सभामुखले नीति तथा कार्यक्रमको तयारीबारे छलफल गर्न बोलाए बैठक
रासंसा/काठमाण्डौ, बैशाख ३०,
मुलुकमा सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र सचेतकलाई छलफलका लागि बोलाएका छन्। सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र प्रमुख दलका मुख्य सचेतक, सचेतकलाई छलफलमा बोलाएका हुन्। मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याउन राष्ट्रपतिलाई आह्वान गरेको छ। मंगलबार ३ बजे नीति तथा कार्यक्रम ल्याउने भएका संसदको गतिरोध अन्त्य र तयारीको विषयमा आजको बैठकमा छलफल हुनेछ। उनका अनुसार आजको बैठकमा नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल हुनेछ। सरकारले जेठ १ गते नीति तथा कार्यक्रम ल्याउँदैछ। सरकारले ल्याउने नीति तथा कार्यक्रम संयुक्त (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गर्नेछन्। नेपाली कांग्रेसबाट निर्वाचित राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम बाचन गर्न संसद् आउने भएपछि संसद बैठक अवरोध गर्न कांग्रेसलाई नैतिक संकट पर्ने देखिएको छ। कांग्रेसले शु्क्रबार सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संघीय संसदका दुवै सदन अवरुद्ध पारेको थियो। कांग्रेसले आगामी बैठकमा पनि अवरोध गर्ने चेतावनी दिएपछि सभामुखले छलफल अगाडि बढाएका हुन्। हिउँदे अधिवेशन अन्त्यतिरबाट विरोध सुरु गरेको कांग्रेसले बजेट अधिवेशनको पहिलो दिन पनि अवरोध गरेको हो। कांग्रेसले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा समावेश बुँदा हटाएर जेठ १ गतेसम्म संसद् बैठक स्थगित गरेका थिए।