माओवादी केन्द्रको दुई महिने अभियानमा नेताहरु नै गएनन् गाउँ
रासंसा/काठमाण्डौ, फाल्गुण २३,
मुलुकमा नेकपा माओवादी केन्द्रको स्थायी समिति र केन्द्रीय समिति बैठकले फागुन र चैत महिना पार्टी संगठन तथा जनसम्बन्ध सुदृढ अभियान चलाउने निर्णय गरेको थियो । पार्टीलाई व्यवस्थित र सृदृढ गर्न दुई महिने अभियान चलाउने भनिए पनि कार्यान्वयन तह प्रभावकारी भएन । जनताको घरमा पुगेर उनीहरुको कुरा सुनेर पार्टी निर्माणमा जुट्ने नेताहरुले बताएका थिए । तर अहिले अधिकांश पार्टी पदाधिकारी र केन्द्रीय सदस्य काठमाडौँ र जिल्ला सदरमुकाममै केन्द्रित छन् । पार्टीका भेला, प्रशिक्षण अभियानमा नेताहरु कम देखिएका छन् । अभियान अन्तर्गत पार्टीका पदाधिकारी सहित केन्द्रीय सदस्य जनताको घरमा पुगेर पार्टी निर्माणमा लाग्ने बताइएको थियो । पार्टी र सरकारलाई जोडेर जनताको समस्या समाधानमा केन्द्रित हुने भनिए पनि नेताहरु जनतासम्म पुग्न चासो देखाएका छैनन् । पार्टीमा देखिएका कमीकमजोरी सहित सुझाव संकलन गरेर केन्द्रीय समितिमा छलफल गर्ने र कार्यान्वयन गर्ने निर्णय भएको थियो । तर पार्टीका नेताहरु अभियानमा प्रभावकारी रुपले उपस्थित हुन नसकेपछि निष्प्रभावी हुने आलकन गरिएको छ । पार्टीले ९ वटा अभियानका उद्देश्य सहित कार्यक्रमको मोडालिटी समेत तयार गरेर सर्कुलर गरेको थियो । तर, पार्टी केन्द्रले तयार गरेको मोडालिटी अनुसार अधिकांश क्षेत्रमा कार्यक्रम हुन सकेको छैन । पार्टीले अभियान चलाउने घोषणा गरे पनि त्यस प्रकारको गतिविधि र उत्साह पार्टीमा खासै देखिएको छैन । अहिलेसम्म माओवादीका सात प्रदेशसहित तीन गैरभौगोलिक गरेर दश प्रदेशको बैठक सकिएको छ । अब हुने जिल्ला, स्थानीय तह, वडा र सेल कमिटीको अभियान प्रदेश कमिटीले नेतृत्व गर्ने भन्दै नेताहरु मोर्चा छोडेर फर्किसकेका छन् । तर, पार्टी केन्द्रीय सदस्य विशाल खड्काले पार्टीको दुई महिने अभियान जारी रहेको बताए । ‘अहिले पार्टीको अभियान जारी छ । हामी जनताको बिचमै पुगेर कार्यक्रम गरिराखेका छौं,’ खड्काले भने, ‘पार्टीका बैठक, भेला, प्रशिक्षण र अरु रचनात्मक गतिविधि भइरहेका छन् । जनताको गुनासो सुन्ने र कार्यान्वयन गर्दैछौं ।’ पार्टीलाई जनतासँग जोड्न दोलखामा अक्षयकोष समेत स्थापना गरेको उनले बताए । आ–आफ्नो प्रदेश र जिल्लाको अनुकूलतामा अभियान जारी भएकाले प्रभावकारी नभएको भन्न नमिल्ने खड्काले जिकिर गरे । पार्टीले दुई महिने अभियान भने पनि कतिपय जिल्लामा वैशाखसम्मको कार्यक्रम बनाएको खड्काले बताए । यस्तै माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले पार्टीको प्रदेशको अभियान सकिए पनि जिल्लामा जारी रहेको बताए । ‘हामीले अभियान नै नचलाएको भन्ने होइन । अभियानको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा बैठकहरु चलिराखेका छन्,’ नेम्वाङले भने, ‘बैठक नबसेर सिधै अभियानमा जाने भन्ने कुरा भएन । अहिले तयारीकै क्रममा भएकाले बैठक सकिएपछि वैशाख १५ गतेसम्मको कार्यक्रम बनाएका छौं ।’ अर्का केन्द्रीय सदस्य रामदीप आचार्यले प्रदेशका भेला, प्रशिक्षण र कार्यक्रम सकिएको बताए । अब प्रदेशका नेताहरुको सक्रियतामा जिल्ला, पालिका, वडा र सेल कमिटीका अभियानहरु चल्ने उनको भनाइ छ । कोशी प्रदेशमा माओवादीले अभियान चलाएर पहिलो पार्टी बनाउने उद्देश्यका साथ गतिविधि बढाएको नेम्वाङले बताए । अभियानले संगठनका नेताहरुलाई सेल कमिटीतिर र सेल कमिटीलाई जनतातिर फर्काउने उनले बताए ।