पार्टीको नीति तथा व्यवस्था मिलाउन नसक्दा एकीकृत समाजवादीका ३४४ नेता पाँच महिनादेखि बेरोजगार !
रासंसा/काठमाण्डौ, मार्ग ११,
मुलुकमा महाधिवेशन सम्पन्न भएको लामो समयसम्म कार्यविभाजन नहुँदा नेकपा एकीकृत समाजवादीका नेताहरू जिम्मेवारीविहीन बनेका छन् । गत असारमा सम्पन्न दशौँ महाधिवेशनपछि पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्दा नै पार्टीभित्र देखिएको असन्तुष्टिलाई सम्बोधन नगर्दा केन्द्रीय नेताहरूको कार्यविभाजनमा समेत असर परेको नेताहरूको भनाइ छ । महाधिवेशनपछि पार्टीमा व्यापक उत्साह र एकता कायम हुनुपर्नेमा उल्टो निराशा बढेको नेताहरूको गुनासो छ । संगठन निर्माणमा सुस्तता आएको उनीहरू बताउँछन् । २०७८ सालमा एमालेबाट विद्रोह गर्दै गठन भएको एकीकृत समाजवादीले गत असार १६–२१ मा दशौँ महाधिवेशन गरेको थियो । महाधिवेशनले पार्टी पदाधिकारीहरू सर्वसम्मत चयन गर्न म्याण्डेट दिए पनि त्यसविपरीत अध्यक्ष र महासचिवबाहेक अरू पदाधिकारी चयन गर्न मतदान भएपछि पार्टीको एक समूह असन्तुष्ट बनेको थियो । पार्टीका कतिपय नेता तथा सांसद त्यसबेलादेखि नै निष्क्रिय बस्दै आएका छन् । नेताहरूले असोज तेस्रो साता ज्ञापनपत्र बुझाएपछि अध्यक्ष माधवकुमार नेपालले असन्तुष्ट पक्षका नेताहरूलाई बोलाएर चाँडै कार्यविभाजन हुने र पार्टीले दिएको जिम्मेवारी लिन आग्रह गरेका थिए । नेपालसँगको छलफलमा असन्तुष्ट पक्षका नेताहरूले जिम्मेवारी लिने तर महाधिवेशनमा भएका कमजोरीको समीक्षा हुनुपर्ने सर्त राखेका थिए । रामकुमारी झाँक्रीदेखि प्रेम आले, किसान श्रेष्ठ, धनबहादुर बुढालगायतका नेता पार्टी कामबाट निष्क्रिय बनेका छन् । केही नेता निष्क्रिय बसेपछि पार्टीमा एकता र उत्साह जगाउन भन्दै जीवनराम श्रेष्ठ, विजय पौडेल, देव सिंह, हरि पराजुली लगायतले निर्वाचित पदाधिकारी खारेजीको मागसहित अध्यक्ष माधवकुमार नेपाललाई ज्ञापनपत्र नै बुझाएका थिए । असन्तुष्ट नेताहरूको यो सर्त मान्न अध्यक्ष नेपाल त्यसबेला तयार देखिए पनि डेढ महिना बित्दासमेत केन्द्रीय समिति बैठक बोलाएका छैनन् । ‘महाधिवेशन सकिएको पाँच महिना हुन लाग्यो, अहिलेसम्म नेताहरूको कार्यविभाजन भएको छैन । सधैँ छलफलमात्र भइरहेको छ भन्ने सुनिन्छ’, जीवनराम श्रेष्ठले व्यङ्ग्य गर्दै भने, ‘हाम्रो पार्टी अब छलफलमै सकिएलाजस्तो पो छ !’ महाधिवेशन लगत्तै नेताहरूको कार्यविभाजन गर्न अध्यक्ष नेपाल नेतृत्वमा सात पदाधिकारी रहेको कार्यदल गठन भएको थियो । कार्यदलले एक व्यक्ति एक जिम्मेवारी दिनेगरी कार्ययोजना तयार गरेको कार्यदलमा रहेका नेताहरू बताउँछन् । श्रेष्ठले पार्टीको कार्यक्रम ल्याउन, नेताहरूलाई जिम्मेवारी दिनु भनेर नेतृत्वको ध्यानाकर्षण गराएको पनि महिनौँ बित्न लागेको भन्दै सुनुवाइ नभएको गुनासो गरे । ‘किन के नमिलेको हो ? म आफैँ पनि कुनै जिम्मेवारीमा नरहेकाले धेरै कुरा थाहा भएन’, श्रेष्ठले भने । कार्यदलको सदस्यसमेत रहेका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कार्यविभाजनको गृहकार्य भइरहेको भन्दै केही दिनमा टुङ्गिने बताए । ‘काम भइरहेको छ, केही दिनमा टुङ्गिन्छ’, पाण्डेले भने । ‘हामी त पाँच महिनादेखि बेरोजगारजस्तै बनेका छौँ’, एक पोलिटब्युरो सदस्यले भने, ‘पार्टीले जिम्मेवारी नतोक्दा र कार्यक्रमहरू नबनाउँदा जनतामा जानै सकिएको छैन ।’ महाधिवेशनले पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने भनिए पनि नेताहरूलाई चित्त बुझाउन बढाएर ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो । तर यी सबै नेता कार्यविभाजन नहुँदा बेरोजगारजस्तै बनेका छन् । सम्मानित नेता झलनाथ खनाल गलत ढंगले पदाधिकारी र पोलिटब्युरो चयन गर्दा उत्पन्न विवाद र असन्तुष्टिका कारण केही समयअघि पार्टीमा समस्या देखिए पनि अब बिस्तारै साम्य हुँदै गएको बताउँछन् । उनले पदाधिकारी चयन सहमतिबाट गर्नुपर्ने भए पनि मतदानको प्रक्रिया अपनाउँदा कतिपय जिल्लामा कनिष्ठहरू वरिष्ठ र वरिष्ठचाहिँ कनिष्ठ हुने अवस्था आएको बताए । निर्वाचनको परिणाम पनि सबैलाई चित्तबुझ्दो नहुँदा केन्द्रीय कमिटीभित्रै असन्तुष्टि बढेको उनको भनाइ छ । ‘महाधिवेशन सम्पन्न गरेको हप्ता–दश दिनभित्र केन्द्रीय कमिटी बैठक राखेर पदाधिकारीहरू चयन गर्ने र केन्द्रीय कमिटी सदस्यहरूको कार्यक्षेत्र तोक्दै कार्यभारहरू तय गर्नुपर्ने हो’, सम्मानित नेता खनालले भने, ‘तर हामी जुन बाटोबाट हिँडेर आयौँ, हिँड्नुपर्ने जसरी हिँडिएन ।’ ‘यसो गर्दा केन्द्रीय नेताहरूमै चर्को असन्तुष्टि देखियो र पार्टी फुट्नेसम्मको हल्ला चल्यो’, खनालले भने, ‘आन्तरिक व्यवस्थापन गर्न नसक्दा ती समस्या सिर्जना भएका थिए ।’ ‘जिल्लाका इन्चार्जहरूका बारेमा लगभग टुङ्गिएको छ । तर सबै केन्द्रीय कमिटी सदस्यहरूलाई कार्यक्षेत्रमा खटाउने कुरा टुङ्गिएको छैन’, खनालले रातोपाटीसँग भने, ‘भूगोलतर्फ संघीय निर्वाचन क्षेत्रका सवालमा एक हदसम्म टुङ्गिँदै गएको छ ।’ समस्या समाधानका लागि सम्झाउने, बुझाउने र फकाउने काम भइरहेको भन्दै असन्तुष्टिहरू सम्बोधनको प्रयास भइरहेकाले पार्टी नयाँ ढंगले अघि बढ्न लागेको खनालको भनाइ छ । खनालले त्यसबाहेक गैरभूगोलको क्षेत्रमा नेताहरूको कार्यविभाजनको कुरा मिल्न बाँकी रहेको तथा दस्ताबेजहरू समेत प्रकाशित भई नसकेको बताए । उनले चाँडोभन्दा चाँडो केन्द्रीय समितिको बैठक राखेर कार्यविभाजनको विषय टुङ्ग्याउनुपर्ने भन्दै त्यहीँबाट पार्टीको कार्ययोजना समेत सार्वजनिक गरेर पार्टी गोलबन्द बनाएर अघि बढ्न जरुरी रहेको बताए । जिल्ला इन्चार्ज, विभाग प्रमुख, आयोग प्रमुख, जनवर्गीय संगठनको इन्चार्जसहित प्रदेश तथा संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर कार्यविभाजन गर्ने नेताहरूले बताउँदै आएका छन् । नेताहरूको कार्यविभाजनमा भएको ढिलाइले नेता–कार्यकर्तामा निराशा छाएको स्वीकार गर्दै खनालले लामो समय दिशाहीन, निर्णयहीन र किंकर्तव्यविमूढ भएर पार्टी बस्नु दुःखद भएकाले यही अवस्था रहे पार्टी अग्रगतिमा जान नसक्ने बताए ।