मन पराएन कोशी टप्पु ‘मेघौली’ले, फेरी चितवन फर्काइयो
रासंसा/चितवन, चैत्र १८,
मुलुकमा सानैमा आमाको साथ गुमाएका कारण जन्मेको ठाउँ छाडेको ‘मेघौली’ नाम गरेको भाले गैंडा हुर्केपछि मुख्य बासस्थल नै छाड्नु पर्दा आक्रोशित बन्यो । साँघुरो खोरमा बसेर चितवनबाट लामो यात्रा पार गर्दै कोशीसम्म पुगेको मेघौली फेरि चितवन नै फिर्ता आएको छ । खोरमा आक्रोश पोख्दा मुखमा चोट लागेका कारण घाँस खान छाडेको मेघौलीले चितवन आएपछि खुला ठाउँमा आहाल बस्न र चर्न सुरु गरेको छ । ६ वर्षअघिको साउन अन्तिममा नारायणी र राप्ती नदीमा भयानक बाढी आउँदा साना ठूला धेरै खाले जनावर बगेका थिए । त्यो बेला बगेर भारत पुगेका गैंडा पनि निकुञ्जले उद्धार गरेर ल्याएको थियो । त्यही बेला निकुञ्जको पश्चिम क्षेत्र मेघौलीमा माउ बिनाको एउटा बच्चा गैंडा अशक्त अवस्थामा फेला पर्यो । निकुञ्जले त्यसलाई पनि उद्धार गरेर सौराहामा ल्याएर राख्यो । स्याहार पाएपछि गैंडा राम्रैसँग हुर्कियो । मान्छेको रेखदेख पाएको यो गैंडा जंगलभन्दा पनि सौराहाको गल्ली, वस्ती र खेततिर बढी डुल्न थाल्यो । कहिलेकाँही जंगल गए पनि प्रायः बस्तीतिर आउने यो गैंडाले ‘मेघौली’ नाम पायो । यसले खेती खाएर स्थानीयलाई दुख त दिएको थियो नै गल्लीमै गैंडा देखिँदा सौराहा घुम्न आउनेहरु पनि दंग पर्न थाले । नजिक गएर तस्बिर खिच्दा पनि केही नगर्ने भएपछि मान्छेले यसलाई छुने, चलाउनेसम्म गरे । पुष्पा र अञ्जली बसेकै ठाउँमा राखे पनि ‘मेघौली’को मन त्यहाँ रमाएन । चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुसार ‘मेघौली’ चितवन फिर्ता आएको बताए । बिहीबार राति १ बजेतिर ट्रकबाट सौराहा झरेको ‘मेघौली’ अहिले वन क्षेत्रमा बसेको छ । कोशीमा पानीबाहेक केही नखाएको उसले सौराहामा अहाल खेल्न र चर्न सुरु गरेको छ । यो पटक गैंडाको आन्तरिक स्थानान्तरण सुरु गरेको चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम क्षेत्रमा रहेका गैंडा पूर्वी क्षेत्रमा ल्याएर छाड्यो । यही मेसोमा चैत्र ९ गते ‘मेघौली’लाई पनि नियन्त्रणमा लिएर सौराहाबाट नेपालको पूर्वी क्षेत्रमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइयो । कोशीमा गत असोजमा चितवनबाटै ‘मेघौली’ जस्तै सानैमा उद्धार गरेर हुर्काइएका दुई टुहुरा गैंडा पुष्पा र अञ्जली पनि लगिएको थियो । गइआइ गरेर दुई रात ट्रकमै बिताएको ‘मेघौली’ले कोशीमा जम्मा चार रात मात्रै बितायो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता बेदकुमार ढकाल ‘मेघौली’लाई उपचारका लागि चितवन फिर्ता गरेको बताउँछन् । तर कोशी लैजाने बारेमा पनि केही निधो छैन । ‘उपचारका लागि लगेको हो । पहिला उपचार होस्,’ ढकालले भने । उपचारमा संलग्न पशु स्वास्थ्य चिकित्सकहरुले ‘मेघौली’ खतरामुक्त रहेको बताउँछन् । ‘कोशीमा खाँदै नखाएर समस्या थियो । यहाँ चर्न थालेपछि यसको अवस्था अब खततरामुक्त छ,’ उपचारमा संलग्न चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु स्वास्थ्य चिकित्सक डा.विजय श्रेष्ठले भने । कोशीमा ठूलो खाले पक्की खोर छ । त्यसमा पुष्पा र अञ्जली मजाले बसे पनि ‘मेघौली’ले खोरको फलामको गेटमा पनि हान्ने गर्थ्यो । ‘चोटपटक पनि थियो । ठाउँ नयाँ पनि भयो । घाँस नै खाएन । यहाँ उपचार गर्ने राम्रा चिकित्सक पनि भएनन् । त्यसैले चितवन पठाएको हो,’ कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रमेश यादवले भने । खोरमा हान्दा गैंडाको एउटा दातै भाँचिएको छ । ‘आसोजमा लगेका दुई गैंडा कोशीमा राम्रैसँग बसेका छन् । यसलाई गाह्रो भयो । त्यहाँ सुरक्षाको प्रबन्ध गरेर, भेटेरिनरी टिम पनि राम्रो राखेर पूर्वाधार बढाएर र घाँसे मैदान व्यवस्थापन गरेर अरु गैंडा लैजाने कि भन्ने छ । यीे कामहरु त यसै वर्ष पूरा नहोला,’ निकुञ्ज विभागका प्रवक्ता ढकालले भने । गैंडालाई एक ठाउँबाट अर्को ठाउँ लैजानका लागि बेहोस बनाएर नियन्त्रणमा लिइन्छ । बेहोस गैंडालाई काठको खोरमा थुनेर त्यो खोर ट्रकमा राख्ने बेलामा बेहोसबाट फर्कने औषधि दिइन्छ । कोशी पुग्नुअघि ‘मेघौली’ले खोरमा लगातार हानेको थियो । कोशीमा सानो खोरको छेकबारभित्र भन्दा स्यान्चुरी मोडलमा १२/१५ किलोमिटर क्षेत्र समेटर बासस्थल व्यवस्थापन गर्नुपर्ने उनले बताए । ‘थोरै क्षेत्रफलबाट सुरु गरे पनि १२/१५ किलो मिटर एरिया त चाहिन्छ । गैंडा बाहिर निस्कन पनि भएन । सुरक्षा पोष्टको प्रबन्ध गर्नु पर्यो । बाढीको समस्या पनि छ । तारबार र डुबान हुँदा बस्न मिल्ने ढिस्काहरु पनि राखेर बासस्थलको प्रबन्ध गर्नुपर्ने देखिएको छ,’ प्रवक्ता ढकालले भने । गैंडा विश्वबाट लोप हुने खतरामा रहेको दुर्लभ वन्यजन्तु हो । ०७७ चैत्रमा सार्वजनिक गैंडा गणनाको नतिजा अनुसार देशभर ७५२ गैंडा छन् । चितवन निकुञ्ज र यस आसपासको वन क्षेत्रमा देशमै सवैभन्दा धेरै ६९४ गैंडा छन् । चितवन बाहिर पनि गैंडाको बासस्थल बढाउन बर्दिया र शुक्लाफाँटासम्म स्थानान्तरण गरेर जंगल कै वयस्क गैंडा लगिएको छ । कोशीमा बच्चामा उद्धार गरेर हुर्केका गैंडाहरु लगिएको छ ।