विश्वका चर्चित राजनीतिक नेता, जसको कडा सुरक्षा घेराभित्र नै हत्या भयो
रासंसा/काठमाण्डौ, आषाढ २४,
विश्वमा शुक्रबार जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको एक जना बन्दुकधारीले गोली हानेर हत्या गरे । आबे जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा आसिन हुने नेता थिए । उनले सत्तामा रहँदा वा नरहँदा जापानको युद्धविरोधी नीतिलाई त्यागेर आफ्नो आर्थिक शक्ति बराबरको सैन्य शक्ति बन्नुपर्ने पक्षमा वकालत गरिरहे । विश्व इतिहासमा अरु देशमा पनि विभिन्न समयमा राष्ट्रपति, प्रधानमन्त्री, राजा र अन्य नेताको हत्या भएका छन् । इतिहासमा केही नेताका हत्या देशबासीको लागि यति स्तब्धकारी हुन्छ कि अधिकांश मानिसले ती नेता मारिँदाको खबर पहिलो पटक सुन्दा आफू कहाँ थिएँ र के गरिरहेको थिएँ भन्ने सधैँ सम्झिरहन्छन् । नेपालकै सन्दर्भमा सन् २०५८ जेठ १९ को दरबार हत्याकाण्डको खबर पहिलो पटक सुन्दाको समय धेरैले आज पनि विस्तृत रुपमा सुनाउँछन् । मनोवैज्ञानिकहरुले यो प्रक्रियालाई ‘लाइटबल्ब मेमोरी’ भन्ने नाम नै दिएका छन् ।