किसान मनसुन पुनः सक्रिय भएपछि बिलखबन्दमा

Share to:

रासंसा/काठमाण्डौ, आश्विन १६,

मुलुकमा सोमवार कैलारी गाउँपालिका–८, दक्षिण टेढीका भगवान् दास चौधरीलाई बीच धान थ्रेसिङ गर्न भ्याइ न भ्याइ थियो । सिमसिम पानी परेपछि काटेको धान थ्रेसिङ नगरे झनै सखाप हुने डरले जसोतसो थ्रेसिङ गरेको चौधरीले सुनाए । पानीबाट जोगाउन अग्लो ठाउँमा धान ओसार्दै गरेका दक्षिण टेडीकै सिद्धराज कुँवरले भने, ‘खेती गरेर खान पनि आपत छ । कहिले बेला न कुबेलाको मौसमले दुःख दिन्छ । कहिले रोपाईंको बेला पानी नपरेर हैरानी । मल बीउको अभाव त आफ्नो ठाउँमा छँदैछ ।’ मनसुन पुनः सक्रिय भएपछि धान भित्र्याइरहेका र भित्र्याउने तयारीमा जुटेका किसान बिलखवन्दमा परेका छन् ।धान काटिसकेका किसानलाई झन सकस भएको छ, उनीहरु हतार–हतारमा नसुक्दै थे्रसिङ गर्न बाध्य छन् । कोही पानीबाट जोगाउन सैका (एक ठाउँमा राख्ने) बनाउनमा लागेका छन् । कैलारी गाउँपालिका–९, देवीगञ्जका रामबहादुर चौधरी केही दिनयता आकाशतिर नजर लगाउँदै काटेको धान भित्र्याउनमा व्यस्त छन् । एक साताअघि नै एक विघा बढी जमिनको धान काटेको बताउँदै उनले भने, ‘यो साल अलि हल्का प्रजातिको चाँडै पाक्ने धान रोपेको थिएँ । अब पानी पर्दैन लागेको थियो, बढी नै पाकिसकेकाले काट्यौ । तर, फेरि पानी परेर आपत भयो ।’ यी त केही प्रतिनिधि किसानका मात्रै दुःखेसा हुन् । धेरै किसानलाई यो साताको बर्खाले पिरोलेको छ । जारी सूचनामा भनिएको छ, ‘यही मिति २०८० साल असोज महिनाको १५ गते सोमबार देखि १७ गते बुधवारसम्म पानी पर्ने सक्ने प्रवल सम्भावना देखिएकोले सम्पूर्ण धनगढी नगरवासी तथा कृषकहरुलाई सचेत तथा सजग रहन हुन जानकारी गराइन्छ। साथै काटेको धानवाली भित्र्याउन हुन र नकाटेर खेतमै रहेको धानबाली काट्न केही दिन पर्खिन हुन समेत अनुरोध गरिन्छ ।’ यसैबीच, मनसुन सक्रिय भएपछि कैलालीको धनगढी उपमहानगरपालिकाको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रले नगरवासीलाई धान नकाट्न अनुरोध गरेको छ ।जल तथा मौसम विज्ञान विभागले जारी गरेको मनसुनी सूचनालाई उद्धृत गर्दै धनगढी उपमहानगरपालिकाले कृषकहरुलाई सो आग्रह गरेको हो । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै, नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ । त्यसैले बदली छ । अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने बताइएको छ ।

Like