दलको माया नभएका राजनीतिक नेता

Share to:

रासंसा/काठमाण्डौ, आश्विन २७,

मुलुकमा विचार मन परेर राजनीतिमा लाग्छन्। त्यही विचारका आधारमा राजनीतिक दलमा जीवन समर्पण गर्छन्। धेरैले सहादत नै प्राप्त गर्छन्। त्यो भनेको निष्ठा, आदर्शको राजनीति हो। तर, त्यसरी प्राप्त लोकतन्त्रमा धेरै नेता अवसरकै पछि दौडिएका छन्। ताक परेसम्म कुनै दलमा रहन्छन्। नत्र दल बदली हाल्छन्। यो प्रवृत्ति बढी चुनावका बेला देखिन्छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धेरै जना दल बदल्दै उम्मेदवार बनेका छन्। एमालेकै घनश्याम भुसाल कम्युनिस्ट विचारधाराका ‘खम्बा’ मानिन्छन्। उनलाई टिकट नदिँदा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना भयो। तर, आदर्श र सिद्धान्तको राजनीति सिकाउने उनै भुसालले उम्मदेवार हुन नपाउँदा पार्टी परित्याग गरे। त्यति बेला ओलीभन्दा धेरै आलोचना भुसालको भयो। भुसालले एमालेबाट रुपन्देही ३ मा २०७४ सालको निर्वाचन जितेका थिए। यसपटक रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनलाई सत्तारुढ गठबन्धनको साथ देखिएको छ। एउटा दलबाट टिकट नपाउने भएपछि अर्को दलमा गई चुनावमा उम्मेदवार बन्ने नेता धेरै छन्। व्यक्तिगत स्वार्थका कारण दल अदलबदल गर्ने क्रमले दलहरूलाई गाँजेको छ। नेताहरूले निष्ठा, आदर्शलाई चटक्कै भुल्दै गएका छन्। यस्तो ‘आया रामगया राम’ प्रवृत्तिले राजनीतिलाई विकृति पार्दै लगेको छ। यसकै उदाहरण बनेका छन् एमाले स्थायी कमिटी सदस्य प्रभु साह। माओवादी रहँदा अवसर पाए। त्यताबाट नभएपछि एमालेमा आए। यता पनि अवसर छोपे। तर, उनै नेता साहले एमालेबाट टिकट दिनभर गोजीमा राखेर अबेर स्वतन्त्रबाट रौतहट ३ मा उम्मेदवारी दिए। जसपासँग चुनावी तालमेल गरेकामा उनी असन्तुष्ट देखिएका छन्। कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला टिकट नपाएपछि चितवन ३ मा सत्ता गठबन्धनको बागी बनेका छन्। एमालेले रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर कोइरालालाई समर्थन गरेको छ। त्यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन्। राप्रपाबाट विक्रम पाण्डे उठेका छन्। अघिल्लो निर्वाचनमा उक्त क्षेत्रबाट माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएका थिए। दाहाल चितवन ३ ‘असुरक्षित महसुस’ गरी गोरखा २ मा गएका छन्। जसपाका नेता लक्ष्मी महतो महोत्तरी १ मा उम्मेदवारका आकांक्षी थिए। तर, पार्टीले टिकट नदिने भएपछि एमालेमा प्रवेश गरे। उनलाई एमालेले टिकट दिएको छ। उनी २०७४ को निर्वाचनमा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलसँग थोरै मतले पराजित भएका थिए। उनी यसपटक पोखरेल सँगै प्रतिस्पर्धामा छन्। जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक थिए, उमाशंकर अरगरिया। उनी एमालेमा गएर धनुषा २ मा चुनाव लड्दै छन्। अरगरियालाई टिकट दिने भएपछि एमालेका नेता गगाराम यादव भने जसपामा गई चुनावमा उठेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एकबाल मियाँ एमालेमा प्रवेश गरी बारा ४ मा प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्दै छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापा आफ्नो पार्टी होइन, एमालेको चुनाव चिह्न सूर्यबाट उम्मेदवार बनेका छन्। थापाले पार्टीका अन्य नेताकार्यकर्तालाई अलपत्र छोडेर एमालेसँग तालमेल गरेका हुन्। आफ्नो पार्टीको ‘तीर’ चिह्न हुँदाहुँदै हिन्दू राष्ट्रको एजेन्डा बोकेको पार्टीले कम्युनिस्टको चुनाव चिह्न लिएर निर्वाचनमा जाने भनेर उनको आलोचना भएको छ। एमालेकी गंगाचौधरीले टिकट नपाएपछि दाङ १ मा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी छन्। उनी २०७४ सालमा समानुपातिक सांसद बन्ने भएपछि थरुहट तराई पार्टी नेपाल छोडेर एमालेमा लागेकी थिइन्। एमालेबाट २०६४ मा संविधानसभा सदस्य बनेका विनोद चौधरी २०७४ मा काग्रेसबाट सांसद बनेका थिए। उनी कांग्रेसबाटै नवलपरासी पश्चिम १ मा चुनाव लड्दै छन्। जसपा केन्द्रीय सदस्य अमृतादेवी अग्रहरी र रुहीनाज एमाले प्रवेश गरे। एमालेबाट समानुपातिकको बन्दसूचीमा अटाएका छन्। कांग्रेस छोडेर लालबाबुसिंह भुइँहारले लोसपाबाट टिकट लिएका छन्। सत्तारुढ गठबन्धनले लोसपासँग चुनावमा तालमेल गर्ने भएपछि कांग्रेसबाट उनले टिकट नपाउने भए। तर, तत्कालै लोसपाको भागमा परेको क्षेत्रमा भुइँहारले दल बदलेर टिकट लिएका हुन्। नेता हेमराज राई जसपा छोडेर एमालेमा फर्किए। उनी समानुपातिकबाट उम्मेदवार बनेका छन्। झापा २ मा एमाले छाडेका हरिबहादुर रानालाई सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रले टिकट दिएको छ। उनी एमालेबाट निर्वाचित पूर्वमेयर हुन्। कांग्रेस नेता एवं व्यवसायी देवीप्रकाश भट्टचनलाई एमालेले उम्मेदवार बनाएको छ। उनी समानुपातिक सूचीमा आदिवासी जनजाति समूहको पहिलो नम्बरमा सिफारिसमा परेका छन्। कांग्रेस संगठन विभागको उपप्रमुखको जिम्मेवारी सम्हालिसकेका भट्टचनलाई पार्टीले समानुपातिक सूचीमा नराखेपछि उनी एमालेमा गएर उम्मेदवार बनेका हुन्। उनी यसपटक बागलुङबाट प्रतिनिधिसभा सदस्य पदका आकांक्षी बनेका थिए। रामचन्द्र झा पार्टी परिवर्तन गरिरहने नेतामा पर्छन्। एमाले छोडेर माओवादी बने। एकीकृत समाजवादीमा पुगेका उनी पार्टीले टिकट नदिएपछि धनुषा २ मा स्वतन्त्र उम्मेदवार बनेका छन्। पार्टीबाट अवसर नपाएपछि कांग्रेस नेता अमरेशकुमार सिंह सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार बनेका छन्। उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। पुराना कम्युनिष्ट नेता समाज सुधार, देश विकासको नाममा बिना लगानीको व्यवसायजस्तो बनेको छ राजनीति। आफूअनुकूलको नीति बनाउन जहाँ अवसर पाइन्छ त्यहाँ जाने, फाइदा नभए छोड्नेजस्तो प्रवृत्ति देखिएको छ। यो निर्वाचनमा पार्टी अदलबदल गर्नेको लर्को नै छ। आफू रहेको पार्टी टिकट नदिएमा तुरुन्तै पार्टी अदलबदल गर्ने प्रवृत्ति अत्यधिक छ। प्रतिनिधिसभामा मात्रै होइन प्रदेशसभाका टिकट लिनको पार्टी अदलबदल गर्नेहरू धेरै छन्।
अवसरवादीको स्वार्थमा राजनीति चलेको छ। नेताहरू अवसर र स्वार्थ खोज्दै सिद्धान्त बिर्सन थाले। नीति, विचार, सिद्धान्त समाप्त भयो। मुलुकको अवस्था खराब हुने लक्षण देखिएको छ । एमालेले टिकट नदिएपछि एकीकृत समाजवादीबाट प्रह्लाद गिरीले उम्मेदवारी दिएका छन्। गिरी पर्सा ३ (ख) बाट उठेका हुन्। मनोनयन दर्ताको एक दिन पहिलामात्र एमालेले जसपासँग गठबन्धन गर्‍यो। गिरीले दाबी गरेको क्षेत्र जसपाको भागमा पर्‍यो। जसपाले डा.मधु गुप्तालाई उम्मेदवार बनाएको छ।

Like