राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता आजदेखि लागू
रासंसा/काठमाण्डौ, फाल्गुण १७,
मुलुकमा निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आज देखि निर्वाचन आचारसंहिता लागु भएको छ। आयोगले आज देखि चैत ५ गतेसम्म कायम रहने गरी आचारसंहिता जारी गरेको छ। स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई यही फागुन १३ गते उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता भइसकेको छ। मंगलबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ। राष्ट्रपतिको लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङ मैदानमा छन्। आयोगको २०७९ माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। संवैधानिक व्यवस्थाअनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुनेछ। उक्त निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको हो। उक्त आचारसंहिता २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड-७२, सङ्ख्या ३२ मा प्रकाशन भइसकेको छ। गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि पनि सोही आचारसंहिता लागू भएको थियो। आयोगको निर्णयबमोजिम उक्त आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी एवं सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्था तथा त्यसका कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्ठन, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लागु हुनेछ।
