‘मलाई विश्वास छ, हाम्रो टोलीले उपाधि घर लिएर जानेछ’ – फाइनल खेल्न नपाएकी सम्बा भन्छिन्,
रासंसा/काठमाण्डौ, फाल्गुण १७,
मुलुकमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले बिहीबार राति खेलिने जोर्डनविरुद्धको फाइनल खेलमा आफू उपस्थित नभए पनि मैदान बाहिरबाट देशको समर्थन गर्न आफू आतुर रहेको बताएकी छन् । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा बिहीबार नेपाली टोलीले जोर्डनको सामना गर्दै छ । साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार, राति ९ः४५ बजे सुरु हुनेछ । उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै भनेकी छन्, ‘खेलाडीका रूपमा मैदानमा नभए पनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु । जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थेँ, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु ।’ तर, फाइनल खेलमा नेपालकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भने उपस्थित हुने छैनन् । सावित्रा फ्रान्सेली क्लब ईभी गुइनगाम्पबाट व्यावसायिक फुटबल खेल्छिन् । त्यसैले वाफ च्याम्पियनसिपको फाइनलअघि नै उनी फ्रान्स फर्किएकी हुन् । तर, वाफ च्याम्पियनसिपको नकआउट चरणको खेल भने फिफा विन्डोभन्दा बाहिर रहेको थियो । यसका बावजुद क्लबसँग अनुमति लिएर साम्बाले सेमिफाइनल खेल खेलेकी थिइन् । तर, फाइनलअघि उनी व्यावसायिक फुटबल खेल्न फ्रान्स फर्कनु पर्ने अवस्था सृजना भयो । विश्व फुटबल महासंघ (फिफा) को नियम अनुसार, राष्ट्रिय टोलीको खेल फिफा विन्डोमा रहेको अवस्थामा मात्र खेलाडीले देशको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । वाफ च्याम्पियनसिपको समूहगत चरणको खेलमात्र फिफा विन्डोमा रहेको थियो । जारी वाफ च्याम्पियनसिपमा साम्बाले नौ गोल गरिसकेकी छन् । उनी जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । साम्बाले समूहगत चरणमा सिरियाविरुद्ध एक गोल, इराकविरुद्ध पाँच गोल र प्यालेस्टाइनविरुद्ध दुई गोल गरेकी थिइन् । उनले लेबननविरुद्धको सेमिफाइनल खेलमा पनि एक गोल गरेकी थिइन् । सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २–१ गोलले हराएको थियो । ‘देशको लागि खेल्नु मेरो लागि आज पनि उत्तिकै महत्त्वपूर्ण छ, जति मैले गाउँ छोडेर सहर पस्दा त्यो जर्सी लगाउने सपना साँचेको थिएँ । नेपालको जर्सी लगाएर मैदानमा बिताएको हरेक सेकेन्ड मैले आफ्नो अन्तिम खेल जसरी खेलेको छु । नेपालको प्रतिनिधित्व गर्नुभन्दा ठुलो गौरवको कुरा सायदै अरू होला,’ उनले भनेकी छन् । साम्बाले बिहीबार राति हुने फाइनलमा नेपालले जोर्डनलाई हराउँदै विश्वास पनि व्यक्त गरेकी छन् । ‘मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टिमको रूपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौँ । प्रतिद्वन्द्वी कठिन भए पनि हामी पुनः एकपटक एकजुट भएर जित हासिल गर्नेछौँ भन्ने विश्वास राखेको छु । शुभकामना टिम ! हामी सक्छौँ, हामी गर्छौँ !’ फुटबल खेलाडी भएकाले आफू व्यावसायिक खेल जीवन र सम्झौतालाई सम्मान गर्न पनि बाध्य रहेको उनले बताएकी छन् । उनले आफ्नो पोस्टमा भनेकी छन्, ‘वाफ महिला च्याम्पियनसिपमा हामी फाइनल खेल्दैछौं । तर, एक फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ । क्लबले सधैँ मेरो लागि सहज वातावरण सिर्जना गरिदिएको छ र यसपटक पनि फिफाले तोकेभन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु ।’
