रासंसा/काठमाण्डौ, आश्विन १८,

डा. के. बि. सम्राट
मानव सभ्यताको विकास केवल भौतिक उपलब्धि र आधुनिक प्रविधिको प्रगतिले मात्र मापन हुँदैन। हाम्रो संस्कार, संस्कृति, प्रकृतिप्रतिको सम्मान, पूर्वजप्रतिको कृतज्ञता र समस्त जीवप्रति देखाइने करुणाले पनि सभ्यताको वास्तविक उचाइ निर्धारण गर्दछ। यही मानवीय चेतनाका विविध आयामलाई एउटै भावभूमिमा जोड्ने महत्वपूर्ण अवसर हुन् – जितियापर्व, नवमी श्राद्ध र विश्व पशु दिवस। यी तीनै अवसरको स्वरूप फरक भए पनि तिनको अन्तर्यमा प्रेम, कर्तव्य, संरक्षण, कृतज्ञता र करुणा जस्ता समान मानवीय मूल्यहरू निहित छन्।
जितियापर्व : सन्तानको दीर्घायु र मंगलकामनाको पवित्र व्रत
जितियापर्व केवल व्रत बस्ने धार्मिक अभ्यास मात्र होइन; यसले मातृत्वको त्याग, परिवारप्रतिको जिम्मेवारी र सन्तानको सुखका लागि गरिने निःस्वार्थ प्रार्थनालाई अभिव्यक्त गर्दछ। बदलिँदो समयसँगै पर्वका बाह्य स्वरूपहरू परिवर्तन हुन सक्छन्, तर यसको मूल भावना—माया, त्याग र संरक्षण—सधैँ जीवन्त रहनुपर्छ।
विशेषतः नेपालका थारू तथा तराई–मधेशलगायत विभिन्न समुदायमा श्रद्धापूर्वक मनाइने जितियापर्व मातृप्रेम, त्याग र सन्तानप्रतिको अटुट समर्पणसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्व हो। आमाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–समृद्धि र मंगलकामनाका लागि श्रद्धापूर्वक व्रत तथा पूजा–आराधना गर्ने परम्परा यस पर्वको प्रमुख विशेषता हो।
संस्कृतमा ‘जीवित पुत्रीका’, हिन्दीमा जियतिया र नेपालमा तराईबासी मधेशी महिलाहरू ‘जितिया’लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् । यसलाई जीवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको अष्टमी तिथिको कृष्ण पक्षको दिन मनाइन्छ । यो पर्व खासगरी आमाहरूले आफ्नो जीवित पुत्रहरूका लागि व्रत बस्ने गर्छन् । महिलाहरू ‘निर्जला’ अर्थात् पानी समेत सेवन नगरीकन २४ घण्टासम्म भगवान ‘जीतमहान गोँसाई’को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ ।
विशेषतः तराई र अन्य स्थान लगायत भारत अनि संसारका धेरै देशमा वैदिक सनातन हिन्दू रीत अनुसार आज जितियाको व्रत लिइन्छ । यो व्रत कुनै धनधान्य अनि ऐश्वर्यका लागि नभई नितान्त मातृस्नेह र मातृवात्सल्यको एउटा अद्भूत उदाहरण हो । अश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म गरी तीन दिनसम्म मनाइने यो पर्वको प्रथम दिनलाई नहाई–खाई अर्थात् एकाबिहानै उठी नजिकको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ । आमाहरूले स्नान गरेर मात्र यस दिन चोखो खानेकुरा सेवन गर्छन् । दोश्रो दिन जीवित पुत्रीकाको दिन ‘अष्टमी’ र यस दिनलाई ‘खर दिन’ पनि भनिन्छ । खर भनेको एक प्रकारको घाँस हो र यो तराईका शितल नदीका किनारहरूमा बाक्लै भेटिन्छ । यसलाई विभिन्न धार्मिक सामाजिक कार्य लगायत गाउँतिर घरको छाना छाउन पनि प्रयोग गरिन्छ । तेश्रो दिनलाई पारण भनिन्छ र यस दिन खाना खाइन्छ । तिथि मितिमा तलमाथि परे अथवा एउटै तिथि दुइै दिन परेमा कहिलेकाहीँ आमाहरूले तीन दिनसम्म निर्जल व्रत बस्नुपर्ने पनि हुन्छ ।
त्यसैगरी थारु समुदायमा जितियालाई उत्तिकै महत्वका साथ लिइन्छ । जितियालाई विजय अर्थात् जितका रूपमा लिँदै नवलपरासी अनि चितवनका महिलाहरूले तीन दिनसम्म महत्वका साथ जितिया मनाउँछन् । भगवान विष्णु, शिव र भगवान सूर्यलाई पूजा अर्चना गर्छन् । पारम्परिक गीत, सङ्गीतका साथमा नाचगानसहित जितिया पर्व मनाइन्छ ।
एकादेशमा नर्मदा खोलाको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो । उक्त ठाउँमा राजा मलायकेतुले राज्य गर्दथे । खोलाको पश्चिमी किनारामा बलुहटा नाम गरेको एउटा मरुभूमि पनि थियो । त्यही किनारमा एउटा पाखरको रुख थियो, जसमा पोथी चील चरा बस्थी । जसको रुखमुनि पोथी स्यालको बास थियो । उनीहरू दुवै साथी–साथी भए । एकदिन गाउँका अरु महिलाहरूले जस्तै उनीहरूले पनि भगवान जीतमहान गोँसाईको निर्जल व्रत बस्ने निर्णय गरे ।
तर संयोगवश त्यसै दिन उनीहरू बस्ने मरुभूमिको छेउस्थित शहरको धनी ब्यापारीको छोरालाई ल्याएर गाडियो । चीलले अरु महिलाहरू झैं व्रत कायम राखेपनि स्याल भने गाडेको लाशको मासु सेवन गर्ने तीव्र इच्छा दबाउन नसकेर व्रत तोड्न पुग्दछे । अर्को जन्ममा यी दुवै चील र स्याल एउटै घरमा अनि ब्राह्मण परिवारमा दिदी–बहिनीका रूपमा जन्मिन्छन् ।
चील अब शिलवती नामकी व्राह्मण कन्याको रूपमा र उनकी बहिनी अर्थात् स्यालको यस जन्ममा कपुरवती हुन्छे । शिलवतीको बुद्धिसेन भन्ने व्यक्तिसँग अनि बहिनी कपुरवतीको विवाह राजा मलायकेतुसँग हुन्छ । शिलवतीको सात जना सुन्दर पुत्रहरू हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु भएकाले उनी एकदमै दुखी र निराश हुन्छिन् । शिलवतीका छोराहरूले राजा मलायाकेतु कहाँ काम गर्न थाल्छन् ।
ती केटाहरू आफ्नी दिदीका पुत्रहरू भएको थाहा पाएपछि पूर्वजन्मकी स्याल अनि यो जन्मकी शिलवतीकी बहिनी कपुरवती रिसले चुरचुर हुन्छिन् । राजालाई भनेर ती सातै जना शिलवती पुत्रहरूको हत्या गर्न लगाई तिनको टाउकालाई रातो कपडामा बेरेर दिदी कहाँ पठाउने षडयन्त्र गर्छिन् । तर यो कुरा भगवान जीतमहान गोँसाईले थाहा पाएपछि सातै छोरालाई बचाउनुहुन्छ । ती सातै जना पुत्रहरूलाई अमृत दिएर अमर बनाउँदै उनीहरूको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिन्छ । यसरी रातो कपडाले बेरिएको भाँडो शिलवतीको घरमा पुग्दा टाउकाको साटो फलफूलले भरिपूर्ण उपहारको रूपमा परिणत हुन्छ ।
यता हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदीको घरमा अब छोराहरूको मृत्यु र टाउको मात्रको आगमनले त्रसित, भयभित अनि रुवावासी भइरहेको होला भनी एकजना सेविकालाई बुझ्न पठाउँछिन् । तर शिलवतीको घरमा हर्ष उल्लास र खुशियाली छाएको सन्देशयुक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात् कपुरवतीका पतिले पक्कै पनि त्यो घरमा भगवानको कृपा छ भन्ने सोच्छन् ।
दिदीको खुशी सहन नसकी अव कपुरवती दिदीको घर पुग्छिन् र आफूले सम्पूर्ण कुरा भनिदिन्छिन् । यसो भन्दै गर्दा शिलवतीलाई पूर्वजन्मको कुरा याद आउँछ, जहाँ उनले चीलको रूपमा भएपनि भगवान जीतमहान गोँसाईको व्रत बसेकी थिइन् । यो प्रसंग शिलवतीले बहिनीलाई भन्छिन् । यो सुनेर बहिनी कपुरवती बेहोस् हुन्छिन्, जसलगत्तै उनको मृत्यु हुन्छ । यसै बेलादेखि भगवान जीतमहान गोँसाईको श्रद्धापूर्वक ढंगले आमाहरूले छोराछोरीका रक्षका लागि जितिया पर्वमा व्रतको परम्परा थालेको मान्यता रहिआएको छ ।
प्रकृतिको अर्चना पनि थारु समुदायको जितियाको एउटा महत्वपूर्ण पाटो हो । थारु समुदायले जितियामा नाँच्ने नाचलाई ‘झ्याम्टा’ भनिन्छ । यो समुदायले ब्रहमथानमा गाउने पानीका देवताको एउटा विशेषखाले गीत हुन्छ, जसलाई ‘जतसरी’ भनिन्छ । पिपलको हाङ्गा काटेपछि थारु महिलाहरूले गाउने एउटा अर्को पारम्परिक विशेष गीत छ, जसलाई ‘दारकाटोनी’ भनिन्छ । जितिया पर्वमा खुला आकाशमुनि सम्पूर्ण गीत अनि नृत्य प्रदर्शन गर्ने गरिन्छ ।
थारु समुदायमा पिपलको हाङ्गा काटेर अनि धानका बिरुवाहरू उखेलेर गाउँको बीचमा गाईको गोबरले लिपेर राखिन्छ । यसरी लिपेर तयार पारिएको ठाउँलाई ‘थाट’ भनिन्छ । बहुभाषिक अनि बहुसंस्कृतियुक्त हाम्रो देश नेपालमा जितिया पर्वले धेरै समुदाय, भाषा अनि संस्कृति मान्नेहरूलाई एकै थलोमा भेला पार्छ । अझ विशेष रूपले नेपालको मिथिलाञ्चलमा एकदमै प्रचलित यो पर्वको विशेष परिकारको आकर्षण भनेको ‘झोर भात’ अर्थात् झोल भनेको तरकारी लगायतका कुराको रस र सामान्य भात अनि ‘नोनीको साग’ र ‘मडुवा’ अर्थात् कोदोको रोटी हो ।
खानेकुराको स्वाद त समय अनि भान्छा अनुसार परिवर्तन हुन सक्ला, तर एउटी आमाको आफ्नो सन्तानप्रतिको माया सदियौंदेखि उत्तिकै पवित्र अनि मातृमिठासले भरिपूर्ण छ । सबै आमाका छोराछोरीको रक्षा होस् । सबै छोराछोरीले आमालाई माया गरुन् । जितियाको प्रसाद अनि आशिषले सम्पूर्ण नेपाली समाजलाई बलियो र एक–आपसी सहकार्यमा मजबूत बनाउन सहयोग गरोस् । जितियाको अपार शुभकामना !
नवमी श्राद्ध : पितृप्रति श्रद्धा र कृतज्ञताको संस्कार
श्राद्धले हामीलाई एउटा गहिरो जीवनदर्शन सिकाउँछ—मानिस आफ्नो वर्तमानमा मात्र सीमित हुँदैन; ऊ विगतका पुस्ताको निरन्तरता र भविष्यका पुस्ताको आधार पनि हो। सोह्रश्राद्धको क्रमअन्तर्गत पर्ने नवमी श्राद्ध पनि पितृस्मरण र कृतज्ञताको महत्वपूर्ण अवसर हो। श्राद्धको मूल अर्थ नै श्रद्धापूर्वक पूर्वजहरूको स्मरण गर्नु हो। हामी आज जुन जीवन, संस्कार, परिवार र सामाजिक पहिचानका साथ अघि बढिरहेका छौँ, त्यसको आधार निर्माण गर्ने पूर्वजहरूप्रति सम्मान प्रकट गर्नु हाम्रो सांस्कृतिक दायित्व हो।
त्यसैले पितृस्मरण केवल कर्मकाण्डमा सीमित नरही पूर्वजहरूले दिएका असल संस्कार, नैतिकता, परम्परा र जीवनमूल्यलाई व्यवहारमा उतार्ने संकल्प बन्नुपर्छ। यही नै श्राद्धको वास्तविक सार्थकता हो।
देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।। यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
सोह्र श्राद्धका तिथिहरू क्रमशः अघि बढ्दैछन् । सोह्र श्राद्धको प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बीचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्णी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरूको आर्शिवाद कायम रहोस् । सदीक्षा र शुभेच्छा कायम रहोस् । हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ? वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात् श्राद्ध दुईपटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परिवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस् ।नवमी श्राद्ध तिथिमा बैकुण्ठबास हुनुभएका पितृहरूको मोक्षको कामना ।
विश्व पशु दिवस – मूक प्राणीप्रति मानवीय दायित्व
हरेक वर्ष अक्टोबर ४ मा मनाइने विश्व पशु दिवसले पृथ्वीमा रहेका पशुपक्षी तथा समस्त प्राणीप्रति मानवको जिम्मेवारीलाई स्मरण गराउँछ। मानिस प्रकृतिको स्वामी होइन, प्रकृतिको एउटा महत्वपूर्ण हिस्सा हो। पशुपक्षी, वन्यजन्तु र अन्य जीव–प्राणीको अस्तित्व पनि पृथ्वीको पारिस्थितिक सन्तुलनका लागि उत्तिकै महत्वपूर्ण छ।
पशुमाथि हुने अनावश्यक हिंसा, क्रूर व्यवहार, अवैज्ञानिक ढुवानी, अव्यवस्थित पालन तथा प्राकृतिक बासस्थानको विनाशले केवल पशुहरूलाई मात्र होइन, सम्पूर्ण पर्यावरणीय प्रणालीलाई असर गर्छ। त्यसैले पशुप्रति दया गर्नु केवल भावनात्मक विषय होइन; यो पर्यावरणीय सन्तुलन र मानवीय सभ्यताको संरक्षणसँग जोडिएको विषय हो।
हरेक बर्ष अक्टोबर महिनाको ४ तारिखमा विश्व भरि जनावर दिवस मनाइन्छ अनि जनावर संगको मानविय दायित्व र समबन्धलाई अन्र्तनिर्भरतासंग व्याख्या गरिन्छ । मानव अनि जनावरहरु सबैका लागि यस संसार एउटा राम्रो ग्रह हुनपर्दछ भनेर आज जनावर अधिकार संगठन अनि जनावर अधिकारकर्मी हरु एकै थलोमा भेला हुने गर्दछन् ।
सन् १९२५ अर्थात्त लगभग ९४ बर्षअघि जर्मनको बर्लिनमा जर्मन लेखक हेनरिच जिमरम्यानले बिश्वमै प्रथम जनावर दिवस मनाएक हुन् । सन् १९२९ बाट औपचारीक रुपमै अक्टोबर ४ मा यस दिवस मनाउन थालियो, यस दिनमा ईटालियन संत फ्रँन्सिस अफ एसिसी को जन्मदिन पनि पर्न गएको हो, यि सन्तलाई ११ औं शताब्दीवाट अहिलेसम्म पर्यायवरण र जनावर मैत्रि समाजका प्रवर्तक र प्रचारक का रुपमा चिनिन्छ ।
विश्व पशु दिवसले पशु कल्याण आन्दोलनलाई एकताबद्ध गर्दछ, यसलाई विश्वलाई सबै जनावरहरूको लागि राम्रो ठाउँ बनाउन विश्वव्यापी शक्तिमा परिचालन गर्दछ।कुकुर तिहार, गाई तिहार, गोरु तिहार लगायतका चाड हरुले त जनावरको यस बिश्वमा उपस्थितीलाई नै पूर्नव्याख्या र पूर्नपरिभाषीत गरिदिएको छ । हामीमध्य हरेक मान्छेले जनावरहरुको संसारलाई कृही हदसम्म खुकुलो पार्न सक्दछौं । केही जनावर खतरनाक हुन्छन् त केही मैत्रि हुन्छन्, जे होस् पृथ्वीमा बस्ने अधिकार सबैलाई समान छ ।
जितियापर्वले मातृप्रेम र संरक्षण सिकाउँछ। नवमी श्राद्धले पितृस्मरण र कृतज्ञता सिकाउँछ। विश्व पशु दिवसले समस्त प्राणीप्रति करुणा र जिम्मेवारी सिकाउँछ। यसरी हेर्दा यी तीनै अवसरले मानव जीवनको तीन महत्वपूर्ण सम्बन्धलाई उजागर गर्छन् – परिवार, पूर्वज र प्रकृति।
माताले सन्तानको जीवनका लागि त्याग गर्छिन्; पूर्वजहरूले वर्तमान पुस्ताका लागि जीवन, संस्कार र सभ्यताको आधार तयार गर्छन्; प्रकृतिले मानवसहित सम्पूर्ण जीवलाई जीवन धान्ने आधार प्रदान गर्छ। त्यसैले मानिसले पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ—परिवारप्रति प्रेम, पूर्वजप्रति सम्मान र प्रकृतिप्रति संरक्षण।
आजको आधुनिक समाजमा पर्व तथा दिवसहरू केवल औपचारिक उत्सवमा सीमित हुने खतरा बढ्दै गएको छ। सामाजिक सञ्जालमा शुभकामना आदानप्रदान गर्नु महत्वपूर्ण भए पनि त्योभन्दा ठूलो कुरा ती अवसरले दिएका सन्देशलाई व्यवहारमा उतार्नु हो। जितियाको अवसरमा मातृशक्तिको सम्मान गरौँ। नवमी श्राद्धमा पितृहरूको असल संस्कारलाई जीवनमा आत्मसात् गरौँ।
विश्व पशु दिवसमा कुनै पनि प्राणीमाथि अनावश्यक क्रूरता नगर्ने र आफ्नो वरपरका जीवजन्तुप्रति संवेदनशील बन्ने प्रण गरौँ।
जितियापर्व, नवमी श्राद्ध र विश्व पशु दिवस तीन फरक सांस्कृतिक तथा सामाजिक सन्दर्भका अवसर भए पनि तिनले मानव जीवनलाई एउटै गहिरो पाठ दिन्छन्—जीवनप्रति सम्मान गर, सम्बन्धप्रति कृतज्ञ बन र कमजोर तथा मूक प्राणीप्रति करुणाशील बन।
मातृप्रेमले परिवारलाई जोड्छ, पितृस्मरणले पुस्ताबीचको सम्बन्धलाई जीवन्त राख्छ र प्राणीप्रतिको करुणाले मानवतालाई अझ महान् बनाउँछ। त्यसैले आजको दिन केवल पर्व र दिवस मनाउने दिन होइन, प्रेम, श्रद्धा, कृतज्ञता र करुणालाई आफ्नो जीवनको संस्कार बनाउने दिन पनि हो।
“मातृप्रेममा त्याग, पितृस्मरणमा कृतज्ञता र प्राणीप्रेममा मानवताको उज्यालो—यही हो जितिया, श्राद्ध र विश्व पशु दिवसको साझा सन्देश।”
(लेखक ओम कैलाश शिवढुंगा शिवशक्ति महापीठ धामका महासचिव तथा राष्ट्र संरक्षण डट कमका संचालक संरक्षक हुनुहुन्छ)
