पूर्वसुरक्षाकर्मीको योजनामा पुग्थे रुसी सेनामा नेपाली, मुख्य योजनाकार को हुन् ?

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २१,

मुलुकमा नेपाली युवा राम्रो आम्दानी र रोजगारी पाउन ज्यानै जोखिममा राखेर काम गर्छन् भन्ने उदाहरण धैरै थिए, त्यसमा थपियो रुसी सेनामा भर्ती पनि। विभिन्न प्रलोभनमा अबैध बाटो हुँदै रुसी सेना लागेर युक्रेनसँगको युद्धमा होमिन पनि पछि परेनन्। यसैक्रममा ६ नेपालीले ज्यान गुमाइसके। एक जना युक्रेनले बन्धक बनाएको पुष्टि सरकारले नै गरेको छ। यी तथ्यांक आधिकारिक रूपमा सरकारले सार्वजनिक गरेका हुन्। पुष्टि नभएका अन्य तथ्यांकमा मृतक र बन्धकको संख्या बढी आइरहेका छन्। फर्किएर आएका व्यक्ति प्रहरीको सम्पर्कमा छन्। तर, उनीहरूले जाहेरी दिन नमान्दा मुद्दा चलाउनका लागि प्रहरीलाई केही असहज भएको छ। मृतक र बन्धकको संख्या बढ्न थालेपछि सरकारी निकायहरूले घुमाउरो बाटोबाट नेपालीहरूलाई रुस पुर्‍याउने गिरोहमाथि निगरानी बढाइएको बताएका छन्। यसै क्रममा पूर्वसुरक्षाकर्मी, मेनपावर, शैक्षिक परामर्श दिने ‘कन्सल्टेन्सी’ सञ्चालकसहित १२ जना पक्राउन नै परे। अनि खुल्यो– ‘कसरी रुसी सेनामा पुगिरहेका छन् नेपाली युवा ?’ गिरोहले भारत पुर्‍याएका अझै केही नेपालीहरू दिल्लीका होटलहरूमा रहेको आशंका प्रहरीको छ। नेपाल सरकारले भारतीय प्रहरीको पनि सहयोग लिएर अनुसन्धान गरिरहेको बताएको छ।प्रहरीका अनुसार अवैध रूपमा नेपालीलाई रुस पठाउने प्रमुख एजेन्ट पूर्वसुरक्षाकर्मी भएको खुलेको छ। पूर्वसुरक्षाकर्मीसमेत रहेका उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्माले हालसम्म १८ जनालाई रुस पठाइसकेको प्रहरीले जानकारी दिएको छ। काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२ जनालाई सार्वजनिक गर्दै काठमाडौं प्रहरी परिसर काठमाडौंले उक्त गिरोहमा पूर्वसुरक्षाकर्मीहरूसमेत रहेको खुलाएको हो। विश्वकर्मासँगै पक्राउ पर्ने अन्यमा जोरपाटीका सन्तोष रोका, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका मनिष न्यौपाने, काठमाडौं–१६ का रोजल महर्जन, बूढानीलकण्ठका क्षितिज गिरी, सिराहाका दिपेन परियार, काभ्रेका सुवास लामा र चितवनका गोकर्ण अर्याल छन्। त्यस्तै, ओखलढुंगाकी सुजाता दाहाल, लमजुङका ईश्वर अधिकारी बाराका सन्तोष नेपाल र दाङका द्रोण डाँगी पनि यो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। पक्राउ परेकामध्ये सुजाता दाहालको साथबाट २७ र ईश्वर अधिकारीको साथबाट १६ वटा गरेर ४३ वटा राहदानीसमेत प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार, दाहाल पहिले कन्सल्टेन्सी चलाउँथिन्। उनले रसिया जाने नेपालीको कागजात मिलाउने, भिसा प्रक्रिया गर्ने लगायतका काम गर्दै आएकी थिइन्। रुसी सेनामा जाने युवाहरूको भिजिट भिसा मिलाउनेलगायत रुसी सेनामा भर्ना हुन अनलाइन अप्लाई गर्ने लगायतका काम गर्ने गर्थिन्। प्रहरीसँगको बयानमा सुजाताले आफूले कन्सटेन्सीको काम स्वरूप कागजातको प्रक्रिया मात्रै गरेको तर, युवाहरूलाई प्रलोभन दिएर रुस नपठाएको बताएकी छन्। गिरोहले नेपाली युवाबाट प्रतिव्यक्ति ७ देखि १० लाख लिएर रुस पुर्‍याउने गरेका थिए। भिजिट भिसा लगाएर नेपालबाट भारत हुँदै रुसको सैनिकमा भर्ना हुने र राम्रो आम्दानी हुने भन्दै प्रलोभन दिने गरेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसएसपी भुपेन्द्र खत्रीका अनुसार यो गिरोहले नेपाली युवालाई भारत, यूएई हुँदै रुससम्म पुर्‍याएको दाबी गरे। खत्री भन्छन्, ‘उनीहरूको साथबाट नगद २७ लाख ६० हजार ५ सय, ४३ वटा पासपोर्ट, मोबाइल, ल्यापटप, प्रिन्टरलगायतका सामान बरामद गरिएको छ।’ प्रहरीका अनुसार यो गिरोहले नेपाली पासपोर्ट भएका अन्य धेरै व्यक्तिलाई पनि रुस लैजाने तयारी गरेको थियो। उनीहरूले ‘रुसी सेनामा भर्ना हुन सजिलो छ, धेरै कमाइ हुन्छ र ग्रिनकार्ड चाँडै बन्छ’ भन्दै नेपाली युवालाई प्रलोभनमा पार्ने गरेका थिए। गिरोहको ‘टार्गेट’मा सुरक्षाफोर्सका कर्मचारी तथा पूर्वसैनिक तथा प्रहरी पर्ने गरेका छन्। पूर्वसुरक्षाकर्मीको छिटो भिसा लाग्ने र आकर्षक कमाइ हुने भन्दै सामाजिक सञ्जालमा विज्ञापन राख्ने गरेका थिए। पक्राउ परेका ईश्वर अधिकारीले प्रहरीसँग इन्कारी बयान दिएका छन्। उनले आफूले कसैलाई पनि प्रलोभन नदिएको र जान चाहनेका लागि मात्रै कागजी प्रक्रिया मिलाएको बताएका छन्। प्रहरीका अनुसार ईश्वरका दाजु हाल फरार छन्। उनको नेपाली युवालाई रुस लैजान प्रत्यक्ष भूमिका रहेको बताइएको छ। पक्राउ परेकामध्ये उदयपुरको कटारी नगरपालिका–६ का हरिबहादुर विश्वकर्मा यो प्रकरणका मुख्य आरोपी हुन्। उनी म्यानपावर सञ्चालकसमेत हुन्। उनी पूर्वसैनीकसमेत हुन्। सैनिक पेसा छाडेपछि वैदेशिक रोजगारीका लागि उनी विदेशसमेत गएका थिए। पछिल्लो ६ वर्षदेखि मेनपावर चलाइरहेका छन्। डीएसपी जिसी भन्छन्, ‘नेपाल सरकारले रुस जान कडाइ गरेपछि हरिबहादुरले दुबईको भिजिट भिसा लगाएर तथा भारतीय एयरपोर्ट प्रयोग गरेर रुस पठाएको स्विकार गरेका छन्।’ उनी पूर्वसैनिक भएका कारण पनि केही बहालवाला प्रहरीले समेत रुस जाने प्रक्रिया अघि बढाएको जिसीले बताए। उनले नेपाली सुरक्षा निकायका अधिकृतहरूलाई नै समेत प्रलोभन देखाएर रुस पठाउने गरेको अनुसनधानका क्रममा खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अंगुर जिसीका अनुसार हरिबहादुरले १८ जना व्यक्तिलाई रुस पठाएका छन्। प्रहरीसँगको बयानका क्रममा उनले कोहीलाई नेपालबाट र केहीलाई भारतको बाटो हुँदै रुस पठाएको बताएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलका अनुसार, रुस पठाउनका लागि विभिन्न व्यक्तिहरूले गलत सूचना फैलाएको देखिन्छ। ‘पहिले टिकटक, पछि फेसबुक र अन्य माध्यमबाट विज्ञापन गर्ने गर्थे। जानका लागि ७ लाख जति खर्च हुन्छ, मासिक २ लाख रुपैयाँ कमाइ हुन्छ भनेर प्रचार गरेको देखिन्छ।योग्यताअनुसार तलब राम्रो कमाइ हुने भनेपछि बहालवाला सुरक्षाकर्मी तथा अन्य व्यक्ति पनि प्रलोभनमा पर्ने गरेका थिए। सशस्त्र प्रहरीका २ जना प्रहरी कर्मचारी पनि रुस जानका लागि तयारी गरिरहेको र कागजात बुझाएको प्रहरीले बताएको छ। उनी भन्छन्, ‘यो सुरुवाती विवरण मात्रै हो। गैरकानुनी रूपमा नेपाली युवालाई युद्धग्रस्त ठाउँमा पठाउने गिरोह अन्त्य गर्छौं।’ प्रहरीले निकै कडाइका साथ अनुसन्धान र निगरानी अगाडि बढाएको उनले बताए। सैनिक सेवामा काम गर्नका लागि भारत, बेलायत र प्रहरीका लागि सिंगापुर मात्रै जान नेपालीलाई सरकारको अनुमति छ। अन्य सरकारको अनुमति र स्वीकृत नभएका ठाउँमा सैनिक सेवामा जानु गैरकानुनी छ। डीएसपी अंगुर जिसी भन्छन्, ‘पुगेर निकै दुःख पाएर आएका २ जना प्रहरीको सम्पर्कमा आएका थिए। सिकाइको क्रममा एक जनाले ७ सय राउन्ड फायरिङ गर्नुपर्ने हुँदा भागेर आएका २ जना पूर्वप्रहरीको सूचनाअनुसार प्रहरी यो गिरोहसँग पुगेको हो।’ एसएसपी खत्रीका अनुसार, यसरी प्रलोभन दिएर नेपाली युवालाई झुक्काउने गिरोह काठमाडौंमा धेरै छन्। प्रहरीले निगरानी र सूक्ष्म अनुसन्धान गरिरहेको छ। प्रहरी परिसर काठमाडौंका प्रमुख भुपेन्द्र खत्रीका अनुसार विभिन्न माध्यमबाट प्रकाशित विज्ञापन हेरेर सम्पर्कमा आएका युवाहरूको कागजात एजेन्टले संकलन गरेर ५/१० जनाको समूह बनाएर अनलाइन भिसा प्रक्रिया सुरु हुन्थ्यो। रसिया जान लागेका व्यक्तिहरूको पासपोर्ट जम्मा गरेर एजेन्टहरूले नेपालस्थित रसियन दूतावासमा अनलाइन फर्म भर्ने गरेका थिए। यसका लागि प्रज्वल नामक व्यक्तिको सहभागिता रहेको अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार रुस पुगेका विभिन्न व्यक्तिलाई लिन रसियन नागरिक नै आउनुपर्ने हँुदा यहाँका एजेन्टले त्यहाँका नागरिकसँगको सहकार्यमै यस्तो धन्धा चलाउँदै आएका हुन्। रसियन इमिग्रेसनबाट पास भएर रुस प्रवेश गर्नका लागि रसियन नागरिक लिन आउनुपर्ने त्यहाँको कानुनी बाध्यता रहेको प्रहरीले बताएको छ। कागजात कन्फनम भएर भिसा आइसकेपछि गैरकानुनी बाटो हुँदै नेपाली नागरिक रसिया पुग्ने गर्थे। दूतावासमा कागजात मिलाउनका लागि कन्सटेन्सी सञ्चालक सुजाता दाहालले सहयोग गर्ने प्रहरीको भनाइ छ। दूतावासको नियमअनुसार अनलाइन भिसा अप्लाई गर्दा पासपोर्टको अगाडि पछाडिको प्रतिलिपि र निमन्त्रणा पत्र राख्नुपर्ने हुन्छ। यसका लागि अनुप दनुवारले निमन्त्रण कार्ड बनाउने गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरूले रुसी आर्मीमा भर्ना हुने भन्दै अन्तर्वार्तासमेत लिने गरेका थिए। श्रम कार्यालयबाट सामूहिक रूपमा स्वीकृति लिएर जानुपर्नेमा एजेन्टहरूले भिजिट भिसा, नियन्त्रणा पत्रलगायतको आधारमा पठाउने गरेका थिए। रसियन एजेन्टको सहकार्यमा रुसी सेनामा भर्ना हुने गर्थे। एसएसपी खत्री भन्छन्, ‘रसियन नागरिकको सहयोग बिना नेपाली युवा त्यहाँ जान असम्भव प्रायः छ। यसका लागि हरिबहादुर विकले सहजीकरण गर्ने गरेको अनुसन्धानका क्रममा भेटिएको छ। यसरी गएकामध्ये ११ जना नेपाल फर्किएका छन्।’ यता डीएसपी जिसी भन्छन्, ‘यो गिरोहले अहिलेसम्म कति व्यक्ति रुस पठाए भन्ने आधिकारिक तथ्यांक आएको छैन।’ फर्किएर आएका व्यक्ति प्रहरीको सम्पर्कमा छन्। तर, उनीहरूले जाहेरी दिन नमान्दा मुद्दा चलाउनका लागि प्रहरीलाई केही असहज भएको छ। पीडितहरूलाई प्रहरीको सम्पर्कमा आउनका लागि प्रहरी परिसरको आग्रह छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले युद्धग्रस्त देशमा नजानका लागि आग्रह गरेका छन्।

Like