धनु संक्रान्ति र राजा महेन्द्रको सम्झना

Share to:

धनु संक्रान्ति
(Dhanu Sankranti)
सूर्यः धनुरभिप्राप्तः पुण्यकालः प्रतिष्ठितः।
दानं स्नानं जपः कार्या धर्मस्य फलसिद्धये॥
जब सूर्य धनु राशिमा प्रवेश गर्दछ, त्यो समय पुण्यकाल मानिन्छ। यस समयमा दान, स्नान, र जप गर्नु धर्मको सिद्धि प्राप्तिका लागि गरिन्छ। यो श्लोकले धनु सङ्क्रान्तिको धार्मिक महत्त्व र यस अवसरमा गर्नुपर्ने कर्महरूलाई प्रकाश पार्छ। वैदिक सनातन हिन्दु महिना आजबाट नवौँ महिना पौषमा लाग्दै छ जाडो, गर्मी, चिसो तातो, वर्षा अनि हिउँद यी सबै सूर्यको अवस्थिति र पृथ्वीको घुमाई मा भर पर्दछ, वैदिक सनातन हिन्दु महिना आजबाट नवौँ महिना पौषमा लाग्दै छ र सूर्य आजबाट धनु राशिमा प्रवेश गर्दै छ । दिनहरू अब बिस्तारै छोटा छोटा हुँदै छन् भने रातहरू लामा लामा हुँदै छन् । पुस फासफुस अर्थात् छिट्टै बित्ने छोटा दिनहरूका रूपमा लिइन्छ । अब यो महिना धनु सङ्क्रान्तिमा जोडिन्छ र यो पावन सङ्क्रान्तिमा विभिन्न तीर्थहरूमा गएर र विशेषतः नदी किनारमा डुबुल्की मार्दै पाप मोचन र पुण्य प्राप्ती गर्ने चलन छ । यसरी गरिने स्नानलाई सङ्क्रमण स्नान भनिन्छ । भागवत पुराणका अनुसार आज कंशले कृष्ण र बलरामलाई धनु यात्रामा निमन्त्रणा दिएर मार्ने योजना गरेका थिए । आजका दिन सूर्य देव र भगवान् शिवको पूजा गरिन्छ । सूर्यलाई विभिन्न प्रकारको अर्घ अनि प्रसादहरू चढाउने अनि शिवलाई नैवेद्य तथा सुगन्धित पुष्पहरू चढाउने गरिन्छ । तातो तातो लुगा अनि तातो तातो खानेकुरा अब सबैको प्यारो भई सक्यो, गर्मीमा घाम उति प्यारो थिएन तर बिस्तारै पारिला घामका किरणहरू सर्वप्रिय भएका छन् । चौरमा बसेर घाम ताप्ने अनि बदाम छोडाउँदै खाने भीडहरू प्रशस्तै देखिन्छ ।अनि हिउँदमा आफ्नो हेरविचार अलि बढी गर्न जरुरी हुन्छ । चिसो लागेमा खोकी अनि निमोनियाजस्ता सङ्क्रमण हुने सम्भावनाबाट बच्न धेरै न्यानो हुन जरुरी छ । आजका सङ्क्रान्ति तिर्थाटनका लागि एकदमै जरुरी छ, आजकै दिन श्रीकृष्ण मथुरा गएको र हिंसक मामा कंसको संहार गर्ने क्रम अगाडी बढेको जनविश्वास रहेको छ । आज पुस १ गते अर्थात् लोकतन्त्रवादीहरुका लागि ‘कालो दिन’ । आजकै दिनदेखि पञ्चायती व्यवस्था सुरु भएकाले यसलाई लोकतन्त्रवादीहरुले कालो दिनको रुपमा मनाउने गर्दछन् । दुई तिहाइ बहुमत ल्याएको नेपाली कांग्रेसको सरकारलाई अपदस्थ गरी एकदलीय हुकुमी शासन लादेकोले लोकतन्त्रवादीहरुले यस दिनलाई ‘कालो दिन’ भन्ने गरेका हुन् । २०१७ सालमा आजकै दिन तत्कालीन राजा महेन्द्रले प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेताहरुलाई तत्कालीन शाही सेनाको बलमा बन्दी बनाइ पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका बेला तत्कालीन प्रधानमन्त्री बीपी कोइरालासहितका नेताहरुलाई त्यहीँबाट गिरफ्तार गरिएको थियो । उनीहरुलाई तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । सोही जेलमा बसेर बिपीले ‘श्वेतभैरवी’ कथासंग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास रचना गरेका थिए । राजतन्त्रवादी एवं केही ‘राष्टवादी’हरुले पूर्वराजा महेन्द्रलाई राष्ट्रवादी धारका दुरदर्शी राजनीतिज्ञका रुपमा लिने गरेका छन् । तर निरंकुश पञ्चायती व्यवस्था सुरु गरेपछि उनी आलोचित पनि छन् । त्यसैले पूर्वराजा महेन्द्रको योगदान अहिले पनि नेपालको राजनीतिमा विवाद र बहसको विषय बन्ने गरेको छ । तर, महेन्द्रले अवलम्बन गरेको राष्ट्रवादलाई ‘मण्डले राष्ट्रवाद’को संज्ञा दिनेहरुको पनि कमी छैन । दार्जीलिङबाट लैंङसिह वाङ्देल लगायतका प्रतिभालाई नेपालमा बोलाएर नागरिकता प्रदान गरेकोमा एकथरि उनको प्रशंसा गर्छन् भने अर्काथरि मधेशमा आफ्नै देशका पहाडे समुदायलाई बसोबास गराएकोमा महेन्द्रको चर्को आलोचना गर्छन् । मुलुकमा राष्ट्रियताको जग बसाउने र नेपालभित्र बढ्दो भारतीय प्रभावलाई हटाई मुलुकको सार्वभौमिकता जोगाउन महेन्द्रले निर्णायक भूमिका खेलेको भन्दै उनको प्रशंसा गर्नेहरु अहिले पनि धेरै भेटिन्छन् । महेन्द्रले राष्ट्रियता नजोगाएको भए यतिबेला नेपाल भारतको अधीनस्थ भइसक्ने उनीहरुको तर्क छ । महेन्द्रले तराईमा पूर्वपश्चिम राजमार्ग खनाएका थिए, जसको नाम ‘महेन्द्र राजमार्ग’ राखिएको थियो । तराईमा महेन्द्रले पूर्वसैनिक एवं पहाडे समुदायका मानिसहरुको बसोबास गराएका थिए । यसो गर्दा जातीय सद्भाव बढ्ने महेन्द्रको तर्क थियो । सुस्तामा महेन्द्रका पालामा बसोबास गराइएका भूतपूर्व सैनिकका परिवारहरु अहिले पनि मधेशी समुदायसँग मिलेर बसेका छन् । तर, मधेशवादी नेताहरुले भने महेन्द्रको यस्तो नीतिको चर्को आलोचना गर्दै उनको यो नीतिलाई ‘आन्तरिक औपनिवेशिकता’को संज्ञा दिने गरेका छन् । मधेशमा पहाडी समुदायको घुसपैठ गराएर मधेसी समुदायलाई अल्पमतमा पारेको महेन्द्रमाथि मधेशी नेताहरुको आरोप छ । त्यसो त महेन्द्रले २०२० सालमा जंगबहादुरका पालाको मुलुकी ऐनलाई परिमार्जन गरी जातीय भेदभाव र छुवाछुतलाई गैरकानूनी घोषणा गरेका थिए । ०२१ सालमा भूमिसुधार योजना लागु गरे । आफैं कवि समेत रहेका उनले कला, साहित्य, शिक्षा र भौतिक विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

Like