अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

पोखरा–मुग्लिन राजमार्ग बिस्तारमा ढिला सुस्ती, दुईवर्षमा जम्मा १० प्रतिशत काम

Share to:

रासंसा/तनहुँ, माघ २६,

मुलुकमा पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरनीसम्मको सडक अहिले बिस्तार भईरहेको छ। दुुईखण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँढेर यो सडक बिस्तार भईरहेको छ। निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार तीनवर्षभित्र राजमार्ग बिस्तार भईसक्नुपर्ने हुन्छ। पछिल्लो समय पोखरामा हवाईजहाज दुर्घटना भएपछि पर्यटन क्षेत्र आक्रान्त छ। हवाई यात्रा जोखिमपूर्ण रहेको भन्दै गुनासो सुनिँदा पर्यटन क्षेत्रमा मार परेको व्यवसायीले गुनासो सुनाईरहेका छन्। हवाईयात्रामा मात्र व्यवसायीको गुनासो नभई स्थलमार्गप्रति पनि उत्तिकै असन्तोष छ। पोखरा–आँबुखैरेनी सडक बिस्तारले गति लिन नसकेको र भताभुंग तरिकाले सबैतिर भत्काउँदा यात्रा सकसपूर्ण बनेको र त्यसले गर्दा पोखरामा आउने पर्यटक रोकिएको भन्ने गुनासो पर्यटन व्यवसायीले गरिरहेका छन्। पूर्वि खण्डका लागि २०२१ अप्रिलमा र पश्चिम खण्डका लागि २०२१ अगष्टमा निर्माण सम्झौता भएको थियो। सम्झौताको झन्डै दुईवर्ष बितिसकेपनि पूर्वि खण्डको काम १४ र पश्चिम खण्डको जम्मा ४ प्रतिशत मात्र काम सकिएको छ। सम्झौता अनुसार सन् २०२४ मध्यसम्म लगभग काम सकिनुपर्ने हुन्छ। सम्झौता अनुसार तीनवर्षमा सकिनुपर्ने भएपनि झन्डै दुइवर्ष पुरा हुनैलाग्दा सडक बिस्तारको काम अनुपातमा १० प्रतिशत मात्र सकिएको छ। व्यवसायीको गुनासो पाहुना आएनन भन्नेमा मात्र सिमित छैन, सडक बिस्तारको गति देख्दा बेलैमा काम सकिनेमा पनि आशंका छ। अहिलेसम्म जम्मा अनुपातमा १० प्रतिशत मात्र काम सकिँदा तोकिएको समयमा बिस्तार सकिनेमा आशंका गर्न सकिने व्यवसायी बताउँछन्। राजमार्ग बिस्तारले गति लिन नसकेको गुनासो उनीहरुको छ। व्यवसायी भन्छन, ‘दुइवर्षको अवधिमा जम्मा १० प्रतिशत बिस्तार भएको छ। अबको एकवर्षमा यही गतिमा राजमार्ग बिस्तारको काम नसकिने पक्का छ।’ राजमार्ग बिस्तार सुरु हुनुअघि पोखरा–मुग्लिनको ९० किलोमिटर खण्ड पार गर्न बढीमा तीनघण्टा लाग्थ्यो। निजी गाडीमा त अढाई घण्टामै पार भइन्थ्यो। पोखरा–काठमाडांै (२सय किलोमिटर) सडक पाँचघण्टामै पूरा हुन्थ्यो, तर, अहिले पोखरा–मुग्लिन खण्ड नै पार गर्न कम्तिमा ५–६ घण्टा र काठमाडांै पुग्न थोरैमा पनि १०–१२ घण्टा लाग्ने उनले बताए। पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन, ‘राजमार्गको खण्ड–खण्ड बाँढेर काम गरेको भए केही सहज हुन्थ्यो, तर, भएजतिको सबै सडक भत्काएर भताभुंग पारिएको छ। त्यसले यात्रा सहज हुन सकेको छैन।’ राजमार्ग बिस्तारले जुन रुपमा गति लिनुपर्ने हो, त्यो नलिएको उनले बताए। ‘भत्काउने कामले मात्र गति लियो, बनाउने कामले लिएन। त्यसले गर्दा आवागमन पनि सकसपूर्ण छ,’ उनले भने, ‘पहिले ३ घण्टामा पोखरादेखि सहजै मुग्लिन पुग्न सकिन्थ्यो, तर, अहिले ६ घण्टासम्म लाग्छ। कहाँ र कतिबेर जाममा फँसिने भन्ने यकिन छैन। त्यसले गर्दा पनि अत्यावश्यक कामले बाहेक जो कोही यात्रा गर्न तयार छैनन्।’ एशियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुईलेन सडकलाई विस्तार गरी चारलेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो। १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार हुँदैछ। आयोजनाको पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीले राजमार्गको बिस्तारको काम धमाधम भइरहेको बताए। आँबुखैरेनी–मुग्लिन खण्ड भने कुन रुपमा बिस्तार गर्ने भन्ने अझै यकिन भएको छैन। ‘अहिले धमाधम काम भइरहेको छ। तनहुँ खण्डमा सडक बिस्तारले बढी गति लिएको छ,’ सुवेदीले भने। सुवेदीका अनुसार पूर्वि खण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ। ‘अहिले राजमार्ग बिस्तारको काम भईरहेको छ। तनहुँ खण्डमा त झनै तिब्र रुपमा काम भएको छ,’ उनले भने, ‘पूर्वि खण्डको १४ प्रतिशत काम सकिएको छ। पश्चिमको भने ४ प्रतिशत मात्र काम भएको छ। अनुपातमा १० प्रतिशतजति काम भएको छ।’ ‘तीनवर्षमा काम सक्नेगरि टेण्डर आव्हान भएको हो,’ उनले भने, ‘अब डेढवर्षभित्र काम सक्ने गरि गति दिनुपर्छ। तीनवर्षभित्र काम सक्नुपर्ने दवावमा हामी छौ।’ सडक बिस्तारमा केही बाधा उत्पन्न हुँदा पनि समस्या रहेको उनले बताए । कतिपय ठाउँमा बिजुलीका पोल सार्न नसक्दा काममा ढिलाई भएको छ। सुवेदीका अनुसार आँबुखैरेनी–जामुने खण्डमा चारवटा ठुला र १४ वटा साना पुल निर्माण हुनेछन। यही बजेटभित्र रहेर पुलको आकार पनि बिस्तार हुने उनले बताए। ती पुल पनि सडकको आकारजत्तिकै फराकिला हुनेछन्। ‘सडक मात्र फराकिलो बनाएर हुँदैन, पुल पनि बनाउनुपर्छ। त्यसैले सबैखण्ड पुरा हुनेछ,’ उनले भने। पूर्वि खण्ड बिस्तारका लागि चाइना कम्यूनिकेसन कन्स्ट्रक्सन कम्पनिले ठेक्का पाएको छ। पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनि अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनिले जिम्मा लिएको छ। उनका अनुसार यो राजमार्गको बजार क्षेत्रमा छ लेनको फराकिलो सडक हुनेछ। बजार खण्ड ४१ देखि ४५ मिटर फराकिलो हुनेछ भने अरु ठाउँ चारलेनको हुनेछ। त्यो खण्ड २१ देखि २२ मिटरसम्मको फराकिलो हुनेछ। दायाँबायाँ नाली र बीचमा तीनमिटरको फराकिलो डिभाइरसम्म पनि यसैमा बनाइने सुवेदीले जानकारी दिए। डिभाइडरलाई सौन्दर्यकरण पनि गरिनेछ। पश्चिम खण्डमा पनि चारवटा ठुला र आठवटा अरु साना पुल पर्नेछन। बिजयपुर, कोत्रे, कुम्ले र म्याग्देका पुल ठुला आकारका छन् । अरु साना पुल छन। उनका अनुसार पोखरा–आँबुखैरेनी खण्डमा पर्ने ठुला आकारका दुइवटा पुल छन। पोखरामा सेतीनदीमाथि र दमौलीमा मादीनदीमाथिको पुल ठुला आकारका पुल हुन्। यी पुल भने यो आयोजनाभित्र पर्दैनन्। मुख्यमन्त्री अधिकारीले ठेकेदारले सम्झौता अनुसार काम नगर्दा स्थलमार्ग भएर हिडडुल गर्ने यात्रुले दुख पाएको र त्योसँगै पर्यटनमा पनि प्रभाव परेको बताए। ठेकेदारले ५–५ किलोमिटरको दरले सडक बनाउने र त्योसँगै समानान्तर रुपमा सवारी गुड्न मिल्नेगरि ‘एक्सेसमार्ग’ पनि निर्माण गर्ने सम्झौता भएपनि त्यो पालना नगरेको उनले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आइसकेको अवस्थामा पोखरातर्फबाट काम सुरु गर्नुपर्नेमा ठेकेदारले अटेर गरेको मुख्यमन्त्री अधिकारीको भनाइ थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पनि राजमार्ग बिस्तारले गति नलिएको भन्दै चिन्तित छन्। पर्यटन व्यवसायीसँगको छलफलमा मुख्यमन्त्री अधिकारीले राजमार्ग बिस्तार भइरहेपनि तोकिएकै समयमा गन्तव्यमा पुग्न सकिने गरि ‘एक्सेस रोड’ बिस्तार गर्नुपर्ने बताए। उनका अनुसार सबैखण्ड भत्काउँदा अहिले यात्रा सकसपूर्ण बनेको छ । ‘एकपटकमा पाँचकिलोमिटरको काम सकेर थप पाँचकिलोमिटरका लागि काम सुरु गर्नुपर्ने हो, तर, यहाँ सबैखण्ड भत्काएर भताभुंग पारिएको छ,’ अधिकारीले भने। ‘आवश्यक परे ठेक्का तोडेर नयाँ ठेकेदार छनोट गर्नुपर्छ भन्ने पक्षमा म छु,’ उनले भने, ‘सम्झौता अनुसारको काम हुनु प¥यो। मैले बारम्बार ठेकेदारका प्रतिनिधिलाई काममा तिब्रता दिन भनेको छु। अटेर गरे फरक निर्णय पनि गर्नुपर्ने हुनसक्छ। पोखरातिरबाट बिस्तार सुरु भएको भए विमानस्थल संचालनमा आइसक्दा त्यहाँसम्म पुग्ने सडक व्यवस्थित भइसक्ने उनले बताए। अहिले गण्डकी प्रदेशलाई राजधानी र तराई जोड्ने पृथ्वी राजमार्ग मुख्य हो। यो राजमार्ग लामो समयदेखि बिस्तार भएको थिएन। पछिल्ला समय राजमार्ग झन्डै जिर्ण भएको थियो। राजमार्गका ठाउँठाउँमा खाडल पर्दा यात्रा झन्झटिलो र समय बढी लाग्ने गरेको थियो।

Like