तनहुँमा नेकपाको राष्ट्रिय जागरण अभियानः पत्रकार सम्मेलनसहित जिम्मेवारी बाँडफाँड

अन्जनराज न्यौपाने गण्डकी प्रदेश
तनहुँ।
नेपाल कम्युनिस्ट पार्टी, जिल्ला कमिटी तनहुँले देशभर राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। सोही अभियानको सुरुवातसँगै जिल्लामा पत्रकार सम्मेलनको आयोजना गरिएको छ।
अभियानको मुख्य उद्देश्य देशको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितको रक्षा र सुदृढीकरणका लागि जन जागरण र जनसहभागिता सिर्जना गर्नु रहेको छ।
त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र जनअधिकारको रक्षा गर्दै सुशासन, सामाजिक न्याय र जनजीविकाको सवालमा जनमत निर्माण गर्ने, महँगी, बेरोजगारी, कालोबजारी र भ्रष्टाचार विरुद्ध आवाज संगठित गर्ने उद्देश्य पनि अभियानको छ।
यसका साथै, भोटेकोशी र बुढीगण्डकी बाढी प्रभावितहरूलाई सहयोग गर्ने, पार्टी सदस्यता नवीकरण तथा विस्तार गर्ने र विभिन्न तहका अधिवेशन तथा महाधिवेशनको तयारी गर्ने कार्यभार तोकिएको छ।
अभियानलाई व्यवस्थित बनाउन स्थानीय तहमा विशेष अभियान टोली गठन गरिएको छ, जसको प्रत्यक्ष कमान्ड केन्द्रीय सदस्यहरूले गर्नेछन्।
तयार पारिएको कार्यविभाजन अनुसार देवघाटमा हरि बहादुर चुमान, आँबुखैरेनीमा सूर्यबहादुर गोर्खाली र शुक्र चुमान, बन्दीपुरमा गीता शाही, हेमराज लामिछाने, जुग बहादुर गुरुङ र मीना गौतम, तथा भानुमा विद्या ढकाल र ओमकुमारी पौडेललाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, व्यास नगरपालिका क्षेत्रमा कलिला खान, शिवशंकर पोडेल र जगत प्रसाद श्रेष्ठ, म्याग्देमा सोम बहादुर थापा, शुक्लागण्डकीमा आशा कोइराला, भिमादमा काजीमान श्रेष्ठ र रमेश सिहंदेल, घिरिङमा शंकर पोखरेल र दुर्गा नेपाली, तथा ऋषिङ्गमा ओमराज आलेलाई खटाइएको छ।
