चन्दा उठाएर मलद्वार नभएका आशिषको उपचार

Share to:

डीआरजी सुमन/अर्घाखाँची, बैशाख ३०,

मुलुकमा २०७४ सालमा गुल्मीका बाबुराम विश्वकर्मा र कमला विश्वकर्माले पहिलो सन्तान जन्माए। पाल्पा अस्पतालमा शल्यक्रिया गरेर जन्माएको पहिलो सन्तानले उनीहरु प्रफुल्लित थिए, तर चिकित्सकले मलद्वार नभएको खबर सुनाएपछि विश्वकर्मा दम्पती आत्तिए। बालकको हेरचाह र स्याहारसुसार गर्दा उनीहरुको दैनिकी बित्न थाल्यो। यसै त दैनिक मजदुरी गरेर खाने उनीहरुको जीवन झन् कठिन भइरहेको थियो। विश्वकर्मा परिवारले पैसा अभावमा बिरामी छोरालाई घरमै हेरचाह गरेर बस्नुपरेको थियो। सामान्य औषधी किन्नसमेत धौधौ भएपछि उनीहरुले सबैसँग सहयोगको याचना गर्दै आएका थिए। आर्थिक हिसाबले विपन्न उनीहरु गाउँमै ज्याला मजदुरी गरी दैनिकी चलाउँदै आएका थिए। मलद्वार खोल्न ठुलो रकम खर्च हुने भएपछि आन्द्राबाट पाइप लगाएर बालकको दिसा बाहिर निकाल्ने गरिएको थियो। अहिले बालकको सफल शल्यक्रिया भएको छ। परिवारमा पुनः खुसीयाली छाएको छ। गुल्मीको रेसुंगा नगरपालिका १४, रातामाटाका सात वर्षीय बालक आशिष विश्वकर्माको विभिन्न संघसंस्थाको सहयोग तथा पहलमा सफल शल्यक्रिया गरिएको हो। जन्मजात मलद्धार नभएका आशिषको चन्दा संकलन गरेर शल्यक्रिया गरिएको छ। आशिषको यही वैशाख १५ गते काठमाडौंस्थित मोडल अस्पतालमा सफल शल्यक्रिया गरिएको थियो। उनको शल्यक्रियामा डाक्टर र बेडको शुल्कमा छुट गरी कुल तीन लाख ४५ हजार खर्च भएको परिवारले जनाएको छ। नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मी, ओल्डर वुमन्स र लायन्स क्लब काठमाडौंको पहलमा शल्यक्रिया गरिएको हो। कुल चार लाख ५० हजार रुपैयाँ संकलन गरी सफल शल्यक्रिया गरिएको नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मीका अध्यक्ष ध्रुव पाण्डेले जानकारी दिए। ‘हाम्रो समुहले मात्र करिब ७५ हजार उठाएको थियो’, उनले भने, ‘कुल ४ लाख ५० हजार सहयोग संकलन भएको थियो।’ गरिब परिवारका आशिषको चन्दा उठाएरै सात वर्षपछि शल्यक्रिया गरिएको हो। नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मीका अध्यक्ष ध्रुव पाण्डेले यसको पहलकदमी लिएका थिए। उनले परिवारको आर्थिक अवस्था र बालकको दर्दनाक दैनिकीका बारेमा थाहा पाएपछि उनले आर्थिक संकलनका साथै विभिन्न संघसंस्थामा पहल थाले। उनकै सक्रियतामा आज बालकले नयाँ जीवन पाएका छन्। उपचार नभएपछि उनले पढ्नसमेत पाएका थिएनन्। स्वास्थ्यस्थिति ठिक भएसँगै उनका लागि अहिले महेन्द्र नमुना माध्यमिक विद्यालयले पठनपाठनका लागि निःशुल्क व्यवस्था गर्ने भएको छ। बालकले पढ्न चाहेमा सबै खर्च निःशुल्क गरिदिने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले बताए। छोराको स्वास्थ्यस्थितिले पिरलो दिन गुजारिरहेकी आमा कमलाको खुसीको सीमा छैन। खुसीका आँसु झल्काउँदै उनले भनिन्, ‘सबैको सहयोग र सहकार्यमा छोराको मलद्वारको शल्यक्रिया सफल भएको छ। म धेरै खुसी छु। अब हामी काम गरेर खान्छौं। छोरालाई पढाउँछौं।’ बालकको सफल उपचार भएपछि बाबुराम दम्पती खुसी भएका छन्। बाबुरामले छोराको उपचारार्थ आर्थिक उठाउन पहल गर्ने, आर्थिक रकम सहयोग गर्ने, शल्यक्रिया गर्ने चिकित्सक, सहयोगी संस्था ओल्डर वुमन्स र लायन्स क्लब काठमाडौं तथा सबैमा उनले धन्यवादसमेत प्रकट गरेका छन्। उनले भने, ‘सबैको सहयोगले छोराको उपचार सफल भयो। उहाँहरु सबैलाई सबैलाई धेरैधेरै धन्यवाद!’

Like