फागु पूर्णिमा (पहाडी जिल्ला), पूर्णिमा व्रत, विश्व क्षयरोग दिवस

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ११,

मुलुकमा होली हे नेपाली जनको प्रिय । अनि विशिष्ट रङ्गिन पर्व, होलीको शुभकामना । फागु, होली, फागु पूर्णे अनेक नामले यो पर्व चिनिन्छ । मिल्ने भए तपाईँको मोबाइल स्क्रिनबाटै पिचिच्च पारेर हामी नेपालको चिसो अनि निर्मल पानी छ्यापी दिने थियौँ । आनन्द अनि उत्साहको यो वसन्त क्रृतुको चाडमा आफ्ना लागि केही समय निकाल्नुहोला । अनि आफन्तजनसँग भेट्नु होला या सन्देश अनि फोन गर्नुहोला । जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ अनि जुनसुकै अवस्थामा हुनुहुन्छ, होलीको रङ्गले अनि उत्साहले तपाईँलाई छोओस् । अनि छुनै पर्छ पनि । होलिकाबारे नेपाल अनि भारतमा विभिन्न कालखण्डमा धेरै कालजयी कृतिहरू अनि गीतहरू रचना गरिएका छन् । परापूर्व कालदेखि चलिआएको यो पावन पर्वको कृपाले हामी सबैका श्यामस्वेत सपनाहरूले रङ्ग पाउन्, उमङ्ग पाउन् अनि नयाँ ढङ्ग पाउन् ।
मिथिला परिक्रमा अन्तर्गत भक्तजनहरू पूर्णिमाको दिन नै परिक्रमा सकेर जनकपुर आइपुग्ने भएकाले आज विश्राम गरिने र तराईको होली चाहिँ भोलि हुने परम्परा बसेको हो । यस कारण पहाडको होली पूर्णिमा कै दिन र तराइको होली भोलिपल्ट गरिन्छ । आज पहाडको होली हो । उति बेलाका अयोध्या राज्य होस् या अवध राज्य, मिथिला राज्य होस् या २२ से या २४ से राज्यहरू नै किन नहुन्, वसन्त ऋतुको यो महान् पर्व होलीका पृष्ठभूमिहरू अनि मनाइएका चलनहरू प्रशस्तै इतिहासमा वर्णित छन् । काठमाडौँको वसन्तपुरमा विधिपूर्वक चीर ठड्याएपछि होली पर्व औपचारिक सुरुवात हुन्छ । हनुमान ढोकाको गद्दी बैठकमा तीन तले चीर ठड्याइन्छ, फागुन शुक्ल अष्टमीका दिन । अनि वसन्तपुरमा ध्वजासहित लिङ्गो गाड्दै फागु पर्वलाई स्वागत गरिन्छ । असत्यमाथि सत्यको जीत भएको सूचकका रुपमा यो चीर राखिन्छ । पछि लगेर टुँडिखेलमा चीरलाई बिर्सजन गर्ने चलन छ । जलेको चीरको खरानी शुभ लक्षण रूपमा बासिन्दाहरूले घर–घरमा लैजाने गर्छन् । त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ । दौत्यराज हिरण्यकशिपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भस्म पार्न लाग्दा उनी आफै आगोमा भस्म भएको दिनका रूपमा ‘होली–पर्व’ पर्दापण भएको मानिन्छ । दौत्यराज हिरण्यकशिपु आप्mनै पुत्र प्रह्लाद भगवान् भक्त भएकामा क्रोधी बनेका थिए । भगवान् विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि भगवान्भक्त प्रह्लादका घटना क्रमसँग सम्बन्धित छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्त्व अनि चलनको चर्चा गरिएको छ । भगवान् श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भएपछि गोपालवासीहरूले जयजयकार गर्दै आजको दिनको रङ्गिन उत्सव मनाएको कथा पनि धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ । नीलो रङ्गले मानवता र धैर्यतालाई दर्साउँछ भने पहेँलो रङ्ग भगवान् श्रीकृष्णको प्रिय रङ्ग मानिन्छ । होलीका बेला सौभाग्यको सूचक रातो रङ्गको प्रयोग पनि आज व्यापक गरिन्छ । शुक्ल पक्षको ठुलो चन्द्रको छत्रछायामा होली–गीत गाउँदै रातभरि कार्यक्रम आयोजना गर्ने चलन पनि छ । आजको दिन नेपालमा सार्वजनिक बिदा दिइन्छ । उपत्यका लगायत अन्य ठाउँहरूमा आजै अर्थात् फागुन पूर्णिमाकै दिन अनि तराई क्षेत्रमा भोलिपल्ट दिन बिदा दिइन्छ । वास्तवमा भन्ने हो भने होलीले मानिस अनि रङ्गहरूबिचको सम्बन्ध अनि रङ्गले पार्ने उत्साहजनक प्रभाव पार्छ भन्ने मान्यता राखिन्छ । के बालक ? के वृद्ध ? अनि के वयस्क ? होली सबैको पर्व हो । धार्मिक मान्यता एकातिर होला, केवल उत्साह अनि सद्भावका रूपमा हेरेरै त होला नेपाली जन चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मिन्छन् । बाल–बालिकाले पिचकारी अनि स–साना बेलुनका साथमा मज्जा लिन्छन् । फेरि पिचकारी बजारमा किन्न पाउने मात्र नभई तराईतिर बाँस काट्दै बनाइएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टिकका बोतलबाट बनाइएका पिच्कारीहरु पनि हुन्छन् । वयस्कका निम्ति होली रङ्गहरू अनि भ्रातृत्व र साहसको पर्व हो । सुरु–सुरुमा जो कोही पनि यसपाला म रङ्ग खेल्दिन भनी बस्छन् । तर सुस्तरी रङ्गिन माहौल अनि साथी–भाइको रङ्ग भरिएका हात अनि पानीका फोहोराबाट बच्न हम्मे हम्मे पर्छ । पुराना यादहरू सँगाल्दै अनि अबिर र केसरीको चुटुक्क टिकाका साथमा वृद्ध पुस्ताले दिएका आशिषको पनि होलीमा विशेष महत्त्व रहन्छ । यो पर्वमा खाने कुराहरूमा आज मालपुवाको विशेष महत्त्व रहन्छ भने तराईतिर भने तरुवा, भरुवाको विशेष महत्त्व हुन्छ । सरसुको दानालाई सिलौटोमा पिसेर अनि मरमसला मिसाएर भान्टाभित्र राखी तारिएको भरुवाको आज विशेष महत्त्व हुन्छ । अर्कोतर्फ भाङको घोटा अर्थात् गाउँतिर पाइने भाङको दानाको धुलो बनाई दूध अनि चिनीको मिश्रणमा हालेर बनाइएको घोटा खाँदै अनि खुवाउँदै जोगीरा सररर…. को तालमा नाँच्नुको विशेष महत्त्व हुन्छ । तराईतिर त झन् पोखरी नै रङ्गिन पुग्छन्, रङ्गहरूले । खेल्न नमान्ने अनि आनाकानी गर्नेहरूलाई चोपलेर पोखरीमै फालिदिने चलन पनि छ । पहाडमा भन्दा एक दिनपछि मात्र तराईमा होली मनाउने चलन छ । तराई–होली विशेष भोलि हामी लिपिबद्ध गर्ने नै छौँ । पहिले–पहिले होलीका दिनमा लोला अनि फोहोर पानीहरू मिसाएर पदयात्री अनि काममा निस्केका मान्छेहरूलाई ताकेर हानिने चलन धेरै थियो । तर बिस्तारै यसरी होली मनाउने चलन घट्दै गएको छ तर जे होस्, होलीको उल्लासमा यो वर्ष पनि पहाड र तराईका जिल्लाहरूमा कमी आउने वाला छैन । होलीको कृपाले भ्रातृत्व अनि सदाचारको वृद्धि होस् । जनकपुरदेखि टनकपुरसम्म अनि विराटनगर देखि ब्रिस्वेनसम्म बस्ने नेपालीमा यो पर्वले खुसीयाली ल्यायोस्, जय होस् ।
पूर्णिमा व्रत
वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समय वाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ । शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेष भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरूपमा गरिन्छ । सामान्यतया सत्य नारायण पूजा जहिले गरे पनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पुजा को फल निकै धेरै पाइन्छ ।
विश्व क्षयरोग दिवस
सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप चाहिँ ट्यूब्रक्लोसीस अर्थात् Tuberculosis हो । क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र विभिन्न रोग र सङ्क्रमणका रूपमा यसलाई लिने गरिएको पाइएको छ । क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन जसको उपस्थिति प्राचीन समय बाटै आजसम्म भएको पाइन्छ । हरेक वर्षको मार्च २४ विश्व क्षयरोग दिवस मनाइन्छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस वर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाँउदैछ । आज मेडिकल विज्ञान लगायत उपचार पद्धतिको यो उँचाइसम्म पुग्दा पनि विश्व जनसख्याँको एकतिहाई जनसख्याँ क्षयरोगको कीटाणुको सङ्क्रमण जोखिममा रहेको देखिन्छ । विकासोन्मुख देशहरूमा यो जोखिम दर त झन् बढेर ९० प्रतिशत सम्म रहेको पनि देखिन्छ । नेपालको क्षयरोगको तथ्याकं झन् भयावह छ, राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसख्याँ क्षयरोग ले ग्रसित पाइएको छ । हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरू नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले बर्सेनि मर्ने तथ्याकं पनि देखिन्छ । क्षयरोगीहरू को उमेर समूह धेरैजसो उत्पादक उमेर समूह अर्थात् १५ देखि ४९ वर्ष हुने गर्दछ । नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट सेवा केन्द्रहरू रहेका छन् । सन् २०१६ सम्मा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७७ वटै जिल्लामा लाने नेपाल सरकारले लक्ष्य लिएको थियो तर कोभिडको महामारी र विषम परिस्थितिका कारणले अपेक्षाअनुरूप यो लक्ष्य पुरा भइसकेको छैन । यस प्रविधि क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरीय मानिन्छ । प्रतिवर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गर्दछ । स्मरण रहोस् नेपालमा हुने क्षयरोग मध्य ७५ प्रतिशत बढी त फोक्सो कै क्षयरोग हुने र अन्य ग्रन्थि, पाठेघर, पेट, कलेजो, मिर्गौला, मस्तिष्क र हड्डी आदिका हुने गर्दछन् । ३ हप्ता या बढी देखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकस्मात् धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ्य चौकी गएर जँचाउन पर्दछ । क्षयरोग सर्न पनि सक्दछ भने शारीरिक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा यो सङ्क्रमणले सहजै डेरा जमाउन सक्दछ । नेपाल सरकारले क्षयरोग को उपचार निःशुल्क गर्दछ भनेँ सन् २०३५ सम्म क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ । गाउँघरमा क्षयरोग विरुद्ध जनचेतनाको अभाव अनि उपचार गर्न नआउने समस्या रहेको छ । आजको दिनले क्षयरोग विरुद्ध देशव्यापी जागरण ल्याउने र चेतना फैलाउने उद्देश्य पनि राख्दछ ।
५ वर्ष मुनीको बच्चामा, भर्खरै क्षयरोग देखिएको मान्छेमा, कमजोर रोग प्रतिरोध क्षमता भएका मान्छेहरूमा, चुरोट रक्सी या लागु औषध सेवन गर्नेहरूमा र क्षयरोगको औषधीको डोज पूर्ण सेवन नगरेका हरूमा यस सङ्क्रमण फेरि देखिन सकिन्छ ।औषधीको नियमित सेवन ले क्षयरोग निको हुन्छ तथापि क्षयरोग बाट जोगिनु जरुरी छ । रोग लाग्नु भन्दा लाग्न नदिनु नै विवेकी कार्य हो हैन र ? यस रोग विरुद्ध सबैजना सचेत बनौँ अनि स्वस्थ रहौँ ।

Like