तनहुँ बन्दीपुर’ गीतको बढ्दो लोकप्रियता, युट्युबमा दुई लाखभन्दा बढी भ्युज
अन्जनराज न्यौपाने
गण्डकी प्रदेश तनहुँ
तनहुँ, ११ मंसिर । गायक तथा सर्जक पदम घर्तीको गीत ‘तनहुँ बन्दीपुर, मेरो माया छ भने कान्छी पाँच वर्ष कुर’ ले युट्युबमा दुई लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ।
तनहुँको प्रसिद्ध पर्यटकीय नगरी बन्दीपुरको पहिचान, संस्कृति र स्थानीय परिवेशलाई समेटेर तयार पारिएको यस गीतले दर्शक तथा श्रोताको निकै राम्रो साथ पाएको छ। छिम्केश्वरी अनलाइन टिभीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीत हालसम्म दुई लाख दुई हजारभन्दा बढी पटक हेरिएको छ।
पदम घर्तीको प्रस्तुति रहेको यस गीतमा घर्ती र दीपिका बेम्बु मगरले स्वर दिनुभएको छ। गीतका शब्द र सङ्गीत स्वयं पदम घर्तीले नै सिर्जना गर्नुभएको हो। म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी शोभा थापा मगरले गर्नुभएको छ।
भिडियोमा शोभा थापा मगर, अभिषेक गुरुङ, पदम घर्ती, मनिषा गुरुङ र छाया गुरुङको अभिनय देख्न सकिन्छ। मायाप्रेम, प्रतीक्षा र भावनात्मक सम्बन्धको कथालाई मुख्य विषय बनाइएको गीतमा स्थानीय मौलिकतालाई निकै सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ।
बन्दीपुरको प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्त्व र सांस्कृतिक विशेषतालाई गीतमार्फत देश–विदेशमा चिनाउने उद्देश्यले यो सिर्जना तयार पारिएको हो। यसले स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण टेवा पुर्याउने विश्वास लिइएको छ।
डिजिटल माध्यमबाट नेपाली गीत–सङ्गीतको पहुँच विश्वभर फैलिरहेको अवस्थामा मौलिक परिवेशमा आधारित गीतलाई दर्शक–श्रोताले रुचाउनुलाई निकै सकारात्मक रूपमा हेरिएको छ। युट्युबमा प्राप्त यो सफलताले गायक घर्तीको सिर्जनाप्रतिको आकर्षणलाई अझ स्पष्ट पारेको छ।
