चिकित्सकहरू डा. सुनिल शर्माविरुद्ध आन्दोलित

Share to:

रासंसा/काठमाण्डौ, पौष १८,

मुलुकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माको काठमाडौं मेडिकल कलेज (केएमसी)ले निलम्बन गरेका डा. विशद दाहालको निलम्बन फिर्ता गर्न काठमाडौं विश्वविद्यालय (केयू)ले कलेज प्रशासनलाई पत्र पठाएको छ । तर, कलेज प्रशासनले भने डा. विशद दाहाललाई कलेज प्रवेशमा लगाएको रोक जारी राखेको छ । यस विषयलाई लिएर केएमसीका आवासीय चिकित्सकलगायत अन्य कन्सल्टेन्टहरूसमेत आन्दोलित भएका छन् । यसैक्रममा त्यसरी खटाइएका डा. विशद दाहालले खटिएर जान इन्कार गरे र फलस्वरूप उनलाई कलेज प्रशासनले निलम्बन गरेको हो । निलम्बनका विरुद्ध आवासीय चिकित्सकहरू आन्दोलित भए । आवासीय चिकित्सकहरूप्रति अन्य कन्सल्टेन्टलगायत फ्याकल्टीको स्पष्ट सहानुभूति थियो । उनीहरू काठमाडौं विश्वविद्यालय चिकित्सा संकायका डीनसमक्ष उजुरी लिएर गए । उनीहरूको भनाइ यस्तो छ, ‘हामी केएमसीका कर्मचारी होइनौं, काठमाडौं विश्वविद्यालयले हाम्रो स्नातकोत्तर अध्ययनको थलोका रूपमा केएमसी तोकेको मात्र हो, विश्वविद्यालयका विद्यार्थीको पाठ्यक्रममा कलेजको आफूखुसी क्याम्पमा खटाउने विषय पर्दैन, फिल्डमा खटाउने विश्वविद्यालयको बेग्लै मापदण्ड हुन्छ, यसरी मनपरी खटाउनु एकातिर शोषण हो भने अर्कातर्फ हाम्रो अध्ययन बाधित हुनु हो ।’ सुनिल शर्माको स्वामित्वमा रहेको केएमसी र विराटनगरस्थित नोबेल कलेजमा समेत स्वास्थ्य क्याम्प भन्दै मुलुकका विभिन्न भागमा विशेषज्ञ सेवा दिने नाममा स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई खटाउने प्रचलन रहेको छ । त्यस प्रकारको क्याम्पको उद्देश्य मूलतः सुनिल शर्माको राजनीतिक प्रभाव बढाउने रहनेगरेको छ । त्यसरी खटाइँदा ती आवासीय चिकित्सकलाई अत्यन्तै कम सुविधा दिएर शोषण गर्ने गरेको समेत बताइन्छ । केयूले यस सम्बन्धमा कलेजको राय तीन दिनभित्र पेस गर्न भनेको छ । सो राय प्राप्त भएपछि निलम्बन कार्यान्वय गर्नुपर्ने वा नपर्ने भन्ने निर्णय लिनु उपयुक्त हुने हुनाले डा. विशद दाहालको निलम्बन हाललाई स्थगन गरिएको केयूले जनाएको छ । साथै, डा. दाहाललाई निलम्बन गर्दा अपनाउनुपर्ने न्यूनतम प्रक्रिया स्पष्टीकरणको मौका प्रदान गरिएको हो वा होइन र सम्बन्धित ‘प्रिसेप्टर’बाट निलम्बन गर्नुपर्ने आधारसहितको लिखित राय पेस भएको छ वा छैन लगायतका विषयमा केयूले प्रश्न उठाएको छ । सुनिल शर्माको आफूखुसी हैकम बन्द नहुने हो भने आन्दोलनले चर्को रूप लिने र यो आन्दोलन केएमसीबाट मुलुकभरी फैलिनसक्ने समेत आवासीय चिकित्सकहरू बताउँछन् । यी सबैका बाबजुद सुनिल शर्मा डा. दाहालको निलम्बन फिर्ता गर्न तयार देखिँदैनन् । यस विषयलाई लिएर शर्माको केयू चिकित्सा संकायका डीन प्रा.डा. मनोज हुमागाईंसँग भनाभन भएको समेत सूत्रको दाबी छ । डीनका तर्फबाट निलम्बन फिर्ता गर्न भनिएपछि सुनिल शर्माले ‘केएमसी र नोबेल कलेजले काठमाडौं विश्वविद्यालयसँगको सम्बन्धन तोड्ने’सम्मको धम्की दिएको बुझिएको छ । स्वाभाविक रूपमा डीनले सुनिल शर्मालाई खरो जवाफ दिएको पनि थाहा भएको छ । यस मामिलामा चिकित्सा शिक्षा आयोगले समेत विश्वविद्यालयसँग पत्राचार गरेको छ ।

Like