहेको ट्रम्पले सार्वजनिक रूपमा घोषणा गरेका छन् । ट्रम्पसँग भएको टेलिफोन संवाद पुटिनका लागि ठुलो कूटनीतिक विजयको रूपमा हेरिएको छ । तीन वर्षअघि युक्रेनमाथि हमला गरेर पुटिनले आफ्नो राजनीतिक यात्रामा कलंकको टीका लगाउने प्रयास भएको भन्दै पश्चिमा राष्ट्रहरूले निन्दा गरेका थिए । रुसले युक्रेनसँग कब्जा गरेको भूभाग फिर्ता गर्ने छैन भने युक्रेनलाई नाटोको सदस्य हुन दिने देखिँदैन । रुसले शान्तिवार्ता गर्न तयार रहेको बताए पनि युक्रेनसँग कस्तो सम्झौता गर्न खोजेको हो भन्ने अझै स्पष्ट खुलाइएको छैन । युक्रेनमा पूर्ण स्तरमा आक्रमण गर्ने पुटिनको निर्णयले रुसलाई अन्तर्राष्ट्रिय समुदायमा एक्लो बनाएको थियो । संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनविरुद्ध गैरकानुनी बल प्रयोग गरेकोमा रुसको निन्दा गर्ने प्रस्ताव बहुमतले पारित गरेको थियो । दुई राष्ट्रपतिबीच भएको फोन वार्तापछि क्रेमलिन बलियो अवस्थामा पुगेको र विगत ३ वर्षयता गिरेको शाख फर्काउन पुटिन सफल भएको बताइएको छ ।

Like