Monday, October 19, 2026
Latest:
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

रास्वपाले गर्‍यो मुकुल ढकाललाई महामन्त्री पदबाट निलम्बन

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २०,

मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट निम्बलन गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले डा.ढकाललाई पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै ७ दिन निलम्बन गर्ने निर्णय गरेको उपसभापति डोल प्रसाद अर्यालले जानकारी दिए। अर्यालले ढकाललाई दिएको निलम्बनको पत्रमा भनिएको छ, ‘केन्द्रीय समितिको बैठकमा तपाईंले पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिंदै हिंड्नुभएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १८, राष्ट्रिय स्वतन्त्र पार्टीको विधानको धारा ५५.७ (क) र (ख) तथा धारा ५६ (१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली, २०८० को नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगको सिफारिस बमोजिम केन्द्रीय समितिले महामन्त्री तथा प्रवक्ता पदबाट तत्काल लागू हुने गरी ७ दिनका लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ।’ ढकालले बुधबार बसेको केन्द्रीय समितिको बैठकमा मुखमा टेप लगाएर विरोध जनाएका थिए। केन्द्रीय अनुशासन आयोगको सिफारिस बमोजिम केन्द्रीय समितिले महामन्त्री तथा प्रवक्ता पदबाट तत्काल लागू हुने गरी ७ दिनका लागि निलम्बन गरिएको अर्यालको भनाई छ। यस अगाडि महामन्त्री ढकालले पार्टीलाई प्रतिवेदन नबुझाइ मिडियामा विषय छरपस्ट पारेको भन्दै उनलाई स्पष्टीकरणसमेत सोधिएको थियो। महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै रास्वपाको अनुशासन समितिले उनलाई स्पष्टीकरण थमाएको हो। ढकालले केन्द्रीय कमिटी बैठकबाट बाहिरिँदै गर्दा सभापति रवि लामिछानेप्रति आक्रामक अभिव्यक्ति दिएका थिए। उनले आफूमाथि बैठकमा ह्यारेसमेन्ट भएको दाबी गरेका थिए। सभापति लामिछानेलाई गोर्खा मिडियासँग जोडेर आरोपित गरेका थिए। बुधबारको बैठकमा महामन्त्री ढकालले ३९ जिल्ला घुमेर तयार पारिएको समीक्षा प्रतिवेदनमाथि छलफल गर्दा केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गरेका थिए। तर केन्द्रीय सदस्यहरुले लाइभ गर्न नहुनेमा जोड दिएका थिए। त्यसको विरोध गर्दै उनले भनेका थिए ‘बैठक लाइभ नगर्ने निर्णय गराएकाले आफ्नो लोकतान्त्रिक अधिकार,बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु।’ ‘सरकारमा गएपछि पार्टीको इमेज र क्रेज डाउन भएको स्वीकार गरेर अगाडि बढ्नुपर्ने थियो। मन्त्रीहरुले आफ्नो अक्षमताको भारी महामन्त्रीको रुपमा मलाई बोकाउन खोज्नुभएको छ।’उनले भनेका थिए‘गोरखा मिडियाको प्रवन्ध निर्देशक र रास्वपा महामन्त्री उस्तै पद हो। एउटै मानक हो। उहाँ प्रबन्ध निर्देशक हुँदा अध्यक्ष जिवी राई दोषि, आज उहाँ सभापति र म महामन्त्री हुँदा सम्पूर्ण कुराको दोषि महामन्त्री भन्ने आयो। जब पत्रकार हुनुहुन्थ्यो नेता दोषि, जब नेता हुनुहुन्छ पत्रकार दोषि। जब प्रतिपक्ष हुनुहुन्थ्यो सत्तापक्ष दोषी, जब सत्तापक्ष हुनुहुन्छ प्रतिपक्ष दोषि।’

Like