अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

जनतासँगै राष्ट्रपतिको सवारी

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ६,

मुलुकमा राष्ट्रपतिको सवारीका कारण जनताले सास्ती भोग्दै आएको खबर नौलो होइन। तर पछिल्लो समय सवारीका सुखद तस्बिर देखापर्न थालेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन जानेक्रममा सडकमा सर्वसाधारण जनतालाई यात्रामा रोक लगाइएन। राष्ट्रपतिसँगै जनताका सवारीसाधन पनि चले। यसले धेरैको मन जितेको छ। संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल शीतलनिवासबाट नयाँ बानेश्वस्थित संसद् भवनमा पुगेका थिए। यसअघिका राष्ट्रपतिका सवारीभन्दा शुक्रबार पौडेलको सवारी निकै सहज र चुस्त देखियो। ‘पहिलोपटक राष्ट्रपति जनतासँगै अनि जनता राष्ट्रपतिसँगै हिँडेको देखियो,’ सामाजिक सञ्जालमा राजेश फुयाँल लेख्छन्, ‘यो सवारीले राष्ट्रप्रमुखलाई जनतासँग जोड्ने काम गरेको छ ।’ जनतालाई रोकेर होइन, सँगै लिएर जाँदा सही गन्तव्यमा पुगिने पनि उनले लेखेका छन्। गणतन्त्रका ‘सेरेमोनियल’ राष्ट्रपतिको सवारीका समयमा कम्तीमा सडकमा लामो समय रोकिन नपरोस् भन्ने अपेक्षा सर्वसाधारण जनताको थियो, छ। महत्वपूर्ण कामका लागि हिँडेको समयमा सवारीका नाममा घन्टौं सडकमा रोकिनुपरेको विगत हामीसँग छ। सवारीका नाममा सास्ती खेप्दै आएका जनताले यसअघिका राष्ट्रपतिको सवारीका क्रममा सडकमा प्रदर्शनसमेत गरेका थिए। जनताको भावना बुझेरै होला नयाँ राष्ट्रपति पौडेलले आफ्नो सवारीका क्रममा सडकमा सर्वसाधारणलाई हिँड्न अवरोध नहुने बताएका थिए। ‘अब त्यस्तो जाम हुँदैन’, त्यतिबेला पत्रकारको प्रश्नमा उनले भनेका थिए, ‘गणतन्त्रको राष्ट्रपति र राजतन्त्रको राष्ट्राध्यक्षमा कस्तो फरक हुन्छ त्यो म देखाउँछु।’ पहिलोपटक राष्ट्रपति जनतासँगै अनि जनता राष्ट्रपतिसँगै सडकमा हिँडेको देखियो। यसले राष्ट्रप्रमुखलाई जनतासँग जोड्ने काम गरेको छ। जनतालाई रोकेर होइनन, सँगै लिएर अघि बढ्नुपर्छ। पौडेलले त्यसो भने पनि उनको पहिलो सवारीमा पुरानै तामझाम दोहोरिएको थियो। त्यसको सर्वसाधारणले विरोध गरेका थिए। त्यसलगत्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पत्र लेख्दै पौडेललाई जनताले राजा र राष्ट्रपतिभन्दा पनि नागरिक राष्ट्रध्यक्षका रूपमा हेर्न चाहेको बताएका थिए। विशिष्ट व्यक्तिलाई सवारीका क्रममा सुरक्षा दिने नाममा सडक खाली गराएर नागरिकलाई घन्टौंसम्म हिँडडुल गर्न नदिने तामझामपूर्ण शैलीले संस्था (राष्ट्रपति) प्रति नै नकारात्मक धारणा विकास हुँदै गएको थापाले बताएका थिए। विशिष्ट व्यक्तिलाई सवारीका क्रममा सुरक्षा दिने नाममा सडक खाली गराएर नागरिकलाई घन्टौंसम्म हिँडडुल गर्न नदिने तामझामपूर्ण शैलीले संस्था (राष्ट्रपति) प्रति नै नकारात्मक धारणा विकास हुँदै गएको थापाले बताएका थिए। ‘तपाईंले यस्तो गर्दिनँ भन्नुभएको छ, सकारात्मक छ, त्यसैले राष्ट्राध्यक्षका नाममा विगतमा जस्तो तडकभडक गर्ने होइन, सरल र सादगी जीवनशैली, अनुशरण गर्नुस्’, थापाले भनेका थिए, ‘नागरिक राष्ट्राध्यक्षका रूपमा आफूलाई राख्नुहुनेछ भन्ने अपेक्षा छ। ताकि आम नागरिकले राष्ट्रपति हिँडडुल गर्दा तथा अन्य व्यवहार गर्दा आम नागरिकको जस्तै सामान्य भएको महसुस गर्न सकून्,देख्न सकून्।’ कांग्रेस महामन्त्री थापाले भनेजस्तै राष्ट्रपतिको शुक्रबारको सवारीले आम नागरिक प्रशन्न बने। सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको सवारीका क्रममा सडकमा देखिएका दृष्यसम्बन्धी तस्बिर निकै भाइरल बने। ‘बल्ल सही बाटोमा राष्ट्रप्रमुख हिँडेजस्तो महसुस भयो,’ प्रदीप अर्याल सामाजिक सञ्जालमा लेख्छन्, ‘कहिलेकाहीं सामान्य कुराले पनि विशिष्ट खुसी दिन्छ। गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले राष्ट्रपति पौडेलको इच्छाअनुसार नै शुक्रबार सडकमा सवारीसाधन आवागमनका लागि सहज व्यवस्था मिलाइएको बताए। ‘नागरिकलाई अप्ठेरो नपर्नेगरी यात्रा गराउन उहाँले भन्नुभएको थियो,’ बस्नेतले भने, ‘उहाँको सुरक्षालाई पनि ध्यानमा राख्दै हामीले सहज रूपमा यात्रा गरायौं।’

Like