विपिनको ३४ जनाको सूचीमा नाम नपरेपछि परराष्ट्र मन्त्रालयले थाल्यो रिहाइको पहल

Share to:

रासंसा/काठमाण्डौ, पौष २७,

मुलुकका नागरिक हमासले इजरायल आक्रमणका क्रममा बन्धक बनाएकाहरूलाई रिहा गर्ने कुरा बाहिर आएपछि नेपालले पनि विपिन जोशीको बारेमा चासो लिन थालेको छ । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले पनि हमासले मुक्त गर्न भनेको ३४ जनाको सूचीमा विपिन जोशीको नाम नरहेको बताए । उनले भने, ‘बन्धक रिहाइको बारेमा इजरायली सरकारसँग जानकारी लिँदा त्यसमा विपिन जोशीको नाम नरहेको जानकारी गराएको छ । यद्यपि पहिलो यही लटमा नै विपिन पनि रिहा हुन् भनेर हामीले चाहेका छौँ । त्यसका लागि कूटनीतिक पहल भइरहेको छ ।’इजरायलसँग युद्धविराम भएको खण्डमा पहिलो चरणमा ३४ जनालाई बन्धकलाई रिहा गर्ने भन्दै हमासले सूची सार्वजनिक गरेपछि नेपालले त्यसमा चासो लिन थालेको हो । सार्वजनिक गरिएको सूचीमा विपिन जोशीको नाम नभेटिएपछि परराष्ट्रमन्त्री डा. आरजु राणाले स्वयंले उनको रिहाइका लागि पहल थालेकी हुन् । शुक्रबार परराष्ट्रमन्त्री आरजुले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्ट सरकारसँग आग्रह गरेकी थिइन् । कतार र इजिप्ट सरकारले हमाससँग मध्यस्थता गरिरहेको छ । हाल कतारमा रहेका राजदूत अन्सारीले यस विषयमा कतारका विदेशमन्त्रीसँग कुराकानी गरेर थप जानकारी गराउने जानकारी दिएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ । नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबली र नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीमार्फत राणाले दुवै देशका सरकारसमक्ष आग्रह गरेकी छिन् । यसका लागि उनले इजिप्टका राजदूत एलगेबलीसँग मन्त्रालयमा भेटघाट गरेकी थिइन् भने उनले कतारका राजदूत अन्सारीलाई फोन गरेर सो आग्रह गरेकी थिइन् । मन्त्री आरजुले गत बुधबार नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत पनि इजरायल सरकारसँग विपिनको रिहाका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् । विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयास जारी राखेको छ । संयुक्त राष्ट्रसंघ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरूका साथै द्विपक्षीय एवं बहुपक्षीय बैठकहरूमा समेत परराष्ट्रमन्त्रीले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी छन् । सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेको थियो । त्यस लगत्तै उनीहरूले २५१ जनालाई अपहरण गरी लगेका थिए, त्यसमा विपिन जोशी पनि परेका थिए । नेपालमा आफ्नो कार्यकाल सकेर केही समय इजरायल फर्केका राजदूत हनान गोडर अहिले त्यहाँको विदेश मन्त्रालयमा कार्यरत छन् । नेपालबाट हालै फर्केको कारण यहाँका सबै विषयवस्तु जानकारी भएकाले उनले पनि चासो लिइरहेका छन् । पूर्वराजदूत गोडरले नै हमास–इजरायलबिच मध्यस्थता गरिरहेको कारण ती देशसँग कुराकानी गर्न सुझाव दिएपछि परराष्ट्रमन्त्री आरजु लागिपरेको बताइएको छ । अहिले सार्वजनिक गरेको सूचीमा सबै जना इजरायली नागरिक छन् । नेपालमा रहँदा उनले विपिन जोशीको बारेमा निकै चासो लिन्थे । जोशीका परिवारसँग पनि उनले पटक–पटक भेटेका थिए । अहिले उनी त्यहाँको विदेश मन्त्रालयमा कार्यरत रहेका कारण नेपाललाई केही सहज भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । १४ महिनादेखि हमासको कब्जामा रहेको विपिन जोशी जीवित नै रहेको कुरा नेपालका लागि इजरायली राजदूत बासले जानकारी गराएका छन् । गत मंसिर २० गते पत्रकार सम्मेलनको आयोजना गरी राजदूतले भनेका थिए, ‘अरबी देशहरूमार्फत हामीले विपिन जोशी जीवित रहेको सूचना पाएका छौँ, तर उनलाई कहाँ राखिएको छ, त्यो भनिएको छैन ।’ उनले विपिन रिहा हुनेमा आफू विश्वस्त रहेको पनि बताएका थिए । त्यहाँका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानी र परराष्ट्रमन्त्रीलाई भेटेर साउदले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । पछि नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएपछि विपिनको रिहाका लागि पहल थालेका थिए । अहिले परराष्ट्रमन्त्री राणाले पनि रिहाइका लागि पहल जारी राखेकी छन् । यद्यपि, हालसम्म सकारात्मक नतिजा भने आउन सकेको छैन । विपिन बन्धक भएपछि उनको रिहाइका लागि सरकारले पटक–पटक प्रयास गर्दै आइरहेको । तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद इजरायलसम्म पुगेका थिए । उनी यसका लागि कतार पनि पुगेका थिए ।

Like