चीन-अमेरिका सम्बन्ध सुधार्न दुवै देश सहमत
एजेन्सी,
विश्वमा अमेरिकाका राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी चिनफिङ दुई देशका सैन्य निकायबीच सञ्चार सम्बन्ध पुनः सुरु गर्न सहमत भएका छन्। हाल अमेरिका भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी र उनका समकक्षी बाइडेनबीच यस्तो सहमति भएको हो। यो यो सहमतिले दुई देशबिचको तनावपूर्ण सम्बन्धलाई मत्थर पार्ने विश्वास गरिएको छ। भ्रमणमा भएका भेटघाटका क्रममा राष्ट्रपति सीले संयुक्त राज्य अमेरिका र चीनबीचको सम्बन्ध धेरैजसो सहज नभएको तर एकले अर्कातिर पिठ्युँ फर्काएर बस्ने विकल्प पनि नरहेको बताएका छन्। संसारका दुई शक्तिशाली देशका राष्ट्रपति भेट भएर कुरा गर्नु आफैंमा कूटनीतिक उपलब्धि भएको कतिपय विश्लेषकको भनाइ छ। यसै वर्ष एउटा सन्दिग्ध चिनियाँ जासुसी बेलुन अमेरिकी भूभागमा देखिएर आन्ध्र महासागरमा खसेपछि दुई देशबीचको सैन्य सम्बन्ध चिसिएको थियो। त्यस्तै अमेरिकी तल्लो सदनकी तत्कालीन सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले अमेरिकासँगको सैन्य सम्बन्ध विच्छेद गरेको थियो। आगामी केही सातामा विश्व जलवायु सम्मेलन (कोप–२८) हुन लागेको सन्दर्भमा सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने यी दुई देशले जलवायु परिवर्तनका असर सामनाका लागि थप उपाय अपनाउने सहमति पनि गरेका छन्। तर उनीहरूले जीवाश्म इन्धनको प्रयोग रोक्न भने प्रतिबद्धता जनाएका छैनन्। यसैगरी वर्ल्ड रिजोर्सेस इन्स्टिच्युटका डेभिड वाक्सोले मिथेन ग्यास उत्सर्जन न्यूनीकरणबारे भएको सहमतिलाई ‘ठूलो पाइला’ भनेका छन्। ‘चीन विश्वमा सबैभन्दा धेरै मिथेन ग्यास उत्सर्जन गर्ने देश हो र निकट भविष्यमा विश्वव्यापी तापमान वृद्धिको गति कम गर्न यो ग्यास उत्सर्जन कटौती गर्न गम्भीर पहलहरू हुनुपर्छ,’ उनले भने। यी दुई देशले हरितगृह ग्यास मिथेन उत्सर्जनको तीव्रतालाई कम गर्न र सन् २०३० भित्र नवीकरणीय ऊर्जाको प्रयोग तीन गुणा बढाउन विश्वव्यापी प्रयासमा साथ दिन सहकार्य गर्ने वाचा भने गरेका छन्। ‘जलवायु परिवर्तनबाट उत्पन्न असरलाई सम्बाधन गर्ने दिशामा यो महत्वपूर्ण पाइला हो,’ बेलायतको थिंकट्यांक च्याटम हाउसकी फेलो तथा चीन मामिला विशेषज्ञ वर्निस लीले भनिन्। यसैगरी अमेरिका र चीन औषधिको गैरकानुनी ओसारपसार रोक्न पनि सहकार्य गर्न सहमत भएका छन्। विशेषगरी अमेरिकामा गैरकानुनी तरिकाले भइरहेको ‘फेन्टनिल’को आपूर्ति रोक्न रासायनिक कम्पनीहरूको नियन्त्रण गर्न चीन सहमत भएको छ। फेन्टनिलमात्र नभई यो बनाउन आवश्यक पर्ने कच्चा पदार्थको स्रोत पनि चिनियाँ कम्पनी रहेका छन्। दुखाइ कम गर्ने यो औषधिको अत्यधिक प्रयोग (ओभर डोज) का कारण अमेरिकामा मृत्युको संख्या बढेको मानिन्छ। यो लागु औषधका कारण गत वर्ष करिब ७५ हजारजनाको ज्यान गएको थियो। चीनमा रहेर एक दशकसम्म पत्रकारिता गरेका बिबिसीका उत्तर अमेरिका संवाददाता जोन सड्वर्थका अनुसार वाइडेन र सीबीच बुधबारको भेटघाटअघि नै सम्बन्ध सुधारका संकेतहरू देखापरेका थिए। धेरै वर्षपछि पहिलो पटक गत साता दुई पक्षले वाशिङ्टनमा परमाणु अस्त्र भण्डारणबारे छलफल गरेका थिए। दुई राष्ट्रपतिबीच बैठक हुनु र उनीहरूले हात मिलाउनु पनि सकारात्मक संकेत भएको बिबिसीकी उत्तर अमेरिका सम्पादक सारा स्मिथ ठान्छिन्। ‘संसारका सबैभन्दा शक्तिशाली राष्ट्रपतिहरूले एकआपसमा कुरा गर्नु आफैंमा कूटनीतिक उपलब्धि हो। उनीहरूले सम्पर्कमै रहने सहमति गरे भने मात्र पनि सफलता मान्न सकिन्छ,’ स्मिथले भने। सीसँगको भेटमा बाइडेनले एकले अर्कालाई बुफ्न आपसी संवाद आवश्यक रहने बताएका थिए। बिबिसीका अनुसार बुधबार दुई राष्ट्रपतिबीच ताइवानको विषयमा पनि उल्लेख्य छलफल भएको छ। चिनियाँ राष्ट्रपति सीले आफ्ना अमेरिकी समकक्षी वाइडेनलाई ताइवानलाई हतियार नदिन आग्रह गरेका छन्। उनले ताइवानसँग चीनको एकीकरण रोक्न नसकिने पनि बताएको चीनको विदेश मन्त्रालयले जनाएको छ। अमेरिकाले भने ताइवान मामिलामा आफ्नो दृष्टिकोण नबदलिने बताएको एक अमेरिकी अधिकारीले जनाएका छन्।