मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
रासंसा/धनुषा, ज्येष्ठ २३,
मुलुकमा मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । बुधबार मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेलगत्तै राति प्रदेश प्रमुख सुमित्रा भण्डारीले बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् । प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘माननीय मुख्यमन्त्री सरोज कुमार यादवज्यूले बुधबार नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्नका लागि प्रस्तुत गर्नु भएको विश्वासको मतको प्रस्ताव बहुमतले पारित नभएकोले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मिति २०८१।०२।२५ गते शुक्रवार विहान १० बजे भित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न माननीय प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीज्यूले आव्हान गर्नुभएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’ प्रदेश प्रमुखको आह्वानअनुसार अब जनमत पार्टीका नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ । त्यसका लागि सत्ता गठबन्धनमा सहमति जुटिसकेको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार संविधानको धारा १६८ को उपधारा २ बमोजिम दलहरुले बहुमत जुटाएर शुक्रबार बिहान १२ बजेभित्र आफ्नो दाबी पेश गर्नुपर्नेछ । सत्ता गठबन्धनमा भएको परिवर्तन र जसपा नेपाल विभाजित बनेपछि मधेसमा नयाँ राजनीतिक समीकरण बनेको हो । सोहीअनुसार जसपा नेपालको नेतृत्व मधेसबाट खोसिएको छ । सत्तामा मधेसमा जसपाले ६ वर्ष नेतृत्व गरेपनि अब भने विपक्षमा पुग्ने परिस्थिति बनेको छ ।