७ महिना निगरानी गरेर व्यवसायी लामामाथि आक्रमण, २० लाखको ‘सुपारी’

Share to:

रसंसा/काठमाण्डौ, माघ १३,

मुलुकमा घरजग्गा व्यवसायी विक्रम लामालाई आक्रमण गर्नुअघि आक्रमणकारीहरूले ७ महिनासम्म निगरानी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । कार्तिक ११ मा लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा ४ जना मिलेर लामालाई निर्घात कुटपिट गरेका थिए । आक्रमणमा संलग्न नुवाकोट घर भएका ३३ वर्षीय अजय लामा र गोरखाका दीपक बरामु पक्राउ परेपछि थप तथ्य खुलेको हो । उनीहरू भारतको हरियाणाबाट पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टिमले घटनाको अनुसन्धान गरेर आरोपितहरूसँग पुग्न सफल भएको हो । राई र सिलवाल घटनाको मुख्य योजनाकार रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । विक्रममाथि निगरानी र आक्रमण गर्न राई र सिलवालले रकम दिएरै समूह परिचालन गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । उनले भने, ‘आक्रमणकारीहरूलाई रकम दिएर परिचालन गरेको देखिन्छ ।’ लक्ष्मी राई विक्रम लामाको पूर्वभाउजू हुन् । लक्ष्मी र विक्रमका दाजुको सम्बन्ध विच्छेद भइसकेको छ । आक्रमण गर्नुअघि अजय लामाले ४ लाख रकम लिएको भेटिएको छ । रकम लिएको कुरा अजयले अनुसन्धान अधिकृतहरूसँग स्वीकारेका छन् । आक्रमणमा संलग्न गोरखाको आरुघाट गाउँपालिका–८ घर भएका सिजन अधिकारी पनि भारतको नयाँ दिल्लीबाट पक्राउ परेका हुन् । लक्ष्मी र रमेशले सिजनलाई ‘सुपारी’ दिएका हुन् । सिजनले अजयको समूहसँग समन्वय गरे । अजयले दिपक बरामु र शैलेन्द्र तामाङ उर्फ मार्शललाई आक्रमणमा सहभागी गराएका हुन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले लक्ष्मी राई, रमेश सिलवाल, सिजन अधिकारी, निश्चल सुनार, दिपक बरामु, नुवाकोट घर भएका शैलेन्द्र तामाङ उर्फ मार्शल र अजय लामालाई प्रतिवादी बनाएको छ । मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । आक्रमण सफल भएपछि गोरखा घर भएका सिजन अधिकारीले अजयकी आमालाई ५ लाख रुपैयाँ दिएको भेटिएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘सो समूहले २० लाखको सुपारी लिएर आक्रमण गरेको देखिन्छ ।’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘लक्ष्मी र रमेशसँग रकमबारे डिल गर्ने सिजन अधिकारी हुन्, काम भएपछि २० लाख लेनदेन गर्ने सहमति भएको देखिन्छ ।’ आक्रमणमा संलग्न अजय लामा २०७७ मा लिखत किर्ते कसुरमा पक्राउ परे । पक्राउ मात्रै परेनन्, जेल पनि बसे । ३ वर्ष जेल बसेर निस्केपछि विक्रममाथि उनले एक्लै रेकी गरेको अनुसन्धानमा संलग्न प्रहरी बताउँछन् । अजयले डेढ वर्ष विक्रमको निगरानी गरे तर, आक्रमणको मौका पाएनन् । त्यसपछि अजयसँग मिलेर सिजन अधिकारी समेतले २०८१ वैशाखदेखि निगरानी गरेका हुन् । अनुसन्धानमा संलग्न एक जना अधिकृतले भने, ‘७ महिना निगरानी गरेर आक्रमण गरेको देखिन्छ ।’ जेठीसासु नाता पर्नेलाई अजयले जग्गा मिलाइदिएका थिए तर सो जग्गाको लालपुर्जा नक्कली बनाएको भेटिएपछि उनीविरुद्ध मुद्दा चल्यो । जग्गा खरिद गर्नेलाई विक्रमले पनि चिन्थे । त्यसैले विक्रमले जग्गा गरिद गर्नेसँग मिलेर आफूलाई फसाएको आरोप अजयको थियो । पछिल्लो सयम आक्रमणमा संलग्न अजय, सिजन, निश्चल सुनार, दिपक बरामु र नुवाकोट घर भएका शैलेन्द्र तामाङ उर्फ मार्शल मिलेर निगरानीपछि आक्रमण गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आक्रमणपछि प्रहरीले भण्डारीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । तर, आक्रमणमा संलग्नता पुष्टि नभएपछि उनीविरुद्ध मुद्दा नचल्ने निर्णय भएको छ । भण्डारीबाहेक ७ जनाविरुद्ध ज्यानमार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा दायर भएर काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । विक्रम लामालाई आक्रमण गर्ने समूहले उनलाई यसअघि लागुऔषधमा पनि फसाउन खोजेका थिए । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएका ३५ वर्षीय लामालाई गाडीमा लागुऔषध राखेर फसाउन खोजेको सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्यूरोले त्यसबारे अनुसन्धान गरेको थियो । त्यसबेला सागर कठायत पक्राउ परेका थिए । उनीमाथि अभद्र व्यवहारमा मुद्दा चलाइएको थियो । कठायतलाई गुण्डा नाइके दिपक मनाङेका स्वकीय सचिव टीकाराम भण्डारीले परिचालन गरेको खुलेको छ ।

Like