कीर्तिपुरमा दलहरूको प्रतिष्ठाको लडाइँ, स्वतन्त्रको चुनौती

Share to:

रासंसा/काठमाण्डौ, मार्ग ११,

मुलुकमा कीर्तिपुर नगरप्रमुखसहित वडा नम्बर १ र ४ मा यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। नगरप्रमुखका लागि प्रमुख राजनीतिक दलसहित २० उम्मेदवार उपनिर्वाचनमा भिड्दैछन्। २०७९ सालको स्थानीय निर्वाचनमा काठमाडौं, धरानलगायत केही स्थानमा स्वतन्त्र उम्मेदवारले जितेका कारण यो पटक कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारको लर्को नै छ। सोमबार दिउँसो १ बजे कीर्तिपुर नगरपालिका—३ सागलटोल पुग्दा मन्द फल्चामा बसेर मतदाताहरू गफिँदै थिए। नजिकै पोखरी छ। वरिपरि लस्करै घर छन्। जहाँ घरका भित्तामा उम्मेदवारको चुनावी चिह्नसहितका ब्यानर झुन्ड्याइएको देखिन्छ। मन्द फल्चा अगाडिको सडकबाट गाडीमा चुनावका नारा घन्काउँदै उम्मेदवार हुइँकिन्थे। पोखरीको वरिपरि पार्टी र स्वतन्त्र उम्मेदवारले आफ्ना प्रचारप्रसार कार्यालयसमेत खोलेर चुनावी गतिविधि गरेको पाइयो। ती कार्यालयमा झन्डा, मतपत्रको नमुना र घोषणापत्र थिए। केही कार्यकर्ताबाहेक उम्मेदवार भोट माग्न चुनावी मैदानमा होमिसकेका थिए। आश्वासन बाँड्दै उनीहरूले मतदाता रिझाइरहेका थिए। सागलटोल पुग्दा मन्द फल्चामा भेटिए मतदाता रामगोपाल श्रेष्ठ। उनले चुनावका गतिविधि नियालिरहेका थिए। उनले भने, ‘मेयर, केही वडाध्यक्ष पदको चुनाव हुँदैछ। तर, पहिलाजस्तो यसपालि त चुनाव लागेकै छैन।’ चुनाव आउन एक साता पनि बाँकी नहुँदासम्म किन चुनाव लागेन त ? जिज्ञासा मेटाउँदै उनले थपे, ‘नेताहरूले चुनावमा बोल्छन्, भोट लिन्छन् र जित्छन् तर, नाकमुख नै देखाउँदैनन्, यसैले मतदातामा चुनावले उत्साह भर्न सकेको छैन।’ उनका अनुसार कीर्तिपुर नगरपालिकामा कांग्रेस, एमाले, माओवादी र केही स्वतन्त्र उम्मेदवारहरूको चुनावी चर्चा छ । लगत्तै त्यहाँ आइपुगे अर्का मतदाता राजेश श्रेष्ठ। यसपालिको उपनिर्वाचनमा कांग्रेस र एमालेलाई स्वतन्त्र उम्मेदवारहरूले चुनौती थपिदिएका उनले सुनाए। उनले मेयर पदका स्वतन्त्र उम्मेदवार कविकुमार महर्जनले कांग्रेस र राजमान महर्जन ‘मानव’ले एमालेका उम्मेदवारलाई चुनावी मैदानमा सकस बनाइदिएका बताए। उनले भने, ‘एमाले र काँग्रेसका गढमा स्वतन्त्र मेयर पदका उम्मेदवारले भोट काट्ने चुनौती छ।’ स्वतन्त्र उम्मेदवार नजिते पनि जित्ने सम्भावना भएका सत्ताधारी पार्टीका उम्मेदवारहरूलाई यसले प्रभाव पार्न सक्ने चुनौती रहेको उनको आंकलन छ। चुनावी प्रचारप्रसार पनि राजनीतिक दलको भन्दा स्वतन्त्र उम्मेदवारकै बढी देखिएको छ। स्वतन्त्र उम्मेदवार धेरै भएका कारण उनीहरूको चर्चा बढी भएको स्थानीय बताउँछन्। स्वतन्त्र उम्मेदवारका चुनाव चिह्न लगाएका गाडीहरू दगुरिरहेका देखिन्छन्। गौंडागौंडामा स्वतन्त्र उम्मेदवार छन्। त्यसैले स्वतन्त्रको चर्चा बढी भएको हो। स्वतन्त्र उम्मेदवार धेरै भए पनि मुख्य प्रतिस्पर्धा भने प्रमुख राजनीतिक दलबीच नै हुने स्थानीयको अनुमान छ। एमाले र कांगे्रेसका गढमा स्वतन्त्र मेयर पदका उम्मेदवारले भोट काट्ने चुनौती छ। उम्मेदवार घरघरमा आइरहेका छन्। आफ्ना घोषणापत्र दिएर चुनाव जिताउन आग्रह गरिरहेका छन्। भोट कसलाई दिने त्यो त हाम्रो मन, दिमाग र हातको कुरो हो। राजेश श्रेष्ठ,मतदाता चुनावी प्रचारप्रसार पनि राजनीतिक दलको भन्दा स्वतन्त्र उम्मेदवारकै बढी देखिएको छ। स्वतन्त्र उम्मेदवार धेरै भएका कारण उनीहरूको चर्चा बढी भएको स्थानीय बताउँछन्। स्वतन्त्र उम्मेदवारका चुनाव चिह्न लगाएका गाडीहरू दगुरिरहेका देखिन्छन्। गौंडागौंडामा स्वतन्त्र उम्मेदवार छन्। त्यसैले स्वतन्त्रको चर्चा बढी भएको हो। स्वतन्त्र उम्मेदवार धेरै भए पनि मुख्य प्रतिस्पर्धा भने प्रमुख राजनीतिक दलबीच नै हुने स्थानीयको अनुमान छ। कीर्तिपुरको चुनावमा भीडभाड र तामझाम देखिएको छैन। तर, घरघरमा सचेत मतदाता छन्। उनीहरूले राम्रा उम्मेदवारलाई भोट हाल्ने सल्लाह भने गरिरहेको पाइन्छ। मतदाता राजेशले भने, ‘उम्मेदवार घरघरमा आइरहेका छन्। आफ्ना घोषणापत्र दिएर चुनाव जिताउन आग्रह गरिरहेका छन्। भोट कसलाई दिने त्यो त हाम्रो मन, दिमाग र हातको कुरो हो।’ कीर्तिपुरमा जातिगत रूपमा भोट जान्छन् कि पार्टीगत ? यो पनि महत्त्वपूर्ण प्रश्न हो। राजेशका अनुसार कीर्तिपुरका मतदाताहरू जातिगतभन्दा पार्टीगत भोट हाल्ने गर्छन्। नेवार समुदायमा गुठीको ठूलो प्रभाव हुन्छ। कीर्तिपुरमा नेवारको समुदायको बाहुल्य छ। यहाँ महर्जन, मानन्धर, तुलाधर, तण्डुलकार, डंगोललगायतका बाक्लो बसोबास छ। त्यहाँ जात पिच्छेका गुठी छन् अर्थात् कीर्तिपुरमा छ्याप्पछ्याप्ती गुठी छन्। तर निर्वाचनमा गुठीमार्फत प्रभाव पार्न खोजिए पनि हालसम्म त्यो प्रभाव नदेखिएको स्थानीय बताउँछन्। राजेश भन्छन्, ‘चुनावमा गुठीको प्रभाव हुने गरेको छैन। यहाँ त प्रत्येक जात (नेवार)का आ–आफ्ना छुट्टाछुट्टै गुठी छन्।’ पछिल्लो समय कीर्तिपुरमा बसाइँसराइको प्रभाव पनि बढी छ। बाहिरबाट गएकाहरू थपिँदै छन्। उनीहरूको पनि निर्वाचनमा सानो ठूलो प्रभाव देखिन थालेको छ। राम्रो मान्छे चाहिएको छ, उम्मेदवार भएकामध्ये राम्रो उम्मेदवारलाई हामी भोट दिन्छौं। पैसा लिएर भोट हाल्ने काम कसैले गर्नु हुँदैन, नगर बनाउने मान्छेलाई हामीले जिताउनु पर्छ। चुनाव भनेकै मतदाताका लागि सुनौलो अवसर हो। हाम्रोभन्दा राम्रो उम्मेदवार छनोट गर्नु बुद्धिमतापूर्ण निर्णय हो। मतदाताको मन बुझ्न पनि कम्ता कठिन छैन। कीर्तिपुर नगरपालिका—५ भत्केको पाटी। जसलाई पृथ्वीचोक नामले पनि चिनिन्छ। चोकमा छ, दुईवटा विद्युतीय ट्रान्सफर्मर। यहाँ उम्मेदवारहरूको तस्बिरसहितको ब्यानर टाँगिएका छन्। त्यसकै अगाडि स्टेसनरी पसलमा भेटिए मतदाता र चुनावमा चासो राख्ने नागरिक। ५६ वर्षीय श्याम श्रेष्ठले भने, ‘च्याउजस्तो पार्टी उम्रेका छन्। उम्मेदवार पनि थरीथरीका छन्। खै कसलाई भोट हाल्ने हुन् मतदाताले कसलाई नहाल्ने ? श्यामकै नजिक बसिरहेका थिए सुदीप अधिकारी। उनले भने, ‘म दिनभरि पसलमै हुन्छु। धेरै उम्मेदवारको प्रचार बोकेर सडकमा गाडी कुद्छ। खै किन हो मेरो पसलमा कोही उम्मेदवार भोट माग्न आएको छैन।’ छुट्ट्याउनै कठिन भयो। कसले हार्छ, कसले जित्छ ? त्यो त मंसिर १६ गतेको चुनावपछि जनताले फैसला गरिदिन्छन्।’ उनले पनि पार्टीका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिइरहेका सुनाए। ‘कांग्रेस, एमाले, माओवादी पार्टीको पकड भएको ठाउँमै स्वतन्त्र उम्मेदवार उठेका छन्’, उनले भने, ‘गाउँ पिच्छे स्वतन्त्र उम्मेदवारहरू छन्। उसले पनि भोट होल्ड गर्छ। पृथ्वीचोककै न्यु शान्ति खाजाघरमा मानिस चिया र खाजा खाइरहेका थिए। दिउँसोको ३ बजेको थियो। त्यहाँ पनि कीर्तिपुर नगरपालिकाको चुनावको गरमागरम बहस भइरहेको थियो। उनीहरू भन्दै थिए, ‘कीर्तिपुरको चुनावमा धेरै पार्टी र उम्मेदवार दौडिरहेका छन्। तर, मुख्ययता कांग्रेस र एमाले बीच नै प्रतिस्पर्धा हुन्छ जस्तो छ।’ चुनाव आउँछ, जान्छ हामीलाई के हुन्छ र ? भोट माग्ने बेलामा नेताले जे बोल्छ त्यो पूरा नै गर्दैनन्। भोट हालेर के हुन्छ, नहाल्दा के हुँदैन ? ज्ञानमाया महर्जन, मतदाता कांग्रेस उम्मेदवार डंगोलले कीर्तिपुरलाई सम्पदाको सहर र प्राकृतिक संग्रहालय बनाउने योजना अघि सारेका छन्। कांग्रेसले नगर सभापति कृष्णमान डंगोललाई उम्मेदवार बनाएको छ। २०७९ सालको निर्वाचनमा पहिलो पटक कांग्रेसले कीर्तिपुरको ‘लालकिल्ला’ भत्काएको थियो। एमाले र माओवादी केन्द्रलगायत कम्युनिस्ट उम्मेदवारहरू पराजित गर्दै कांग्रेसका राजकुमार नकर्मीले बाजी मारेका थिए। मिर्गौला रोगका कारण नकर्मीको निधन भएपछि त्यहाँ निर्वाचन हुँदैछ। अघिल्लो निर्वाचनमा जितेको कारणले कांग्रेसले यो निर्वाचन जित्ने बताउँदै आएको छ। कांग्रेसले पूर्वमेयर नकर्मीको शिक्षा, स्वास्थ्य र विकास निर्माणमा सुरुवात गरेका कदमलाई पूरा गर्ने प्रतिबद्धता गरेको छ। त्यस्तै शिक्षा, स्वास्थ्य, रोजगारदेखि खानेपानी समस्या र फोहरमैला व्यवस्थापनलगायतका एजेन्डा अघि सारेको छ। कांग्रेसका कीर्तिपुर— ४ का वडाध्यक्ष उम्मेदवार राजेन्द्र बानियाँले मेयर जितेपछि गरेका काम र चुनावी एजेन्डा नै यो पटक पनि जित्ने आधार भएको बताए। उनले स्वास्थ्य क्षेत्रमा आधा छुट दिने व्यवस्था कांग्रेस जितेपछि गरेको बताए। शिक्षा क्षेत्रमा एक घर एक स्नातकको नारा पनि कार्यान्वयनमा रहेको उनको भनाइ छ। आफूले २०७४ सालमा वडाध्यक्ष हुँदा चार सय घरधुरीलाई खानेपानी व्यवस्था गरेकोले त्यो वडामा जित्ने दाबी गरे। २०५४ र २०७४ सालमा जितेको एमाले पुनः विरासत फर्काउन लागिपरेको छ। एमालेले शान्त र समृद्ध कीर्तिपुरको नारा अघि सारेको छ। उसले सुशासनको क्षेत्रमा राम्रो दक्खल भएका डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ। पार्टीका केन्द्रीय सदस्यसमेत रहेको डा. मानन्धर आफू कीर्तिपुरको दुःखसुखमा सधैं साक्षी रहँदै आएकोले जनताको विश्वास प्राप्त हुने दाबी गरे। ‘भूकम्प, कोरोनालगायत हरेक संकटमा सधंै कीर्तिपुरका जनताका साथमा छु, चुनाव जिते पनि हारे पनि म कीर्तिपुरको जनताको सेवाबाट डगमगाउँदिनँ’, उनले भने। च्याउजस्तो पार्टी उम्रेका छन्। उम्मेदवार पनि थरीथरीका छन्। खै कसलाई भोट हाल्ने हुन् मतदाताले कसलाई नहाल्ने ? छुट्ट्याउनै कठिन भयो। कसले हार्छ, कसले जित्छ ? त्यो त मंसिर १६ गतेको चुनावपछि जनताले फैसला गरिदिन्छन्। उनले आपूmले सारेका एजेन्डामा कीर्तिपुरवासी विश्वस्त रहेकोले जिताउने विश्वास प्रकट गरे। उनले आफ्ना जित्ने आधारका बारेमा भने,‘ नकर्मीको निधनपछि बिथोलिएको कीर्तिपुरको एकतालाई लयमा फर्काउनेछु। एमालेभित्रको आन्तरिक एकताबाट उम्मेदवार चयन भएको छु। कीर्तिपुरका जनतामा समर्पित भएर यहाँसम्म आएको छु। जनतासँग जाहेर गरेको प्रतिबद्धतालाई राम्रोसँग कार्यान्वयन गर्छु भन्ने विषयमा पनि जनता विश्वस्त छन्, मलाई निर्वाचित गराउनेछन् ।’ उनले आफू निर्वाचित भएपछि खानेपानी, रोजगारी, बाटाघाटा, सार्वजनिक यातायातलगायतका क्षेत्रमा राम्रो व्यवस्थापन गर्ने पनि बताए। सडक बोर्ड गठन, सांस्कृतिक सम्पदाको संरक्षण, युवालाई प्राविधिक तालिमसहितको रोजगारी, गृहिणीलाई रोजगारीको व्यवस्था गर्नेसमेत प्रतिबद्धता उनले जनाए। स्वतन्त्र उम्मेदवार धेरै कांग्रेस र एमालेबाट आएकामध्ये छन्। जसका कारण उनीहरूले यी दुई पार्टीकै भोट काट्ने भएकाले आफ्नो अवस्था बलियो रहेको माओवादीको दाबी छ। आफूलाई नेकपा एकीकृत समाजवादीको साथ भएको उसको भनाइ छ। एकीकृत समाजवादीका उम्मेदवार पनि प्रचारप्रसारमा नै छन्। एकीकृत समाजवादीका तर्फबाट भानु रिजालले उम्मेदवारी दिएका छन्। माओवादी केन्द्रले त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापक डा. शिव शरण महर्जनलाई उम्मेदवार बनाएको छ। उनले कीर्तिपुरवासीको भाग्य र भविष्य बदल्दै नगरपालिकाको बाँकी अवधिमा कीर्तिपुरको मुहार फेर्ने वाचा गरेका छन्। ‘हामीसँग कीर्तिपुरलाई कस्तो बनाउने भन्ने स्पष्ट खाकासहितको योजना छ। हाम्रो जितपश्चात् दिनरात नभनी कीर्तिपुरवासी जनताको सेवा र कीर्तिपुरको विकासका लागि खटिने छौं’, उनले भने । जनता समाजवादी पार्टी नेपालले फरक पहिचान भएका दीपक महर्जन ‘हनी’लाई नगर प्रमुख उम्मेदवार बनाएको छ भने वडा नम्बर ४ को वडाध्यक्षमा राजीव महर्जन ‘मोहिनी’लाई उठाएको छ। जसपाका मेयर उम्मेदवार ‘हनी’ ले विगतमा महिला र पुरुषलाई जिताएको कारण अब एकपटक फरक पहिचान भएकालाई जिताउन आग्रह गरेका छन्। ‘महिला र पुरुष हेरिसक्नु भयो अब हामी अल्पसंख्यकलाई पालो दिनु होस्।’ जसपाका वडा नम्बर ४ का उम्मेदवार राजीव महर्जन ‘मोहिनी’ आफ्नो समुदायको पहिचान स्थापित गर्दै देशका लागि केही गर्न उम्मेदवारी दिएको बताएका छन्। स्वतन्त्र उम्मेदवार डा. नवरथ बानियाँको समग्र कीर्तिपुर गर्बिलो कीर्तिपुर नारा छ। उनले वृद्ध आमाबाबाको भत्ता घरघरमै पु¥याउने प्रतिबद्धता जाहेर गरेका छन्। अन्य स्वतन्त्र र साना दलका पनि आआफ्नै प्रतिबद्धता र एजेन्डा छन्। कीर्तिपुर नगरप्रमुखसहित वडा नं. १ र ४ को पनि उपनिर्वाचन हुँदैछ।स्वतन्त्र उम्मेदवारमा आआफ्नै प्रतिबद्धता छन्। विगतमा दलहरूलाई जिताएकाले अब स्वतन्त्रलाई जिताउनु पर्ने उनीहरूको भनाइ छ। सरसफाइ अभियन्तासमेत रहेका राजमान महर्जन ‘मानव’ले कीर्तिपुरलाई नमुना सांस्कृतिक सहरको विकास गर्ने बताउँछन्। उनी नगरपालिकामा ३० देखि ५० प्रतिशत कर घटाउने र स्वास्थ्य सेवा निःशुल्क बनाउने प्रतिबद्धता जाहेर गर्दै उम्मेदवार बनेका छन्। नेताहरू नपढेको, बेरोजगार हुन्छन् भन्ने भाष्य छ। तर कीर्तिपुरको नगरप्रमुख प्राध्यापक, डाक्टर, इन्जिनियरदेखि उच्च शिक्षा हासिल गरेका उम्मेदवार भएको पाइएको छ। माओवादी केन्द्रले त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापक डा. शिवनारायण महर्जन उम्मेदवार बनाएको छ। एमालेले संवैधानिक कानुनमा विद्यावारिधि गरेका डा. सुरेन्द्र मानन्धर उठाएको छ। राप्रपाले इन्जिनियर धु्रव महर्जनलाई उम्मेदवार बनाएका छन्। त्यस्तै वनस्पतिशास्त्रमा स्नातकोत्तर र जर्मनीबाट वातावरण विज्ञानमा विद्यावारिधि गरेका डा. नवरथ बानियाँले स्वतन्त्र उम्मेवारी दिएका थिए। अन्य उम्मेदवार पनि उच्च शिक्षा हासिल गरेका नै छन्। जसले जिते पनि यो पटक कीर्तिपुरले शैक्षिक र सामाजिक रूपमा स्थापित भएका नेतृत्व पाउने देखिएको छ।

Like