अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारस्पेसलहेडलाइन

मतपत्र ढुवानी भोलिदेखि, दुई सूचना सम्प्रेषण अधिकारी थप

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १२,

मुलुकमा निर्वाचन आयोगले बैशाख १३ गतेबाट स्थानीय तह निर्वाचन २०७९ को मतपत्र ढुवानीको काम सुरु गर्ने भएको छ ।

निर्वाचन आयोग, नेपालले सोमबार आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराइएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाइको काम सकिएको र बाँकी मतपत्रको पनि छपाई कार्य जारी रहेको बताउनुभयो । उहाँका अनुसार हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाई सकिएको छ । निर्वाचन आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई पनि सचेत गराएको छ । निर्वाचन आयोगले सरुवा, पदस्थापन वा काजमा खटाइएका कर्मचारीहरूलाई निर्वाचन सम्पन्न गराउने प्रयोजनका लागि तोकिएको ठाउँमा यही बैशाख १५ गते भित्र अनिवार्य रूपमा हाजिर हुने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षलाई पुनः निर्देशन दिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले सो आह्वान गरेको उल्लेख गर्दै उहाँले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्ने राजनीतिक दल तथा उम्मेदवारहरुमाथि निर्वाचन कसुर अनुसार कारबाही हुने चेतावनी पनि दिनुभयो ।
निर्वाचन आयोगले आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठ र सहन्यायाधिवक्ता गुरु वाग्लेलाई निर्वाचन सूचना सम्प्रेषण अधिकारी पनि तोकेको छ । आयोगका प्रवक्ता र सहप्रवक्ताको अतिरिक्त उहाँहरूलाई पनि निर्वाचनको सूचना दिनका लागि निर्वाचन सूचना सम्प्रेषण अधिकारी तोक्नु परेको प्रवक्ता पौडेलले बताउनुभयो । निर्वाचन आयोगले हालसम्म निर्वाचनको पर्यवेक्षणका लागि ६८ वटा संस्थाहरूले अनुमति लिएको पनि जनाएको छ । ती संस्थाका करिव २० हजार पर्यवेक्षकहरूलाई आयोगको परिचय पत्रसहित मतदान केन्द्रहरूमा परिचालन गरिने पनि आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।

Like