नेदरल्यान्ड्ससँग नेपाल ६ विकेटले पराजित

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २२,

आईसीसी टी-२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ। नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ५४ रन बनाए। विक्रमजित सिंहले २८ बलमा २२ रन जोडे। साइब्रान्ड एन्जलब्रर्चटले १६ बलमा १४ रनको योगदान दिए। मंगलबार अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए। नेपालले ब्याटिङमा पनि सोचे जस्तो प्रदर्शन गर्न सकेन। नेपालका चार खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके। यस अघि नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ गरेको नेपालले ४ बल खेल्न बाँकी छदा १०६ रनमै अलआउट भएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए। उनले ५ चौका प्रहार गरे। नेपालका लागि सोमपाल कामी भने शुन्यमा आउट भए। अन्तिम विकेटका रुपमा आउट भएका अभिनाश बोहराले पनि खाता खोल्न सकेनन्। करण केसीले १२ बल खेल्दै २ छक्का मदतमा १७ रन बनाए। गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा २ चौका मदतमा ११ रन जोडे। नेपाललाई अलआउट गर्न बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए। प्रतियोगिताको समूह ‘डी’ मा रहेका दुवै टिमको यो पहिलो खेल हो। यो समूहमा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन्।

Like