मिसन-८४ हैन, भिजन-९४ सुरु गरौँ – महामन्त्री शर्मा, नेपालि कांग्रेस

Share to:

रासंसा/भक्तपुर, पुष १७,

मुलुकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी नारा मिसन ०८४ होइन, देश बनाउने स्पष्ट भिजन ०९४ सुरु गर्नुपर्ने बताएका छन्। आउने चुनावको चिन्ता छाडेर देश बनाउने साझा मुद्दामा लाग्न सबै दललाई आग्रह गर्दै महामन्त्री शर्माले चुनावको चिन्ता लिनुभन्दा पनि २०९४ सालसम्म के काम गर्न सकिन्छ भनेर विकासको खाका तयार गरी कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिए। नेपाली कांग्रेसको जिल्ला शाखाले आज आयोजना गरेको ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन भिजन ०९४ अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताएका हुन्। अवसरका पदमा पटकपटक दोहोरिने परम्परा अब अन्त्य गर्नुपर्नेमा जोड दिँदै महामन्त्री शर्माले भने, ‘पटकपटक एउटै पदमा एउटै व्यक्ति दोहोरिने परम्परा हटाउनैपर्छ, राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटकभन्दा बढी दोहोरिन दिन हुँदैन।’ महामन्त्री शर्माले ठूलो जनसङ्ख्याका कारण नेपाली विदेश जाने अवस्था रोक्न र विदेशमा रहेका नेपाली तत्काल फर्क भन्ने अवस्था नरहेकाले वैदेशिक रोजगारीको मर्यादा अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। संविधान सहमतिको साझा दस्तावेज भएको उल्लेख गर्दै उहाँले दलबीचको सहकार्यले शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी संविधानप्रति अपनत्वको दायरा बढाउँदै सम्मुन्नतिको यात्रामा लम्कनुपर्नेमा जोड दिए।

Like