पाँच अर्ब भन्दाबढीको सामग्री रसुवागढी नाकाबाट आयात

Share to:

रासंसा/रसुवा, कार्तिक ६,

मुलुकमा नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कन छिटोछरितो भइरहेको छ। तिहार लागि आयात भएका स्याउ, ओखर, किभी, स्याउपातीजस्ता फलफूल छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने उद्देश्यले त्यस्ता सामग्री सकभर आयात आएकै दिन जाँचपास गराउन भन्सार प्रशासन अग्रसर भएको हो। प्रसादको रूपमा चढाइने र मानिस बिरामीलाई उपभोग गराउन महत्वपूण मानिनेस्याउको माग आपूर्ति सहज बनाउन नेपाली व्यवसायीले गरेको लगानी आम उपभोक्ता सामु हितकारी बन्दै गएको स्थानीय बासिन्दाले बताएका छन्। प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार चीनबाट आयात भएका सामग्रीे परीक्षण एवं नियमानुसार भन्सार शुल्क कायम गराउन पर्याप्त जाँचकी परिचालन गरिएको र फलफूललगायत कुहिने चीज राजमार्गमै र अन्य सामग्री खोला बगरमा रहेको आफ्नैे कम्पाउण्डबाट छिटोछरितो परीक्षण भइरहेको छ। तिहारलाई केन्द्रित गरी गत असोज २५ देखि कात्तिक ५ गतेसम्म रसुवागढी नाकाबाट चिनियाँ ठूला टिपरमार्फत दाँतेओखर १९टिप, स्याउ ३०तीस टिप, स्याउपाती एवं किभी चार/चार टिप आयात भएको सीमा क्षेत्रका सुरक्षाकर्मीले जनाएका छन्। नेपाली बजारको मागका आधारमा व्यापारीले फलफूलका साथै महिला तथा पुरुष एवं बालबालिकाका लागि विविध तयारी पोसाक रसुवागढी नाकाबाटै आयात हुने गरेको भन्सार अधिकृत रेशम खड्का बताउँछन्। टिमुरेस्थित रसुवा भन्सार कार्यालयले दिएको विवरणअनुसार पुरूषका लागि ज्याकेट ,पञ्जा, टोपी, टाउजर, पाइन्ट सुरूवाल तथा महिलाका लागि ब्रा, पेन्टी, टिसर्ट ,सुइटर, बच्चाका लागि बेविसेटजस्ता दर्जनौँ विविध तयारी पोसाकसमेत आयात गर्ने गरिएको व्यवसायी धर्म पौडेल जानकारी दिन्छन्। रसुवागढी आइपुग्दा फुँजी स्याउको मूल्य प्रतिकेजीरू ७५ र अन्य जातका स्याउ प्रतिकेजी ५५ पर्ने भन्सार कर्मचारी बताउँछन्। स्याउजस्ता फलफूलको भन्सार दस्तुर प्रतिट्रकको हिसाबले मात्र शुल्क लिने गरिएको बताइएको छ। वर्षायाममा सडक मार्ग अवरूद्व हुने र हावा नपस्ने कन्टेनर डिब्बामा राखिएको स्याउ पाँच/सात दिन सडकमै रोकिनुपर्ने अवस्था आए कुहिएर नोक्सान हुने विगतको समस्यालाई मनन गरी वर्षा रोकिए लगत्तै फलफूल आयात गर्न थालिएको हो। व्यापार व्यावसायीले मगाएको एक सय पचास भन्दाबढी विद्युतीय सवारीसाधन जाँचपास हुन बाँकी रहेको र ती सवारी साधनबाट प्राप्त हुने राजस्व भने जाँचपासपछि मात्र दाखिला हुने भन्सार कार्यालयका सूचना अधिकारी भरतराज अधिकारी जानकारी दिन्छन्। राजस्व बुझाउन आयातकर्ता अनुपस्थित रहेका कारण डोजर, कार, स्कुलबसलगायत सवारीसाधन भन्सार हातामा थन्किएको छ। उनका अनुसार उपभोक्ताको चाहना, खपतको आँकलन, मूल्यको अवस्थासमेतलाई मध्यनजर गर्दै आयात गर्नका लागि अनुमति प्राप्त नेपाली व्यवसायी फर्मले चिनियाँ उत्पादक कम्पनीसँग सामग्री माग गर्ने गरेका छन्। यस्तै चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म रसुवागढी नाकामा हालसम्मको मूल्याङ्कनअनुसार कूल पाँच अर्ब ६६ करोड ३० लाख ८३ हजार बराबरको आयात भएको देखाएको छ। साउनदेखि हालसम्म आठ सय ४८ कन्टेनरबाट विविध सामग्री नेपाल भित्रिएको छ। विगतमा कोरोना सङ्क्रमणका कारण आर्थिक मन्दिमा परेका सबै ट्रक तथा कन्टेनर व्यवसायी अहिले चलायमान भइसकेका छन्। गत साउनदेखि असोज मसान्तसम्म कूल एक अर्ब ४८ करोड ९९ लाख ८७ हजार राजस्व दाखिला भएको प्रमुख भन्सार अधिकृत भण्डारी उल्लेख गर्छन्। जाँचपास हुन नसकी टिमुरेदेखि रसुवागढीसम्म ठाउँ–ठाउँमा रोकिएका सबै सामग्री सिमा प्रहरी टिमुरेलगायत सुरक्षा अङ्गले रेखदेख सुरक्षा गरिरहेको सिमा प्रहरी प्रमुख गम्भीरजङ्ग थापा बताउँछन्। आयात भएका सामग्रीमा स्याउ, ओखर रेडिमेट कपडाका साथै हाइड्रो पावरका उपकरण र सवारी साधनको पार्टपूर्जा, मेडिकल सामग्रीका साथै चिनियाँ ठूला दुई कन्टेनरमार्फत ताससमेत आयात भएको जनाइएको छ।

Like