Wednesday, October 21, 2026
Latest:
अन्य थपअर्थतन्त्रदेशप्रदेश-४ [गण्डकी]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

यार्सागुम्बा टिप्ने ठाउँमा अझै हिउँ हटेन

Share to:

रासंसा/गोरखा, ज्येष्ठ १३,

मुलुकमा लेक पूरै हिउँले ढाकेर यार्सागुम्बा टिप्न नपाएपछि दुईसाताअघि लेक पुगेका छेकम्पारका बासिन्दा चिन्तित भएका छन्। यसवर्ष हिउँ ढिला परेको र आधा जेठ बितिसक्दा पनि हिउँ परिरहेकाले यार्सागुम्बा संकलन गर्न नपाएको लेक पुगेर फर्केका छिरिङ लामाले बताए। दुई, अढाइ महिनालाई पुग्ने रासनपानी लिएर गएकाले यार्सागुम्बा टिप्न नपाएपनि गाउँलेहरू उतै पालभित्र बसिरहेका छन्। ‘अब दुईहप्तासम्म हिउँ उठेन र यार्सागुम्बा हिउँभित्रै भइरह्यो भने कुहिनेछ। अनि वर्षदिनमा एकफेर यही यार्सागुम्बा बेचेर पैसाको मुख देख्न पाइन्थ्यो। पैसाको मुख देख्नै नपाइने भयो’, छिरिङ भन्छन्, ‘त्यही भएर गाउँलेहरू चिन्तित छन्।’ ‘हिजो पनि आधा फिट हिउँ प¥यो। गाउँलेहरू पालभित्रबाट निस्कन सकेका छैनन्। मचाहिँ घर छोडेको धेरै भयो एकफेर घर हेरेर आउँछु भनेर गाउँमा आएको छु’, छिरिङ भन्छन्, ‘लेक गएको दुई हप्ता भयो, अहिलेसम्म जम्मा ५०–६० वटा जम्मा पारेको छु। कुनै दिनमा आठ दसवटा फेला पर्छ, कुनै दिन रित्तै फर्कनुपर्छ।’ यार्सागुम्बा संकलन गर्ने भूभाग सबैतिर हिउँले ढाकेको उनले बताए। चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा गाउँको घरमा ताल्चा लगाएर यार्सागुम्बा संकलन गर्न छेके तथा बाजु लेक गएका छन्। तर, सो गाउँपालिकाको वडा नं. १ सामागाउँका बासिन्दा भने अझै पनि यार्सागुम्बा संकलन गर्न गएका छैनन्। सामागाउँमा यार्सागुम्बाको सिजन अझै नआइसकेको स्थानीय मिङ्मा छिरिङको भनाइ छ। यस भेगको मुख्य आम्दानीको स्रोत नै यार्सागुम्बा हो। त्यसैले सिजन लागेपछि घरमा ढोका थुनेर सबै घरपरिबार यार्सागुम्बा संकलन गर्न लेकतिर जाने गर्छन्।

Like