रौतहटका सबै स्थानीय तहको मत गणना सकियो
रासंसा/रौतहट, ज्येष्ठ १२,
मुलुकमा गरुडा नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार कन्थमणी जयसवाल विजयी भएका छन् । ४ हजार ५ सय ६४ मतसहित विजयी भएका उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार बृज किशोरप्रसाद यादवले ४ हजार ५ सय २६ मत ल्याएका थिए । तेस्रो भएका जनता समाजवादीका अनिलकुमार यादवले ३ हजार ३ सय ५१ र माओवादीका सुरेन्द्रकुमार जयसवाल ३ हजार २ सय २५ मतसहित चौथो भएका छन् ।
त्यस्तै, लोकतान्त्रिक समाजवादीका दीपक यादवले १ हजार ६३ मत पाए । उपप्रमुखमा भने कांग्रेसकी पुनमकुमारी चौधरी ६ हजार ७ सय ३ मतसाथ विजयी भएकी छन्् । निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी विन्दुकुमारी देवीले ४ हजार ४ सय ७७ मत ल्याइन् भने एकीकृत समाजवादीकी हिबजा खातुनले ४ हजार ३ सय ६३ ल्याएर तेस्रो भएकी छन् । एमालेकी ज्ञानकला देवी साहले २ हजार ५ सय ३९ र नेकपा माओवादी केन्द्रकी सकिला खातुनले २ हजार ४ सय ८५ मत ल्याइन् । गरुडासँगै रौतहट पालिकाको मत गणना सकिएको छ । जसमा नेपाली कांग्रेसले ७, नेकपा एसले ४, नेकपा एमालले ३, लोसपाले २, जसपाले १ र माओवादीले १ पालिकामा जित हात पारेका छन् । २ गाउँपालिका र १६ नगपालिका गरी १८ स्थानीय तह रहेको रौतहटमा अन्तिम मत गणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा कांग्रेसले ७, नेकपा (एस)ले ४, एमालेले ३, लोसपाले २, जसपाले १ र माओवादी केन्द्रले १ पालिकामा जित हात पारेका छन् । नेपाली कांग्रेसले राजपुर नगरपालिकामा राजिक आलम, कटहरिया नगरपालिकामा अजयप्रकाश जयसवाल, गढीमाई नगरपालिकामा श्यामबाबु यादव, चन्द्रपुर नगरपालिकामा सञ्जय काफ्ले, परोहा नगरपालिका शेख वकिल, माधवनारायण नगरपालिका बैजु यादव र फतुवा विजयपुर नगरपालिका गोपाल यादवले जित हात परेका छन् । २०७४ को निर्वाचनमा ८ पालिकामा जित हासिल गरेको कांग्रेसले रौतहटमा यसपटक ७ पालिकामा जित हासिल गरेको हो । यसअघि, जित हासिल गरेको वृन्दावन, दुर्गा भगवती र राजदेवी भने कांग्रेसले गुमाएको छ । त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले चार पालिकामा जित हासिल गरेको छ । नेकपा एसबाट वृन्दावन नगरपालिकामा विनोद पटेल, गौर नगरपालिकामा शम्भु साह, बौधीमाई नगरपालिका प्रदीप यादव र राजदेव नगरपालिकामा भिखारी यादव विजयी भएका छन् । यसैगरी, नेकपा एमालेले गरुडा नगरपालिकामा कन्थमणी जयसवाल, देवाही गोनाही नगरपालिकामा प्रेम साह र मौलापुर नगरपालिकाका रिना साह विजयी भएका छन् । २०७४ को निर्वाचनमा रौतहटबाट एमालेले चन्द्रपुर नगरपालिकाको उपप्रमुखमा मात्र जित हासिल गरेको थियो । यसअघि, माओवादी केन्द्रले जित हासिल गरेको मौलापुर र संघीय समाजवादी फोरम, नेपालले जित हासिल गरेको देवाही गोनाहीमा एमालेले जित हात पारेको हो । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा विजयी हासिल गरेको छ । गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी, नेपालले र दुर्गा भगवती गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले जित हात पारेको छ । २०७४ को निर्वाचनमा तीन पालिकामा जित हासिल गरेको माओवादी केन्द्रले रौतहटमा यो पटक हालसम्ममा एउटा पालिकामा जित हासिल गरेको हो । यसअघि, माओवादी केन्द्रले जित हासिल गरेको कटहरिया र यमुनामाई भने गुमाएको छ ।