आद्यगुरु शंकराचार्य जयन्ती,रामानुजाचार्य जयन्ती, अन्तर्राष्ट्रिय नर्स दिवस मनाइदै
रासंसा/काठमाण्डौ, बैशाख ३०,
“मनोबुद्ध्याहमकार चित्तनिरहम् न च श्रोत्र जिह्वे न च घराना नेत्रे ”
आद्यगुरु शंकराचार्य जयन्ती
करिब १५०० वर्षअघि उहाँको जन्म भएको बेला भारतमा हिन्दु धर्म लोप हुँदै गएको थियो र बौद्ध धर्मले तीव्र गतिमा आकार लिइरहेको थियो । उहाँकै कारणले हिन्दु धर्मले फेरि आफ्नो वैभव प्राप्त गर्यो र जगतगुरु शङ्कराचार्यको मार्गदर्शन अनुरूप नै सनातन दर्शनमा बौद्ध दर्शनलाई पनि समावेश गर्दै एउटा समावेशी दर्शनको सुरुवात भयो । शङ्कराचार्य भगवान् शिवका अवतार हुनुहुन्छ । संक्षेपमा भन्दा पृथ्वीमा जन्म भएका आजका सबैभन्दा सिद्ध पुरुषहरूको सूचीमा जगतगुरु शङ्कराचार्यको नाम अग्रणी स्थानमा आउँछ । उहाँ केरलाको कालाडीमा जन्मनुभएको थियो। र वहाँको गुरुको नाम गोविन्द पद हो । वहाँले अद्वैत दर्शनको प्रचार गर्दै भारतीय उपमहाद्वीप भरि यात्रा गर्नुभएको थियो । वहाँका अनुसार सबै कुरा परम वा ब्रह्मको विस्तार थियो। जस्तै, निर्वाणशटकम्मा उहाँ भन्नुहुन्छ :
“मनोबुद्ध्याहमकार चित्तनिरहम् न च श्रोत्र जिह्वे न च घराना नेत्रे ”
धर्म रक्षा अनि समयसापेक्ष धर्मको वैज्ञानिकीकरणका लागि शङ्कराचार्यको युगान्तकारी देन छ ।भारत वर्षका आधुनिक धर्म संस्थापक शङ्कराचार्यबाट प्रतिपादित अद्वैत दर्शन, सूत्र र सिद्धान्तहरू अझै पनि धर्मशास्त्रहरूमा कालजयी वचन बनेका छन् । वहाँकै प्रयत्नबाट वैदिक सनातन हिन्दु धर्मको संरक्षण भई हिन्दु नवचेतनाको रक्तसञ्चार गरिएको थियो । शङ्कराचार्य अद्वैत वेदान्तका संस्थापक हुनुहुन्छ र श्री शङ्कराचार्यले नेपालसहित सम्पूर्ण हिमवत्खण्डमा महत्त्वपूर्ण भ्रमण गरेको पौराणिक प्रमाणहरू छन् ।
भारत केरलाको कलाडीमा जन्मिएका शङ्कराचार्य केवल ३२ वर्षसम्म मात्र बाँचेको पाइन्छ । यसबिचमा हजारौँ वर्षमा गर्न नभ्याइने कार्य शङ्कराचार्यबाट भएको पाइन्छ । शङ्कराचार्यले केवल ८ वर्षको उमेरमा गुरुको खोजीमा हजारौँ किलोमिटर पर नर्मदा खोलाको किनारसम्म यात्रा गरेको र गोबिन्दपादा गुरुसँग दीक्षा लिएको पाइन्छ ।
रामानुजाचार्य जयन्ती
रामानुजाचार्य संस्कृतका प्रकाण्ड विद्वान पनि हुन् । यिनले वास्य, ब्रह्म सूत्र र खुद भागवत गीता पनि संस्कृतमा लेखन गरेका छन् । उनी एक भगवानमा विश्वास राख्दथे । अन्तर मनबाट विष्णु अर्थात् श्रीहरिको उपासना अर्चना गर्दथे । हालको चेन्नई नजिकको एउटा सामान्य परिवारमा जन्मिएका रामानुजाचार्यका योगदानहरू सनातन दर्शनमा सदैव यादगार अनि पूजनीय रहनेछ । शङ्कराचार्य झैँ रामानुजाचार्य पनि एक सनातन दार्शनिक हुन् । यद्यपि रामानुजाचार्यका दर्शनहरू विष्णु केन्द्रित पाइन्छन् । भक्ति अभियानका अभियन्ता रामानुजाचार्य वैष्णव धारका मार्गदर्शक पनि मानिन्छन् भने रामानुजाचार्यका गुरु यादव प्रकाश चाहिँ अदविता वेदान्तका अनुयायी थिए । स्मरण गरौँ, यस अदविता वेदान्त चाहिँ आदि गुरु शङ्कराचार्यले सुरुवात गरेको दर्शन हो । पछि आफ्नो गुरुसँग मतभेद भएपछि तामिल अल्वर परम्परा अनुसार रामानुजाचार्यले नाथमुनि र यमुनाचार्य सम्प्रदायको अनुसरण गरे । रामानुजाचार्यको ज्ञानको रिसले अन्य पुजारी र पण्डितहरूले धेरै पटक मार्ने प्रयत्न पनि गरे । कहिले तामिल त कहिले काँचीमा यिनको हत्या योजना बुनियो । तर हरेक पटक हरिका कृपाले रामानुचार्य जोगिए । यसरी जोगिएका रामानुचार्य आज आएर सनातन दर्शनका एक सर्वोत्कृष्ट दार्शनिक र भक्त मानिन्छन् । विष्णुका भक्त रामानुजाचार्यको जयन्ती हरेक वर्ष आजकै तिथिमा मनाइन्छ ।
अन्तर्राष्ट्रिय नर्स दिवस
नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा वीर अस्पतालको स्थापना पछि स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन् सक्ने ब्यत्तिहरु मात्रै थिए, वीर अस्पतालको इतिहास पल्टाउँदा उति वेला ड्रेसिङ लगायत अन्य उपचारहरू कम्पाउन्डर या डाक्टर स्वयंले गर्ने गर्दथे । नर्सिङ को नेपाली इतिहास विसं २०१३ वाट सुरु भएको देखिन्छ जब केही गृहणीहरु लगायतका नेपाली चेलीहरूले औपचारिक रूपमा नर्सिङ को तालिम लिएका थिए, राणा शासनका क्रममा सभ्रान्त परिवारमा स्वास्थ्य उपचार अनि नर्सिङ को महत्त्व चाल पाएर नेपालमा नर्सिङको सुरुवात भएको विश्वास गरिन्छ, राणा कालको क्रममा चार जना नेपाली चेलीहरू विधावती कंसकार, राधा देवी मालाकार, धर्मदेवी कंसकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ । त्यसपछि क्रमशः नेपाली महिलाहरू भारतमा ४ वर्ष ९ महिने लामो नर्सिङ कोर्स गरेर आउने चलन बढेको पाइन्छ । आज गल्ली पिच्छेका अस्पताल अनि क्लिनिकहरूमा नर्सहरूको उपस्थिति बाक्लै देख्न सकिन्छ, सहर सहरमा नर्सिङ कलेजहरू खुलेका छन् अनि अझ विदेश जान सहज हुने भएकाले नर्सिङ प्रतिको आकर्षण बढ्दै गइरहेको छ । नर्सिङको अचम्मको कुरा के छ भनेँ यो व्यवसायमा पुरुषहरू नगण्य मात्रामा छन्, केही समय अघि केही नर्सिङ कलेजहरूले पुरुषहरूलाई पनि नर्सिङ तालिम दिएकोमा पछि गएर पुरुषहरू यस व्यवसायमा उत्ति आकर्षित नभएको पाइन्छ । शायद माया, स्नेह अनि ममतामयी यो व्यवसायमा महिलाको मधुर उपस्थितनै अत्यूक्तम लागेको हुनसक्छ । आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात् नेपालीमा स्वास्थ्य परिचारिका पेसाको सुरुवात गर्ने अनि नयाँ उचाइ थप्ने महान् फ्लोरेन्स नाईटएगंलको जन्म दिनका अवसरमा आज विश्वले अन्तर्राष्ट्रिय नर्स दिवस मनाँउदैछ । फ्लोरेन्स लाई ए लेडी विथ ए ल्याम्पका नामले पनि चिनिन्छ, अर्थात् टुकी या भनौँ लालटिन बोकेकी महिला । उति बेला युरोपमा क्रिमेन युद्ध चलिरहँदा घाइते सैनिकहरूको उपचारार्थ अहोरात्र खटिएका सैनिकहरूले उन् लाई सम्मानका साथ लेडी विथ ए ल्याम्प भनेका हुन् । रातीको समयमा टुकी बालेर पनि सम्पूर्ण बिरामीहरू भएका ठाउँमा पुग्ने यिनी संसारकै पहिलो नर्स फ्लोरेन्स नाईटएगंलले बेलायतको लडंन स्थित थोमस हस्पिटलमा संसारकै पहिलो निजी नर्सिङ स्कूल स्थापना पनि गरेकी छिन जुन गैरनाफामुलक ढङ्गमा अझै सम्म सञ्चालनमा छ । त्यती बेला स्वास्थ्य सेवाको कुरा गर्ने हो भनेँ अस्पतालमा सर सफाइका कुराहरूमा उत्ति ध्यान दिईदैन थियो भनेँ स्वास्थ्य सेवीहरू पनि बिरामीको भावना अनि आत्मसम्मानलाई ध्यानमा राख्ने कुरामा अनभिज्ञ नै थिए । तसर्थ फ्लोरेन्सले अस्पताललाई सफा राख्नमा अनि बिरामीको सम्मान र भावनालाई कदर गर्दै एउटा गहिरो सेवाको अवधारणाका रूपमा आधुनिक नर्सिगं पेसालाई ल्याएकी हुन् । फ्लोरेन्सको यिनै योगदानको चर्चा गर्दै हरेक वर्षको मे १२ मा विश्वले नर्स दिवस मनाउँदछ । नर्स पेसालाई गएको शताब्दीबाट संसारभरिका मान्छेहरूले अत्यन्त महत्त्व दिएर आदरणीय रूपमा हेरेको छन् ।
Our Nurses. Our Future. The economic power of care.
नर्सहरू नै भविष्य हुन् र स्वास्थ्य स्याहारको वित्तीय शक्ति पनि नर्सहरू सँगै छ ।