अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचार

मेरै अवस्था हेरेर भए पनि जीवनलाई माया गरौं – झमक कुमारी घिमिरे

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २७,

मुलुकमा साहित्यकार झमक कुमारी घिमिरेले आत्मदाह तथा आत्महत्याका बढ्दो घटनाप्रति चिन्ता व्यक्त गरेकी छिन्। शनिबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले जीवनप्रति आशा र सकारात्मक सोच कायम राख्न सबैलाई आग्रह गरेकी हुन्। घिमिरेले आफ्नै जीवन संघर्षको उदाहरण प्रस्तुत गर्दै आफू बोल्न, सहज रूपमा हिँड्न र हात चलाउन नसक्ने शारीरिक अवस्थाका बाबजुद पनि जीवनप्रति आशावादी रहेको बताइन्। उनले आफू अहिले स्नायु सम्बन्धी समस्यासमेत सामना गरिरहेको भए पनि जीवनप्रति विश्वास नहारेको बताइन्। उनले पछिल्लो समय मानिसहरू निराश बनेर आफ्नो जीवन समाप्त गर्ने घटनाहरू बढिरहेको बताउँदै यस्तो अवस्थाबाट बच्न आत्मबल र सकारात्मक सोच आवश्यक रहेको उल्लेख गरिन्। ‘अहिले आत्मदाहका घटनाहरू बढिरहेका छन्। मान्छे यति धेरै निराश बनेर आफ्नो जीवन सिद्याउने काम गरिरहेका छन् किन ? मेरो अवस्था हेर्दा न बोली आउँछ न हात चल्छ न हिड्न सामर्थ्य छ खुट्टामा ? न शरीर नै सिधा छ, न त टाउको नै सिधा छ ?’ उनले भनिन्, ‘त्यसमाथि अहिले स्नायुको समस्याले समातिरहेको छ सोच्नु होस् मेरो जीवन कति कष्टपूर्ण छ ? अनि तपाईं हर कुरामा सामर्थ्यवान हुनुहुन्छ र पनि किन अकालमा मृत्यु वरण गरिरहनु भएको छ ?’‘जीवनमा जसका पनि अफ्ट्यारो मोडहरू आउँछन् त्यो कुरा सामना गर्न नसकेर भाग्ने ? कसैले पनि आफ्नो जीवन मात्रै अफ्ट्यारोमा परेको नसोच्नुहोस्’ उनले भनिन्,‘ कुनै गलत कदम नउठाउनुहोस्। आफ्नो माया गर्नुहोस्। दिमागभरी नकारात्मक कुराहरू नपाल्नुहोस्। सकेसम्म दिमागमा सकारात्मक कुरा ल्याउनुहोस् साना-साना कुरामा रमाएर जीवन बाँच्नुहोस् ,सोच्नुहोस् जीवन खतम नगरे पनि एक दिन खतम भएरै जाने छ धेरै हतार नगर्नुहोस्।’ उनले कसैले पनि आफ्नो जीवन मात्र सबैभन्दा कठिन छ भन्ने नसोच्न, कुनै गलत निर्णय नलिन तथा आफूलाई माया गर्न अनुरोध गरेकी छन्।

Like