ओलीलाई खगेन्द्र अधिकारीले टक्कर देलान् ?
रासंसा/काठमाण्डौ, कार्तिक १२,
मुलुकमा प्रतिनिधिसभा सदस्यका लागि दलका शीर्ष नेताहरूले प्रतिस्पर्धा गरिरहेका निर्वाचन क्षेत्र निकै चर्चामा छन्। प्रतिनिधिसभा सदस्यका लागि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली उम्मेदवार रहेको झापा निर्वाचन क्षेत्र नम्बर ५ अहिले विशेष चर्चामा छ। अघिल्लो निर्वाचनभन्दा यसपटक एमाले र ओलीका लागि अलिक फरक अवस्था छ। यसैकारण झापा ५ अहिले विशेष चर्चामा रहेको हो। तर पनि ओलीले निर्वाचनपछि एमाले पहिलो पार्टी बन्ने र सरकार पनि बनाउने भन्दै आक्रामक प्रचारप्रसारमा छन्। ‘झापामा मात्र होइन, एमाले देशव्यापी रूपमा आफ्नो अभियानमा दृढ छ,’ एमाले झापा अध्यक्ष दीपक कार्कीले भने, ‘सुखी नेपाली समृद्ध नेपालको मूल अजेन्डासहित निर्वाचनमा होमिएको एमालेले झापामा मात्र नभएर मुलुकका अधिकांश क्षेत्रमा विजय हासिल गरी ओलीको नेतृत्वमा सरकार बनाउनेछ।’ एमालेमा वर्षौंदेखि क्रियाशील र ओलीका समकालीन केही नेता अहिले पार्टीबाहिर छन्। एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा छ। अघिल्लो निर्वाचनमा एमालेसँग गठबन्धन गरेको नेकपा माओवादी पनि अहिले सत्ता गठबन्धनमा छ। नेकपा एसका नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालले देशव्यापी रूपमै एमाले र ओलीविरुद्ध भाषण गर्दै हिँडेका छन्। राजनीतिक समीकरण बदलिएको र पार्टी पनि टुक्रिएको अवस्थामा हुन लागेको यो निर्वाचन एमाले र ओलीका लागि झापामा मात्र होइन, देशभरि नै चुनौतीपूर्ण देखिन्छ। ओलीले देशव्यापी रूपमा पार्टीको अजेन्डा पु र्याउनेभन्दा पनि आफूमाथि लागेका आरोपहरूको प्रतिरक्षा गर्नुपर्ने अवस्था छ। २०७४ सालको निर्वाचनमा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एउटै चुनावी सभामा सहभागी भएर मत मागेका थिए। त्यतिबेला एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन गरेका थिए। एमाले माओवादी केन्द्रसँग सहकार्य गरी प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ८० सिट जित्न सफल भएको थियो। तर अहिले परिस्थिति निकै बदलिएको छ। ओली झापा मात्र होइन, देशभर आफ्नो पकड कसरी कायम राख्ने भन्ने चिन्तामा छन्। ओलीले २०४८ सालदेखि निरन्तर झापाबाट चुनाव लड्दै आएका छन्। यसपटक कांग्रेस–माओवादीसहितको पाँचदलीय गठबन्धनसँग ओलीले चुनावी प्रतिस्पर्धा गर्दैछन्। २०४८, २०५१, २०५६ सालमा लगातार झापाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओली २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा माओवादीका उम्मेदवारसँग पराजित भएका थिए। त्यसबेला एमालेका तीन शीर्ष नेता माधवकुमार नेपाल, झलनाथ खनाल र ओलीमध्ये खनाल मात्र निर्वाचित भएका थिए। ओली २०७० सालमा संविधानसभा सदस्यका लागि भएको दोस्रो निर्वाचन र २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाबाट निर्वाचित भए। एमाले स्थायी कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। यसका लागि ओलीले आफ्नो निर्वाचन क्षेत्रमा मात्र जितेर पुग्दैन, देशभरबाट बहुमत सिट जित्नुपर्छ तर अवस्था सोचेजस्तो सहज छैन। २०७४ सालमा एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्र अहिले कांग्रेस नेतृत्वको सत्ता र चुनावी गठबन्धनमा छ। ओलीको निर्वाचन क्षेत्रमा एमालेको बलियो संगठन छ। सुरुदेखि नै झापामा एमालेको संगठन बलियो हो। संगठन बलियो भए पनि झापामा एमालेले राप्रपासँग तालमेल गरेको छ। यसपटक पनि उसले राप्रपासँग तालमेल गरेको छ। एमालेभित्रको आन्तरिक किचलो गत स्थानीय तहको चुनावमा देखिएपछि राप्रपासँगको तालमेललाई मलजल भएको थियो। पार्टी विभाजनको केही असर देखिए पनि अन्तर्घातका कारण एमाले स्थानीय तह निर्वाचनमा कमजोर देखियो। त्यसले संगठनभित्र दरार उत्पन्न भएको छ। अहिले ओली सतर्कतापूर्वक निर्वाचन गतिविधिमा सहभागी भइरहेका छन्। झापा ५ मा सत्ता गठबन्धनले कांग्रेसका खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ। अधिकारी अघिल्लो निर्वाचनमा ओलीसँग पराजित भएकाल थिए। झापा ५ मा २९ वटा वडा छन्। ओलीको निर्वाचन क्षेत्रमा गौरादह नगरपालिकाका १, २, ३, ४, ५, ६, ७ र ८ वडा, गौरीगन्ज गाउँपालिकाका ३, ४, ५ र ६ वडा, दमक नगरपालिकाका सबै वडा र कमल गाउँपालिकाका सबै वडा पर्छन्। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले १८ वटा वडामा प्यानलै जितेको छ। यसले स्वतः एमाले बलियो रहेको संकेत गर्छ। गौरीगन्ज गाउँपालिकामा अध्यक्षसहित दुईवटा वडामा कांग्रेस, उपाध्यक्षसहित तीनवटा वडामा एमाले र एउटा वडामा माओवादीले जितेको छ। कमल गाउँपालिकामा कांग्रेसले अध्यक्षसहित एउटा वडा र एमालेले उपाध्यक्षसहित अन्य पाँचवटा वडा जितेको छ। २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चुनावमा माओवादी केन्द्रसँग गठबन्धन गरेका ओली ५७ हजार १ सय ३९ मतसहित विजयी भएका थिए। ओलीका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए। ओलीले झापाका चुनावी कार्यक्रमलाई तीव्रता दिएका छन्। उनको झापा–काठमाडौं यात्रा पनि बाक्लिएको छ। एमालेको बलियो संगठन भएको झापा ५ बाट सधैं एउटै अनुहार निर्वाचित भएकाले अहिले मतदाताको मत बदलिन सक्ने सम्भावना पनि छ। तर ओली आफू राष्ट्रिय नेता भएका कारण जित हुनेमा ढुक्क देखिन्छन्। स्थानीय तहमा झापा ५ मा एमालेले प्राप्त गरेको मतले पनि ओलीको अवस्था राम्रो देखाउँछ। तर ओलीको क्षेत्रमा पर्ने दमक नगरपालिकाको मेयर भने सत्ता गठबन्धनसँगको सहकार्यमा राप्रपाले जितेको छ। झापा अध्यक्ष कार्की जिल्लामा एमाले कमजोर नभएको दाबी मात्र गर्दैनन्, ओलीलाई पार्टीभन्दा बाहिरबाट पनि प्रशस्त मत आउने बताउँछन्। उनका अनुसार अहिलेको अवस्थामा मुलुकमा ओलीको विकल्प छैन। स्थानीय तह निर्वाचनमा कमल गाउँपालिकाका सातवटा वडामध्ये चारमा एमालेले जितेको छ। कांग्रेस, माओवादी र नेकपा एसले एकएकवटा वडामा जितेका छन्। एमालेका वडाध्यक्षका उम्मेदवारले पाएको कुल मत ९ हजार ६५३ छ। कमल गाउँपालिकामा कांग्रेसको ४ हजार ५८१, माओवादी केन्द्रका २ हजार ८३० र नेकपा एसको १ हजार ८६० मत छ। वडाध्यक्षले पाएको मतका आधारमा कमलमा पनि एमाले ३८२ मतले अगाडि छ। गौरादह नगरपालिकामा एमालेले अध्यक्ष–उपाध्यक्षसहित ६ वटा वडा जितेको छ। दमक नगरपालिकामा मेयर राप्रपा र उपमेयर कांग्रेसले जितेको छ। यो नगरपालिकामा एमालेले सातवटा वडा, कांग्रेसले दुई र राप्रपाले एउटा वडा जितेको छ। स्थानीय तह निर्वाचनमा वडागत मतका आधारमा हेर्दा झापा ५ मा एमाले ४१ हजार ६ सय १९, कांग्रेस २२ हजार २२, माओवादी १० हजार ७ सय ८८, राप्रपा ८ हजार ३ सय ५३ र नेकपा एसको १ हजार ९ सय ८८ मत छ। त्यहाँ एमाले–राप्रपा गठबन्धन बनेकाले राप्रपाको पनि मत थपिँदा ओलीको पक्षमा ४९ हजार ९ सय ७० भोट खस्ने देखिन्छ। त्यस्तै कांग्रेस, माओवादीसहितको सत्ता गठबन्धनको पक्षमा ३६ हजार मत देखिन्छ। स्थानीय तह निर्वाचनमा वडा तहकै अवस्था हेर्ने हो भने पनि एमाले स्पष्ट बहुमतमा छ। दमकका १० वटा वडामध्ये सातमा एमाले, दुईमा कांग्रेस र एउटा राप्रपाले जितेको छ। त्यहाँ एमालेका १० वटै वडाध्यक्षका उम्मेदवारले पाएको मत १८ हजार २ सय ६१ छ। त्यस्तै एमालेविरुद्ध गठबन्धन गरी चुनाव लडेको गठबन्धनका १० वटै वडाध्यक्षले पाएको कुल मत १५ हजार १ सय ४६ छ। गौरादह नगरपालिकाका आठवटा वडामध्ये एमालेले चार, कांग्रेसले दुई र माओवादीले एउटामा जितेको छ। एमालेले गौरादहका आठवटै वडामा उम्मेदवारी दिँदा गठबन्धनबाट कांग्रेसले ६ र माओवादी केन्द्रले दुईवटा वडामा उम्मेदवारी दिएका थिए। एमालेका आठवटै वडाध्यक्षका उम्मेदवारले पाएको कुल मत १० हजार ६६७ छ। त्यस्तै कांग्रेसको ८ हजार ४२१ र माओवादी केन्द्रको १ हजार ७८६ मत छ। त्यहाँ गठबन्धनको कुल मत १० हजार २०७ छ। यस आधारमा एमाले ४६० मतले अगाडि छ। झापा ५ मा पर्ने गौरीगन्ज गाउँपालिकाका चारवटा वडामध्ये तीनवटामा एमालेले र एउटामा कांग्रेसले जितेको छ। त्यहाँ कांग्रेस र माओवादीले बेग्लाबेग्लै उम्मेदवारी दिएका थिए। माओवादीले चारवटै वडामा उम्मेदवारी दिए पनि एउटा पनि जितेन। एमालेका चारवटै वडाध्यक्षले पाएको कुल मत २ हजार ५४६ छ। कांग्रेसको २ हजार ३७ र माओवादीको १५ हजार ११ मत छ। झापा ३ मा राजेन्द्र लिङ्देनलाई समर्थन गरेको एमालेले क्षेत्र नं. ५ मा राप्रपाबाट ओलीका लागि सहयोग लिएको थियो। अहिले पनि राप्रपा अध्यक्ष लिङ्देनले झापा ५ मा एमालेलाई मत दिने बताइसकेका छन्। झापा ३ मा एमालेबाट बागी उठेका जिल्ला कमिटी सदस्यलाई पार्टीबाट निष्कासन गरिएको छ। यो कारबाही लिङ्देनलाई जिताउन गरिएको हो। झापाको दमकलगायतका स्थानमा राप्रपाको बलियो उपस्थिति छ। २०७४ सालको चुनावमा पनि एमालेले झापामा राप्रपासँग तालमेल गरेको थियो। झापा ३ एमालेले राप्रपालाई छाड्दै आएको छ। अहिले पनि एमालेले झापा ३ मा राप्रपालाई सहयोग गर्दैछ। ओलीले झापा ५ मा असुरक्षित महसुस गरेपछि क्षेत्र नं. ३ मा राप्रपालाई सहयोग गरेर आफू सुरक्षित हुन खोजेका छन्। अघिल्लो पटक माओवादी केन्द्रसँग गठबन्धन गर्दा पनि असुरक्षित महसुस गरेका ओलीले राप्रपासँग सहकार्य गरेका थिए। लेखक युग पाठकले झापा ५ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएर ओलीलाई चुनौती दिएको प्रचारप्रसार गरे पनि उनी निकै कमजोर उम्मेदवार देखिन्छन्। झापाका स्थायी बासिन्दासमेत नभएका उनी ओलीकै क्षेत्रमा पुग्नु भनेको आफूलाई अखबारी चर्चामा ल्याउन मात्र हो। कांग्रेसले झापा ५ मा खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ। उनी अघिल्लो पटक पनि कांग्रेसबाट उम्मेदवार थिए। अधिकारीभन्दा अघि कांग्रेसका सुरेशकुमार सुब्बाले ओलीलाई चुनौती दिएका थिए। २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा सुब्बालाई ८ हजारभन्दा बढी मतले पछाडि पार्दै अेली विजयी भएका थिए। २०५६ सालको निर्वाचनमा ओलीले माले नेता सीपी मैनाली र कांग्रेसका नेता केशवकुमार बुढाथोकीलाई पनि हराएका थिए। अहिले झापा ५ मा २६ जना चुनावी मैदानमा छन्। जसमध्ये १४ जना स्वतन्त्र उम्मेदवार छन्। एमालेका अध्यक्ष केपी शर्मा ओली २००८ फागुन ११ मा तेह्रथुममा जन्मेका हुन्। उनी २०४८ सालमा झापा ६ र २०५६ सालमा झापा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। ओली २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए। उनी २०६४ देखि २०६५ सालसम्म उपप्रधान एवं परराष्ट्रमन्त्री भएका थिए। त्यस्तै उनी २०७२ असोज २४ गते नेपालको ३८औं प्रधानमन्त्री भएका थिए। उनी झापा ७ बाट २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनसँग पराजित भएका थिए। ओली २०६५ सालमा भएको एमालेको आठौं महाधिवेशनमा अध्यक्षको उम्मेदवार थिए। तर पार्टी चुनावमा ओली पराजित भए, झलनाथ खनाल अध्यक्षमा निर्वाचित भए। उनी २०७० सालमा भएको संविधानसभा सदस्यको दोस्रो निर्वाचनमा झापा ७ बाट निर्वाचित भएका थिए। २०७० माघ २१ मा झलनाथ खनाललाई हराउँदै उनी एमाले संसदीय दलका नेता चुनिए। त्यसबेला खनाल पार्टी अध्यक्ष थिए। संसदीय दलको नेताका लागि भएको निर्वाचनमा ओलीले खनाललाई २३ मतान्तरले पछि पारेका थिए। पार्टीको नवौं महाधिवेशन, २०७१ बाट ओली अध्यक्षमा निर्वाचित भए। त्यसबेला उनका प्रतिस्पर्धी माधव नेपाल थिए। हटाउन चीनसँग व्यापार तथा पारवहन सन्धि गरे। माओवादी केन्द्रको समर्थनमा ओली २०७४ फागुन ३ मा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भए। तत्कालीन नेकपा विघटन भई एमाले र माओवादी साबिक अवस्थामा फकिएपछि एमालेमा आएको विभाजनबाट ओली २०७८ असारमा ओली सत्ताबाट बाहिरिएका थिए। २०७२ असोज २४ मा पहिलो प्रधानमन्त्री भएका ओलीले भारतीय नाकाबन्दीको सामना गरे।