Share to:

रासंसा/काठमाण्डौ, बैशाख ३०,

मुलुकमा सरकारले गरेका सहमतिहरूको पालना नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले राजधानीमा प्रदर्शन गरेका छन् । गत वर्ष महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तनहुँको म्याग्दे गाउँपालिका–७ का दीपक भण्डारीसँग सामुदायिक सहायता सेवा सुरुवात गर्ने भनी गरेको सहमति पालना नगरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । त्यसको कार्यान्वयनका लागि आवश्यक मापदण्ड र कार्यक्रम बनाउन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा ३ सदस्यीय समितिसमेत गठन गरिएको थियो । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ मा सामुदायिक सहायता सेवाको व्यवस्था छ । सामुदायिक सहायता सेवा २०८१ वैशाख १ गतेबाट सुरुवात गर्ने सहमति भएको थियो । कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन दुई हप्ताभित्र तयार गरी पेस गरी कार्यान्वयनमा लैजाने सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले प्रदर्शन गरेका हुन् । समितिमा राष्ट्रिय अपाङ्ग महासङ्घका नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की र तनहुँ म्याग्देका दीपक भण्डारी सदस्य थिए ।

Like