खेलाडीको भविष्य सुनिश्चित गर्न रोजगार उपलब्ध गराउने छौँ : मुख्यमन्त्री राई

Share to:

रासंसा/मोरङ, आश्विन ८,

मुलुकमा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफी अवलोकन गरेका छन् । यही असोज २८ गतेदेखि गण्डकी प्रदेशको पोखरा हुने प्रतियोगितामा सबैभन्दा ज्यादा स्वर्ण पदक प्राप्त गर्ने टिमले उक्त ट्रफी प्राप्त गर्ने छन् । मुख्यमन्त्री राईले शून्यबाट उठेको प्रदेश सरकारले खेलकुदको विकासका लागि आवश्यक ऐन, कानुन निर्माण गरी खेलकुद विकास बोर्ड गठन गर्नुका साथै जिल्ला समिति निर्माण गरेको बताए । उनले खेलकुद विकास बोर्डको सुझावअनुसार राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीलाई स्थानीय अस्पतालको समन्वयमा उपचारको व्यवस्था मिलाइएको धारणा राखे । मुख्यमन्त्री राईले प्रदेश खेलकुद विकास बोर्डद्वारा आज यहाँ आयोजित ट्रफी टुर अवलोकन कार्यक्रमको सार्वजनिक गर्दै प्रदेश सरकार खेलकुदको विकासका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणकार्य गरिरहेको बताए । उनले खेलकुदमा आफ्नो जीवन समर्पित गरिरहेका खेलाडी, प्रशिक्षक एवं निर्णायकहरूको सेवा सुविधा थप्ने कार्य गर्ने बताउँदै उनीहरूको भविष्य सुनिश्चित गर्न रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे । मुख्यमन्त्री राईले खेलाडी एवं प्रशिक्षकहरूलाई प्रतियोगितामा सहभागी हुन बजेटको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय खेलकुदमा उच्च सफलता हासिल गरी प्रदेशको नाम उच्च राख्न आग्रह गरे । बोर्डका सदस्यसचिव हंशराज वाग्ले प्रतियोगितामा प्रदेशले ३५ खेलको तीन सय ९७ इभेन्ट्समा भाग लिने जानकारी दिए । प्रतियोगितामा प्रदेशका सात सय छ खेलाडी, ६६ प्रशिक्षक र ४८ कर्मचारी गरी आठ सय २० सहभागी हुनेछन् । उक्त ट्रफी अवलोकन सार्वजनिक कार्यक्रममा आर्थिक मामिला योजनामन्त्री इन्द्रबहादुर आङ्वो, सामाजिक विकासमन्त्री एवं प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष राजन राई, खेलकुद विकास बोर्डका उपाध्यक्ष जीनाजङ्ग कार्की, ट्रफी टुरका संयोजक ओलम्पिक खेलाडी दीपक विष्ट र खेलाडी एवं प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

Like