अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

गणतन्त्रको रक्षार्थ ‘मेलमिलाप’ शीर्ष नेताहरू

Share to:

रासंसा/काठमाण्डौ, पौष १७,

मुलुकमा राजतन्त्र पक्षधरहरुले आन्दोलनका कार्यक्रम घोषणा गरिररहेका बेला नेपालमा गणतन्त्र ल्याउन मुख्य भूमिका खेल्ने दलका शीर्षस्थ नेताहरुले सोमबार एउटै मञ्चमा उभिएर गणतन्त्रको रक्षार्थ एकजुट भएर उभिने प्रतिबद्धता गरेका छन् । नेपाली कांग्रेसका संस्थापक एवम् पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले मेलमिलापको नीति लिएर निर्वासनबाट देश फर्किएको स्मरण गर्दै नेताहरूले अहिले गणतन्त्रको प्रतिरक्षामा आफूहरूबीचमा मेलमिलाप रहेको उद्घोष गरे । पूर्व राजाको प्रश्रयमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र र हिन्दु राष्ट्रका लागि देशव्यापी प्रदर्शन गर्ने घोषणा नै गरेपछि प्रमुख राजनीतिक दलका नेताहरुले पनि गणतन्त्रको पक्षमा आफूहरु एकताबद्ध रहेको सन्देश छोडेका हुन् । सत्ता सञ्चालनका सवालमा विपरीत ध्रुवमा आफ्ना अडान र एजेण्डा प्रस्तुत गर्दै आएका सत्तारुढ र प्रतिपक्षी दलका नेताहरु व्यवस्थामाथिको प्रहारविरुद्ध भने एकमत देखिएका छन् । कांग्रेसले गरेको मेलमिलाप दिवस विशेष खुला अन्तर्क्रियामा क्रममा राजधानीको प्रज्ञा प्रतिष्ठानको मञ्चमा भेला भएका उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिरक्षामात्रै गरेनन्, यो दुनियाँकै सर्वोत्तम व्यवस्था भन्दै वकालत समेत गरेका छन् । सोमबार संविधान निर्माणको नेतृत्व गरेको दल कांग्रेसले गरेको मेलमिलाप दिवस विशेष खुला अन्तर्क्रियामा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपाल सहित संविधान निर्माणमा संलग्न दलका शीर्ष नेताहरू एउटै मञ्चमा उभिए । उनीहरुको साझा बोली थियो – ‘गणतन्त्रको विकल्प गणतन्त्र नै हो, राजतन्त्र त हुँदै होइन ।’ नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्र नै मान्छेले अहिलेसम्म विकसित गरेका व्यवस्थाहरूमध्ये सबैभन्दा उन्नत र जनताकेन्द्रित शासन प्रणाली रहेको तर्क गरे । उनीहरूले गणतन्त्रविरोधी आवाज सुनिनुमा आफूहरूको पनि कमजोरी रहेको स्वीकार्दै सच्चिएर अघि बढ्न र जनताले चाहेजस्तै सुशासनयुक्त शासन र तीब्र विकासका लागि समेत तयार रहेको बताए । त्यसो त प्रमुख दलका शीर्ष नेताहरू एउटै मञ्चमा बिरलै देखिन्छन् । सत्ता र शक्तिको खेलमा नेताहरूबीच राजनीतिक खिचातानी र दिनहुँजसो छेडखानी चलिरहेकै हुन्छ । तर वर्तमान राजनीतिक व्यवस्थामाथि नै उठेको प्रश्नमा भने नेताहरू आन्तरिक प्रतिस्पर्धा भुलेर एकमत देखिएका छन् । अब ‘राजतन्त्र फर्काउँछु भन्नु चिहानमा मक्किएर रहेको घुँडा टेकेर उभिन्छु’ भन्नु जस्तै रहेको नेताहरूको टिप्पणी छ । कार्यक्रममा प्रधानमन्त्री दाहालले संसारमा मानव जातिले लोकतान्त्रिक गणतन्त्रभन्दा अर्को राम्रो व्यवस्थाको विकास नै नगरेको दाबी गरे । ‘संसारमा मानव जातिले विकास गरेको सबैभन्दा उच्चतम राजनीतिक व्यवस्था भनेकै लोकतान्त्रिक गणतन्त्र हो । गणतन्त्रभन्दा राम्रो व्यवस्था अहिलेसम्म मानव जातिले विकास गरेकै छैन,’ दाहालले अघि भने, ‘त्यसकारण लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउनु निरर्थक छ ।’ उनले गणतन्त्रको विकल्प गणतन्त्र र थप उन्नत गणतन्त्र मात्रै हुन सक्ने बताए । एमाले अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले गणतन्त्रको प्रतिरक्षा गर्न आफूहरू जुनसुकै बेला एक हुने बताए । देशमा फेरि राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको उनको दाबी छ । ‘कहिलेकाहिँ देउवाजी, प्रचण्डजी, हामी यसो बस्छौँ । कसै–कसैलाई यिनीहरू मिले भनेर पिर पर्दोरहेछ,’ ओलीले भने, ‘राजावादीहरूले यो कुरा प्रष्टसँग बुझे हुन्छ, गणतन्त्रको प्रतिरक्षा गर्न, राजतन्त्र फर्किन नदिन हामी जुनसुकै बेला एकताबद्ध छौँ । कुनै हालतमा राजतन्त्र फर्काउन दिदैनौँ, राजतन्त्र अब इतिहासमात्रै हो ।’ देशलाई गणतन्त्रसम्म डोहोर्‍याउने दलहरूले जनतालाई त्यसको अनुभूति गराउन नसक्नु कमजोरी भएको उनको स्वीकारोक्ति थियो । प्रधानमन्त्री दाहालले समकालीन नेपाली नेताहरू कुनै न कुनैरुपमा बीपी कोइरालाबाटै दीक्षित रहेको भन्दै बीपीको मेलमिलाप नीतिअन्तर्गत फेरि एकपटक सबै दलहरू राष्ट्रिय मुद्दाहरूमा एकताबद्ध हुनु आवश्यक रहेको बताए । ओलीले पनि देशमा सुशासन, शान्ति, विकास र राष्ट्रियताको पक्षमा सबै दलहरूबीच मेलमिलापको आवश्यकता रहेकोमा जोड दिए । नेपाली राजनीतिक दलहरूको मेलमिलाप देखेर धेरैले आफूसँग आश्चर्य प्रकट गरेको देउवाले सुनाए । दाहाल र ओलीले मेलमिलापमा जोड दिएपछि कार्यक्रमको समापन गर्दै कांग्रेस सभापति देउवाले भने, ‘सानो देश, नेपालका हामी राजनीतिक दलहरूबीचको मेलमिलाप, बोलीचाली र भाइचाराको संस्कार यो धेरै राम्रो छ । यो देखेर विदेशीहरू समेत छक्क पर्छन् ।’ ‘बीपी कोइराला सानो देशको ठूलो मानिस हो । धेरै ठूलो आँट र हिम्मत गर्न सक्ने नेता हो उहाँ । राजनीतिमा मात्रै होइन, अरू धेरै कुरामा उहाँ विशिष्ट प्रतिभा भएको व्यक्ति हो,’ देउवाले बीपीका बारेमा अघि भने, ‘उहाँ ज्यानै जाने वातावरण हुँदा पनि मार्ने भए पनि ठीकै छ भनेर मेलमिलापको नीति लिएर देश फर्किएको व्यक्ति हो, त्यहीकारण हामीलाई यो उच्चसम्मान र श्रद्धाले सम्झिन्छौँ ।’ पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने अहिलेको व्यवस्था जोगाउन प्रतिरक्षामात्रै गरेर नहुने बताए । जनतालाई छिटो छिटो विकास र सुशासन चाहिएको भन्दै नेपालले दलहरूले त्यसकालागि काम गर्नुपर्ने चुनौती रहेको बताए । ‘भ्रष्टाचार रहेसम्म कुनै पनि व्यवस्थाले जनतालाई विकास र समृद्धि दिन सक्दैन । जनताले अहिले छिटो गतिमा विकास खोजेका छन्,’ उनले अघि भने, ‘त्यसकारण भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सक्ने हो भने हामीले अहिले ल्याएको व्यवस्था नै दुनियाँकै सबैभन्दा उत्तम हो ।’ दलहरूबीच वैचारिक र राजनीतिकरुपमा मतभेद र प्रतिस्पर्धा भएपनि राष्ट्रियता, विकास र आर्थिक समृद्धिका विषयहरूमा भने एकताबद्ध हुनुपर्ने देउवाको जोड थियो । नेता नेपालले थपे, ‘हामी साँच्चै देशको विकास गर्न चाहान्छौँ भने बोली एउटा, व्यवहार अर्को हुनुभएन । हामीले इमान्दार भएर काम गर्ने हो भने संसदीय प्रणाली नै सर्वोत्तम व्यवस्था हो, अरू कुनै व्यवस्था यसको विकल्प हुनै सक्दैन ।’ समुन्नत समाज निर्माणका लागि दलहरूबीच विकास र समृद्धिका काममा मेलमिलाप हुनुपर्ने उनको जोड थियो । त्यसो त उनले सबै दल सहभागी संयुक्त सरकारको प्रस्तावसमेत गरे । ‘अस्थिरताले जनतामा निराशा पैदा गर्यो‍, अस्थिरताकै कारण सरकारले परिणाम दिन सकेन । जनताले त्यसको आक्रोस व्यवस्थाविरुद्ध पोखिरहेका छन्,’ उनले अघि भने, ‘सबैले मान्ने एउटा मान्छेको नेतृत्वमा संयुक्त सरकार बनाऔँ, सबै दलहरू मिलेर पाँचै वर्ष सरकार चलाऔँ । जनतालाई चाहिएको विकास र सुशासन हो, त्यसलाई गति दिऔँ । हामीले ल्याएको व्यवस्था आफैँ बलियो हुँदै जान्छ ।’ कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने बोलाइएको थिएन । कांग्रेसले संविधान निर्माण र शान्ति प्रक्रियामा सहभागी दलहरुलाई सहभागी गराउने भन्दै रास्वपा र राप्रपालाई नबोलाएको हो । कार्यक्रममा जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवम् श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतले मेलमिलाप र वर्तमान संविधान र व्यवस्थाप्रति जनताले अरुचिका विभिन्न सन्दर्भमा धारणा राखे ।

Like