राजस्वले नियन्त्रणमा लियो गाडी, २२ लाखको सामानको बीजक दुई लाख मात्रै
रासंसा/बारा, चैत्र १८,
मुलुकमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले बिलबिजकभन्दा बढी मूल्यको सामान बोकेको गाडी नियन्त्रणमा लिएको छ। उक्त गाडी वीरगन्ज महानगरपालिका–१० मा सञ्चालित कालिकामाई इन्टरप्राइजेजका सञ्चालक राजीव चौरसियाको रहेको पाइएको कार्यालयले जनाएको छ। राजस्व अनुसन्धान कार्यालयले गत बुधबार प्रदेश २–०३–००१ च ५९३८ नम्बरको गाडीमा बिजकभन्दा बढी मूल्यको सामान फेला परेपछि नियन्त्रणमा लिएको हो। करिब २२ लाख रुपैयाँबराबरको लाइटर, धारोका सामग्री र कपडा बोकेको उक्त गाडीमा दुई लाख रुपैयाँको मात्र बिल बनाएर सामान ल्याइँदै थियो। राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख प्रेमप्रसाद सापकोटाले केही दिनदेखि नियन्त्रणमा रहेको गाडीमा बीजकमा उल्लेख गरिएकोभन्दा बढी मूल्यको सामग्री पाइएको पुष्टि गरेका छन्। उक्त गाडीलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए।