बिमितको ४० प्रतिशत नविकरण शुल्क ललितपुर महानगरले बेहोर्ने
रासंसा/ललितपुर, आषाढ २१,
मुलुकमा ललितपुर महानगरले महानगरभित्र स्वास्थ्य बिमामा आबद्ध भएकाहरूको ४० प्रतिशत रकम बेहोर्ने जनाएको छ। नयाँ आर्थिक वर्ष २०८१/८२ सँगै यो कार्यक्रम लागू हुने ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । यो रकमले महानगरपालिकाभित्रका नागरिकलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले महानगरले यस्तो कार्यक्रम अघि सारेको प्रवक्ता महर्जनले बताए। स्वास्थ्य बिमामा आबद्ध ज्येष्ठ नागरिकको सम्पूर्ण शुल्क सरकारले बेहोर्ने व्यवस्था छ भने ललितपुर महानगरले थप अपांगता भएका नागरिक र सफाइ कर्मचारीहरूको सम्पूर्ण बिमा शुल्क तिर्न सुरु गरेको महर्जनले बताए । यो महानगरपालिकाभित्र हालसम्म नौ हजार जना स्वास्थ्य बिमामा आबद्ध भइसकेका छन्। हरेकपटक बिमा नविकरण गर्दा ३५ सय तिर्नुपर्ने र त्यही रकमको ४० प्रतिशत महानगरले बेहोर्ने भएको हो।