कसरी जोगिने क्षयरोगसंग ?
रासंसा/काठमाण्डौ, चैत्र ११,
मुलुकमा क्षयरोग ‘माइकोबेक्टेरियम ट्युबरक्लोसिस’ नामक कीटाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग हो । यो रोगलाई सामान्य भाषामा टीबी भनेरपनि बुझिन्छ । प्रायजसो यो रोग श्वासप्रश्वासबाट सर्ने छातीरोग विशेषज्ञ डा.दीर्घसिंह बमले बताए । सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नजिक बस्ने व्यक्तिलाई सर्न सक्ने डा. बम बताउँछन् । श्वासप्रश्वासबाट कणहरू हावामा निस्कने र त्यसको माध्यमबाट अन्य व्यक्तिमा सर्ने उनले सुनाए । ‘कुनै व्यक्तिलाई फोक्सोको टीबी छ भने त्यो व्यक्तिले जहाँ–जहाँ थुक्छ, त्यहाँ–त्यहाँ टीबीको कीटाणु हुन्छ,’ उनले भने, ‘हावाको मध्यमबाट त्यो कीटाणु अरूलाई सर्छ ।’ ‘सामान्यतया क्षयरोग औषधि खायो भने निको हुन्छ,’ उनले भने, ‘यदि कुनै पनि व्यक्तिको खकारमा कीटाणु देखिएको छ भने आफ्नै शरीरभित्र अन्य भागमा पनि सर्न सक्छ । फोक्सोको टीबी लागेको छ भने छालामा, दिमागमा, पेटमा वा हड्डीमा सर्न सक्छ । अर्थात् शरीरको सम्पूर्ण भागमा जान सक्छ ।’ क्षयरोगले शरीरको अङ्गमध्ये सबैभन्दा बढी फोक्सोमा सङ्क्रमण गर्ने उनले बताए । उपचार नपाएमा शरीरको अरू अङ्गमा पनि सर्न सक्ने उनले उल्लेख गरे । फोक्सोबाहेक शरीरको अन्य भागमा ग्रन्थि, आन्द्रा, पेट, मेरुदण्ड, हाड, प्रजनन, छाला, आँखा र टाउको आदिमा पनि टीबीले सङ्क्रमण हुने उनले उल्लेख गरे । क्षयरोगको लक्षण अङ्ग अनुसार फरक हुन्छ । तर सामान्यतया मान्छे दुब्लाउँदै जानु, मन्द गतिको ज्वरो आउनु र खानमा रुचि नहुनु लगायत क्षयरोगको लक्षण हुने डा. बमले बताए । ‘खोकी लाग्ने, रगत आउने यो पछिको लक्षण हो ।’ उनले भने, ‘फोक्सोको क्षयरोग भएमा खोकी लाग्ने, दिमागको क्षयरोग भएमा टाउको दुख्ने, पेटको टीबी भएमा दिसा लाग्ने होला, पेट दुख्ने होला, दुब्लाउँदै जाने होला, त्यस कारणले क्षयरोग कुन अङ्गमा सङ्क्रमण गरेको हुन्छ, सो अनुसार फरक लक्षण हुन्छ ।’ नेपाल सरकारले ७७ जिल्लामा समुदाय स्तरका स्वास्थ्य चौकी, अस्पताल, स्वास्थ्य क्षेत्रका युनिभर्सिटी लगायतमा निःशुल्क औषधि पाइने डा. बमले बताए । ‘बालबालिकादेखि वृद्धसम्मका लागि औषधि निःशुल्क छ,’ उनले भने । क्षयरोग लागेको शङ्का लाग्नासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी निःशुल्क खकार–रगत परीक्षण गर्न सकिन्छ । क्षयरोगको उपचार गरेमा ९५ प्रतिशत निको हुने उनले सुनाए । ‘क्षयरोग नियमित रूपमा एन्टीबायोटिक औषधी खाँदा पूर्ण रूपमा निको हुन्छ,’ उनले भने, ‘उपचार अवधि भने सङ्क्रमित अङ्ग, रोगको प्रकृति हेरी फरक हुन्छ । समयमा उपचार नहुँदा परिवारका अन्य सदस्य र त्यसबाट अन्त सर्ने सम्भावना अत्यधिक हुन्छ ।’ औषधी खाएर आफूलाई ठिक भएको महसुस गर्ने बित्तिकै बिचमै औषधी छाड्ने पनि गरेको देखिन्छ । तर त्यसो गर्नले केही समयको लागि निको भएको जस्तो भए पनि पछि जटिल समस्या देखा पर्ने उल्लेख गरे । ‘शरीरको भित्री भागमा भएको ब्याक्टेरिया नास भैसकेको हुँदैन । त्यसको परिणामस्वरूप झन् कीटाणुहरू एन्टीबायोटिकविरुद्ध बलियो भएर आउँछ,’ उनले भने, ‘प्रयोग गरिरहेको औषधीले समेत काम नगर्ने हुन्छ । त्यस्ता बिरामीको लागि लामो समयसम्मका लागि कडा औषधी चलाउन पर्ने अवस्था सृजना हुन्छ ।’ सरकारले क्षयरोग लागेका बिरामीलाई पूरा मात्रामा औषधिहरू निःशुल्क वितरण गर्छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी यी औषधि नियमित रूपमा बिचमा नछुटाई ६ देखि ८ महिनासम्म सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने उनले सुनाए । औषधि खाँदै गर्दा बिचमा छोडेमा जटिल समस्या आउन सक्ने उनले सुनाए । सुर्तीजन्य पदार्थ, लागु औषध वा पदार्थ र मादक पदार्थ सेवन गर्नु नहुने उनले सुझाए ।