आज परशुराम जयन्ती मनाइदै
रासंसा/काठमाण्डौ, बैशाख ०६,
जमदग्निसुतो वीर क्षत्रियान्तकर प्रभो।
गृहाणार्घ्यं मया दत्तं कृपया परमेश्वर।।
‘मम ब्रह्मत्वप्राप्तिकामनया परशुरामपूजनमहं करिष्ये’
ब्राह्मणका रूपमा जन्मिएता पनि क्षेत्रीय प्रकृतिको कार्य गरेकाले यिनलाई भार्गव भनिएको हो । हामीले नाम सुनी आएका अनि महाभारत युद्धका असाधारण योद्धाहरू भीष्म, द्रोण अनि कर्ण यिनै परशुरामका शिष्यहरू हुन् भने परशुरामका साक्षात् गुरुका रूपमा भने देवाधिदेव शिवजी रहनुभएको मानिन्छ । परशुरामको वास्तविक नाम राम हो । परशु भन्नाले बन्चरो जस्तो हतियार बुझिन्छ । भगवान् रामको त्यो रूपले बन्चरो जस्तो हतियार बोकेको हुँदा परशुराम भनिएको हो । भगवान् महादेव आफैँले धारण गरेको अमोघ परशु बन्चरो उनलाई दिएका थिए । त्यही अमोघ बन्चरो बोकेका कारण उनलाई परशुराम भनिएको थियो । परशुराम जयन्तीका अवसरमा स्नान र सङ्कल्प आदि गरी दिनभर व्रत बस्नु पर्दछ र मध्यान्नमा पूजा गरी परशुराम कथा श्रवण सकेपछि मात्रै फलादि आहार गर्नुपर्दछ भन्ने मान्यता छ । भार्गव गोत्रका अत्यन्त आज्ञाकारी ऋृषी परशुरामको आज, वैशाख शुक्ल तृतीया परशुरामको जन्म जयन्तीका रूपमा मनाउने चलन छ । पौराणिक कथनहरू अनुसार उनले सत्यका पक्षमा २१ पटक ठूल्ठूला युद्धहरू लडेका थिए । उनी युद्धकलामा निपुण, सुरो र बलियो सिपाही थिए । उनी अपराजित चिरञ्जीवी अर्थात् अमर थिए । भगवान् राम जन्मनु अगाडि पृथ्वीमा व्याप्त सबै अत्याचार अन्त्य गर्न विष्णुको अवतारका रूपमा परशुरामको जन्म भएको थियो । त्यही भएर परशुराम जन्मिएको दिन वैशाख शुक्ल तृतीया तिथिलाई चिरञ्जीवी तिथि भनिन्छ । परशुरामलाई पितृ वचनको सच्चा पालनकर्ता मानिन्छ । श्रीमद्भागवत गीतामा उल्लेख भएअनुसार संसारका सबै कुरा नाशवान् छन् तर परशुराम यस्ता महान् पात्र थिए जो कालबाट समेत अपराजित थिए । परशुरामको कलाकलाकौशल अनि भौतिक पूर्वाधार निर्माणका रचयिता परशुराम प्राचीन कालका इन्जिनियर नै हुन् । भारत वर्षका सम्पूर्ण प्राचीन गाउँ अनि नगरहरू यिनैको योजना र कला मुताबिक बनाइएका हुन् । उत्खनन क्रममा समुन्द्र बिचमा भेटिएको प्राचीन द्वारका नगरको अहिलेको अवशेष अनि तिनको सान्दर्भिक र वैज्ञानिक संरचनाले पनि प्राचीन काल देखिनै भएको वैज्ञानिक विकासमा परशुरामको योगदानको व्याख्या गर्दछ । परशुराम विष्णुका दश अवतारहरू मध्य छैठौ अवतार हुन् । यिनै अमर परशुरामको कृपाले हामी सबैको जीवनमा सत्य अनि कला कौशलताको दृढ विकास होस्,
त्रेता युगमा अत्याचारी राजा तथा क्षत्रियहरूको संहार गरी धर्म स्थापना गर्न भगवान् विष्णुले परशुरामका रूपमा अवतार लिनुभएको थियो। वैशाख शुक्लपक्ष तृतीया तिथिको सन्ध्याकालमा राजा प्रसेनजितकी छोरी रेणुका र भृगुवंशीय ब्राह्मण ऋषि जमदग्निका पञ्चम (कनिष्ठ) सुपुत्रका रूपमा भगवान् परशुरामको जन्म भएको थियो। त्यसैले प्रत्येक वर्ष वैशाख शुक्लपक्षको सूर्यास्तकाल छुने तृतीया तिथिमा भगवान् परशुरामको जन्मजयन्ती (परशुराम जयन्ती) मनाउने गरिन्छ।
परशुरामलाई भगवानका मुख्य दश अवतारमध्ये छैटौं अवतार मानिन्छ। इतिहास–पुराणअनुसार परशुराम भगवानको अंशावतार हो। सुरुमा जमदग्निपुत्रको नाम राम थियो। वहाँ भगवान् शिवजीका परं भक्त तथा शिष्य हुनुहुन्थ्यो। भगवान् शिवजीबाट शिक्षा, वरदान र एक अमोघ अस्त्र परशु (बन्चरो) प्राप्त गर्नुभयो। यही परशु धारण गरेपछि वहाँको नाम परशुराम भएको विश्वास गरिन्छ। भगवान् शिवले वहाँलाई आफ्नो पिनाक धनु पनि प्रदान गर्नुभएको थियो। ब्राह्मण कुलमा ऋषिपुत्रका रूपमा जन्म भए पनि वहाँमा क्षत्रीय गुण विद्यमान थिए।
परशुरामका पिता ऋषि जमदग्नि अत्यन्त तेजस्वी र ब्रह्मवेत्ता हुनुहुन्थ्यो। वहाँका चार अग्रज रुक्मवान्, सुषेण, वसु र विश्वावसु थिए। एक दिन माता रेणुकाले गङ्गास्नान गरी घर फर्कंदै गर्दा गङ्गाकिनारमा गन्धर्वका राजा चित्ररथ स्वर्गका अप्सराहरूका साथमा केलिक्रीडा गरिरहेका थिए । रेणुकालाई उनीहरूको लोभलाग्दो आलिङ्गनले तन्मय बनायो र आश्रम पुग्न विलम्ब भयो। ऋषि जमदग्निले दिव्यदृष्टि लगाउनुभयो। वहाँका नेत्र क्रोधाग्निले राता भए। र, छोराहरूलाई बोलाई कामवासनामा आशक्ति राख्ने आमालाई मार्न आदेश दिनुभयो। रुक्मवान्, सुषेण, वसु र विश्वावसु पिताको आदेश मान्न तयार भएनन्। रिस थाम्न नसकी चारै भाइलाई तत्काल जडबुद्धि हुने श्राप दिनुभयो। त्यसपछि परशुरामलाई बोलाई आमालाई तत्काल मार्ने आदेश दिनुभयो।
परशुरामले पिताको आज्ञाअनुसार आमालाई परशु प्रहार गरी तत्काल वध गरिदिनुभयो। कनिष्ठ पुत्र परशुरामसित जमदग्नि प्रसन्न भई इच्छित वर माग्न आग्रह गर्नुभयो। पिताको तपोबल र सामर्थ्यसँग परिचित परशुरामले विनम्रभावले आमाको पुनर्जीवन र अग्रजहरूको श्रापमोचन हुने वरदान माग्नुभयो। ऋषि जमदग्निले परशुरामको आज्ञाकारिता र चतुर्याइँबाट प्रसन्न भई इच्छाएको वर प्रदान गर्नुभयो। जमदग्निले परशुरामलाई चिरञ्जीवी हुने वरदानसमेत दिनुभयो।
एक दिन ऋषिको आश्रममा पुरुष नभएको मौका पारी हैहय देशका राजा कार्तवीर्य आइपुगे। आश्रममा कामधेनु गाई थियो। जे माग्यो त्यही दिने गाई देखेर राजाले जसरी पनि गाई हत्याउने विचार गरे। यस्तो गाई बाहुनका कुटिमा होइन, राजाका दरबारमा चाहिन्छ भनी बलजफ्ती गाईलाई घिच्याए। रोक्न खोज्दा ऋषिपत्नी रेणुकालाई लछारपछार पारे। आश्रममा तोडफेड र लुटपाट मच्चाए। परशुरामले युद्ध गरी कार्तवीर्यका सहस्रबाहु छेदन गर्नुभयो र कामधेनु छुटाएर ल्याउनुभयो। परशुराम नभएको मौकामा कार्तवीर्यका छोरा सेना लिएर आए र विध्वंस मच्चाई ऋषि परिवारको हत्या गरे। ऋषिगणले क्षत्रियको अस्तित्व बचाउन अनेक प्रयत्न गर्नुभयो। अन्तिमपटक कश्यप ऋषिले समग्र पृथ्वीलाई दानका रूपमा ग्रहण गर्नुभयो र अब मेरो भूमिमा रात्रिकालमा वास नबस्नुहोला भनेपछि परशुराम महेन्द्रपर्वतमा निवास गर्न थाल्नुभयो। परशुरामको नृशंस क्रियाकलापले वहाँका पितृगण समेत दुःखी हुनुभयो। र, अन्त्यमा पितृलोकबाट वहाँका पितामह ऋचिक स्वयं सम्झाउन आउनुभयो। अब युद्ध त्यागी ऋषि परम्पराअनुसार ज्ञानमार्गमा लाग्नू भनी उपदेश दिएर फर्कनुभयो। त्यसपछि परशुरामले युद्ध छाडी तपस्या गर्ने निर्णय लिनुभयो। युद्ध छोडेपछि परशुरामले गुरुकुल संवर्धन गर्नुभयो। अनेक यज्ञकर्म गर्नुभयो र तपोबलले पिताको मस्तक शरीरमा स्थापित गरी जीवित तुल्याउनुभयो। महर्षि जमदग्नि जीवित हुनुभयो र सप्तर्षिका बीचमा पञ्चम स्थान प्राप्त गर्नुभयो।
परापूर्व कालदेखि अन्याय, अत्याचार र हिंसा लगायत निरंकुश तानाशाही आसुरी प्रवृत्तिका विरुद्ध समाज एकजुट हुँदै आएको इतिहास छ। शक्तिको उन्मादले मानिसमा अहंकार जाग्दछ। त्यो अहंकारले सत्य, धर्म, प्रेम, सदाचार, अहिंसा जस्ता गुणहरूलाई बिर्साइदिन्छ र मानिस विषय वासना र स्वार्थले अन्धो बनिदिन्छ। पुराणहरूमा वर्णित प्रसंगअनुसार हैहय देशका राजा कार्तवीर्य भगवान् दत्तात्रेयको आशीर्वाद र लक्ष्मीनारायणका कृपाले हजार हातले युक्त सहस्रबाहु, दिग्विजयी र अतुल वैभवशाली भएका थिए। संसारमा अविजित सहस्रार्जुन नाउँले विख्यात उनमा बिस्तारै अभिमानको घडा भरिन थाल्यो।
राजा कार्तवीर्यले विगतमा पुण्यकर्मद्वारा प्राप्त भगवत्कृपालाई बिर्सेर भोगविलास र स्वार्थमा प्रयोग गरे। पृथ्वीका समस्त क्षत्रिय राजाहरूलाई समेत आफ्नो मुट्ठीमा पारी शोषण गर्न उक्साइरहे। धर्मका संरक्षक राजाहरू आफैं अन्याय, अत्याचार र लुटपाट गर्न उद्यत रहे। संसारभर ऋषिकुल, गुरुकुल, ब्राह्मण समाज र साधुसन्तहरू भयाक्रान्त हुन थाले। तत्कालीन समाजमा सहस्रार्जुनलगायत क्षत्रिय राजाहरूले पृथ्वीमा अन्याय, अत्याचार र धर्मको नाश गरी शासन गरेको हुँदा परशुरामले अत्याचारी क्षत्रियहरूको अभिमान, घमण्ड र अहङ्कारलाई निस्तेज तुल्याई भूभार हरण गर्ने संकल्प गरी परशु उठाउनुभयो। सहस्रार्जुन जस्ता अत्याचारी क्षत्रिय राजाहरूको संहार गरी पृथ्वीको भार हरण गर्नुभयो। ऋषिगण क्षत्रियहरूलाई गर्भदेखि संरक्षण गर्दै राजा बनाउनुहुन्थ्यो, परशुराम वध गर्दै पृथ्वीलाई क्षत्रियविहीन तुल्याउनुहुन्थ्यो। यस क्रममा परशुरामले २१ पटक पृथ्वीका क्षत्रियहरूको संहार गर्नुभएको थियो। यसरी संहार गर्दा क्षत्रियहरूको रगतले नौ वटा तलाउ भरिएको प्रसंग इतिहास–पुराणमा वर्णित छ। परशुरामले क्षत्रियहरूको वध गर्दा जम्मा भएको रगतले पितृहरूलाई तर्पण दिनुहुन्थ्यो।
युद्ध छाडेपछि परशुरामले भगवान् शिवको पिनाक धनु मिथिलामा राजा जनकका दरबारमा राख्न लगाउनुभयो। सामान्य व्यक्तिले हल्लाउन पनि नसक्ने उक्त धनु जनकनन्दिनी सीताले उठाई उक्त स्थान लिपपोत गरेपछि राजर्षि जनकले शिवको धनुष उठाई ताँदो चढाउन सक्ने वीर पुरुषलाई मात्र छोरीको हात सुम्पने उद्घोष गर्नुभएको थियो। स्वयंवर समारोहमा संसारका वीर पुरुष, पराक्रमी राजा र राजकुमारको परीक्षा भयो। सबैले हार खाएपछि राजर्षि जनकलाई योग्य वर नभेटिने चिन्ताले सताएको थियो। जब अवधकुमार भगवान् श्रीरामचन्द्रको पराक्रमले पिनाक धनु तीन टुक्रा भयो। राम–जानकीको मिलनले राजर्षि जनकको चिन्ता हरण भयो, सर्वत्र श्रीरामको प्रशंसा हुन थाल्यो। पिनाक धनु टुक्रिएको खबरले परशुराम आफ्ना गुरु तथा आराध्यदेवको अपमान भएको भन्दै क्रुद्ध भएर मिथिला आइपुग्नुभयो। मर्यादा पुरुषोत्तम श्रीरामले परशुरामलाई शान्त बनाई दिव्यदृष्टि प्रदान गर्नुभयो। श्रीरामले दिव्य बाणद्वारा तेज, शक्ति र सामर्थ्य खिच्नुभयो र आफ्नो पूर्ण परिचयका साथ अंशावतारको भूमिकाबाट मुक्त गराउनुभयो। भगवान् श्रीहरिका अंशावतार जामदग्न्य श्री परशुराम अद्यापि जीवित हुनुहुन्छ र कल्पान्त अमर हुनुहुन्छ। अष्टचिरञ्जीवीमध्ये प्रतिष्ठित एक चिरञ्जीवी हुनुहुन्छ।
भगवानको जन्मोत्सव भएको हुनाले परशुराम जयन्ती दिन प्रातः स्नान गरी ‘मम ब्रह्मत्वप्राप्तिकामनया परशुरामपूजनमहं करिष्ये’ भनी संकल्प गरी दिनभरि मौनव्रत बस्ने र सन्ध्याकालमा पुनः शरीर शुद्धिका साथ परशुरामको पूजा गर्ने विधान छ। परशुराम जयन्ती दिन साँझमा तलको मन्त्रले भगवान् परशुरामलाई अर्घ्य दिनुपर्दछ–
जमदग्निसुतो वीर क्षत्रियान्तकर प्रभो।
गृहाणार्घ्यं मया दत्तं कृपया परमेश्वर।।
यसरी अर्घ्य दिएपछि रातभरि राममन्त्र जप गरी व्रतको पारणा गर्नुपर्दछ। समग्र मानवजातिलाई भगवानले अवतार लिनुभएका दिवस परम कल्याणदायी मानिन्छन्। यसर्थ इतिहास, पुराण एवं धर्मशास्त्रहरूमा यस्ता क्षणहरूलाई उत्सवका रूपमा मनाउन निर्देश गरिएको छ।