यातायात व्यवसायीको पनि बदमासी देखियो

Share to:

रासंसा/कास्की, ज्येष्ठ २८,

मुलुकमा पोखराका पर्यटन व्यवसायी सन्तोष पोखरेलले बिहीबार मध्याह्नतिर काठमाडौं छाडे। सरासर आउन पाएको भए काठमाडौंबाट २ सय किलोमिटर टाढाको पोखरासम्म उनी बेलुका नै आइपुग्थे। तर पोखरेल शुक्रबार दिउँसो ३ बजेसम्म जसोतसो मुग्लिन पार गरेर केही अगाडि बढेका थिए। पोखरा-मुग्लिन सडकखण्डअन्तर्गत आँबुखैरनीको पहिरोस्थलमा आइपुग्दा पोखरेलले राजधानी छाडेको २७ घन्टा बितिसकेको थियो। यो अवधिमा उनले न राम्रोसँग खान पाए न शौचालय जान पाए, सुत्न पाउनु त परैको कुरा। निजी गाडीमा काठमाडौंबाट हिँडेका पोखरेलसँग उनकी पत्नी थिइन्। ‘योपटक निकै नै सकस खेप्यौं। अझै कति समय रोकिनुपर्ने भन्ने यकिन छैन,’ पहिरोका कारण रोकिएका पोखरेलले भने, ‘राजमार्गमा यात्रुको बिचल्ली छ। घन्टौंदेखि भोकभोकै छन्। कतिपय यात्रु ३० घन्टादेखि सडकमा रोकिएका छन्।’ पोखरेल दम्पती बिहीबार बेलुकीदेखि राजमार्गमा फसेका हुन्। मुग्लिन–काठमाडौं खण्डको कुरिनटारमा झरेको पहिरोले सुरुमै रोकिएका उनीहरूले रात कुरिनटारमै बिताए। जसोतसो पहिरो पन्छाएर सडक खुल्यो। गाडी अघि बढ्यो। बिहानपख मुग्लिन कटेका पोखरेल दम्पती आँबुखैरेनी पुगेपछि फेरि पहिरोका कारण रोकिए। काठमाडौं छाडेपछि राम्रोसँग खाना खान पनि नपाएको पोखरेलले सुनाए। २७ घन्टादेखि राजमार्गमा रोकिनुपर्दा सबैभन्दा सकस बिरामी, वृद्धवृद्धा र बालबालिकालाई भएको उनले बताए। विदेशी पर्यटक पनि उत्तिकै मारमा परे। ‘राजमार्गमा व्यवस्थित शौचालय कतै छैन। विदेशीले शौचालय जान नपाएर सकस खेपे,’ उनले भने, ‘राम्रो खाना खाने ठाउँ पनि छैन, सबैको बिजोग छ।’ शुक्रबार बिहान साढे ४ बजेतिर तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिककै राजमार्ग खस्दा दिनभर सडक अवरुद्ध भयो। ‘हामीले कम्तीमा २७ घन्टासम्म राजमार्गमा बितायौं। हामीसँगै अघिपछि गुडेका सवारीसाधन पनि गन्तव्यमा पुग्न नपाएर रोकिएका छन्, निकै सास्तीपूर्ण यात्रा गर्नुपर्‍यो,’ पोखरेलले भने। पोखरेल दम्पती मात्र होइन, पोखराबाट काठमाडौं हिँडेकी राधिका कँडेलले पनि सास्ती खेपिन्। सामान्यतया पोखरा–काठमाडौं पाँच घन्टाको यात्रा हो। सडकमा समस्या हुँदा यो दूरी पार गर्न पछिल्लो समय आठ घन्टासम्म लाग्ने गरेको छ। तर बिहीबार बिहान ८ बजे पोखराबाट काठमाडौंका लागि बसमा हिडेकी कँडेल शुक्रबार बिहान ५ बजे मात्र काठमाडौं पुगिन्। कुरिनटारको पहिरोमा फसेकी उनले पहिरो पन्छाइसकेपछि पनि यात्रा सहज नभएको बताइन्। ‘पहिरोको समस्याभन्दा जथाभाबी राखिएका गाडीले थप समस्या भयो। जथाभाबी गाडी रोक्ने र ओभरटेक गर्ने प्रवृत्तिका कारण पनि राजमार्ग घन्टौं जाम हुन्छ,’ उनले भनिन्। कँडेलका अनुसार मुख्य राजमार्ग अवरुद्ध हुँदा पनि सीमित संख्यामा मात्र ट्राफिक प्रहरी खटिएका थिए। राजमार्गमा ठाउँठाउँमा पहिरो झरेका कारण पोखरा–काठमाडौं दुरी पार गर्न कम्तीमा २१ घन्टा लागेको उनले बताइन्। ‘सामान्य अवस्थामा ६/७ घन्टामा पार गर्न सकिने दुरी पार गर्न यसपटक २१ घन्टा लाग्यो। राजमार्गमा पहिरोसँगै जथाभाबी तेस्र्याइने सवारीसाधनले पनि अवरोध हुने गरेको छ,’ कँडेलले भनिन्, ‘पहिरो पन्छाएको घन्टौंसम्म पनि सवारीसाधन चल्ने अवस्था रहन्न। यस्तोमा स्थानीय प्रशासनको सक्रियता पनि देखिन्न।’ यातायात व्यवसायीका कारण पनि यात्रुले दुःख पाउने गरेको उनले बताइन्। उनका अनुसार सडक अवरुद्ध भएको जानकारी हुँदाहुँदै पनि व्यवसायीले गाडी हिँडाउनु र ट्राफिक प्रहरीले नरोक्नु लापरबाहीको पराकाष्टा हो। ‘राजमार्ग अवरुद्ध छ भन्ने ट्राफिक प्रहरीलाई जानकारी हुन्छ। यस्तो अवस्थामा कम्तीमा लामो दुरीका सवारी साधन छुट्न रोक्ने हो भने यात्रु घरै रोकिन्थे वा बीचबाटै फर्किन्थे,’ उनले भनिन्। ती ट्राफिक प्रहरीलाई राजमार्गको बेहाल अवस्था सहज बनाउन हम्मेहम्मे परेको उनले बताइन्। ‘एकजना नेता आउँदा खटिने जति ट्राफिक प्रहरी अवरुद्ध भएको राजमार्गमा परिचालन मात्र हुने हो भने पनि केही सहज हुन्छ। सीमित संख्याका ट्राफिक प्रहरीले अस्तव्यस्त राजमार्ग व्यवस्थापन गर्न सक्दैनन्,’ उनले भनिन्, ‘त्यसको मार यात्रुलाई पर्छ।’ यात्रुको पैसा फिर्ता गर्नुपर्छ भनेर पनि त्यसो गरिएको हुन सक्ने उनले बताइन्। यातायात व्यवसायी पनि यो समस्या स्विकार्छन्। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले भने, ‘राजमार्ग अवरुद्ध छ भन्ने थाहा पाउँदापाउँदै पनि शुक्रबार बिहान पोखराबाट काठमाडौं जाने भनेर एकजना व्यवसायीले जिद्दी गरे। राजमार्ग अवरुद्ध छ भन्ने थाहा पाएर पनि व्यवसायीले यात्रुलाई जबर्जस्ती लिएर हिँड्ने गरेका छन्।’ टिकटको पैसा फिर्ता गर्नुपर्छ भनेर यातायात व्यवसायीले राजमार्ग अवरुद्ध भएको थाहा पाउँदापाउँदै पनि गाडी छुटाउँछन्। राजमार्ग अवरुद्ध भएको थाहा नपाएका यात्रुलाई बसमा हालेर हिँड्छन, अनि बीचमै अलपत्र पार्छन्। कम्तीमा मुख्य ठाउँबाटै सवारी नछुटाउने हो भने यो अवस्था नआउने उनले बताइन्। ‘हामी आएको बसका सञ्चालकले चालकलाई जतिसक्दो छिटो पोखरा छाड्नु भनेर भनेका रहेछन्। राजमार्ग अवरुद्ध रहेको भन्ने उनलाई पहिल्यै थाहा रहेछ तर यात्रुलाई त्यो जानकारी दिइएन,’ कँडेलले भनिन, ‘त्यसको मारमा हामी पर्‍यौँ। कम्तीमा सवारी नै नगुडाउने हो भने यात्रु त अलपत्र पर्दैनन्।’ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी गोविन्द अधिकारी अवरुद्ध राजमार्ग कतिबेला खुल्ने भन्ने यकिन नहुँदा गाडी रोक्न समस्या हुने बताउँछन्। ‘प्रकृति हेरेर अवरुद्ध भएको सडक खुल्ने समय यकिन हुन्छ। कहिलेकाहीं तत्कालै खुल्छ भने कहिले बढी समय लाग्छ,’ उनले भने, ‘तर थाहा पाएसम्म यात्रुलाई सहज होस् भनेर हामी हेरिरहेका हुन्छौं।’ सडकमा ट्राफिक जनशक्ति कम हुँदा अवरुद्ध सडक खुले पनि कहिलेकाहीं आवागमन सहज बनाउन नसकिएको उनले बताए। बदमासी व्यवसायीले पनि गर्न सक्ने उनको भनाइ छ। ‘जसरी पनि जान्छु भन्ने पनि छन्। राजमार्ग अवरुद्ध छ भन्दा पर्खिन्छौ भन्ने पनि छन्,’ केसीले भने। व्यवसायी जिम्मेवार बन्न नसक्दा यात्रुले दुःख पाएको उनले बताए। ‘राजमार्ग अवरुद्ध हुँदा यात्रुलाई निकै सकस हुन्छ,’ उनले भने, ‘व्यवसायी पनि यसमा सुध्रिनुपर्छ।’

Like