राजनीति नाफा, नोक्सानको हिसाबकिताब मिलाउने पेशाजस्तो होइन : राष्ट्रपति पौडेल
रासंसा/काठमाण्डौ, ज्येष्ठ १५,
मुलुकमा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति नाफा, नोक्सानको हिसाबकिताब मिलाउने पेशा, व्यवसायजस्तो नभएको बताएका छन्। गणतन्त्र दिवस, २०८० को अवसरमा शुभकामना दिँदै उनले राजनीति विशुद्ध समाजसेवा हो भन्ने भावना हामी सबैमा जागृत नभएसम्म हामीभित्रैबाट पैदा हुने राजनीतिक नेतृत्वमा पनि गलत प्रवृत्ति र प्रभाव रहिरहने बताएका छन्। राष्ट्रपति पौडेलले केही व्यक्ति विशेषका आचरण र व्यवहारलाई लिएर जनताको व्यवस्थामाथि नै आँच पुर्याउने गतिविधि र बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न नसक्ने बताएका छन्। ‘राजनीति नाफा, नोक्सानको हिसाबकिताब मिलाउने पेशा, व्यवसायजस्तो होइन यो त विशुद्ध समाजसेवा हो भन्ने भावना हामी सबैमा जागृत नभएसम्म हामीभित्रैबाट पैदा हुने राजनीतिक नेतृत्वमा पनि गलत प्रवृत्ति र प्रभाव रहिरहन्छ। ’ शुभकामना सन्देशमा भनिएको छ,‘यो यथार्थलाई बुझेर राजनीति देश र जनताप्रति समर्पित हुने सेवाभाव हो भन्ने प्रमाणित गर्ने गरी आफ्ना आचरणहरू परिवर्तन गर्न तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था तथा बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक प्रणालीको माध्यमद्वारा राष्ट्रियता र राष्ट्रिय एकता प्रवर्द्धन गर्न हामी सबैलाई आजको यस ऐतिहासिक दिवसबाट सत्प्रेरणा मिलोस् भन्ने शुभेच्छासहित पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु।’ लोकतन्त्रका लागि भएका आन्दोलनको मुख्य वाचा शासन प्रणाली जनता सुहाउँदो हुनुपर्ने उनको भनाई छ। ‘कुनै एक वंश विशेषमा ज्येष्ठताको आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो बहुलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रको प्रमुख विशेषता हो। यो व्यवस्थाले त्यही अनुकूलको राजनीतिक आचरण र चरित्र खोजेको कुरालाई हामीले बिर्सियौँ भने हाम्रा अग्रजहरूको लामो संघर्ष तथा नागरिकको ठूलो बलिदानप्रति नै अपमान गरेको ठहर्छ।’सन्देशमा भनिएको छ, ‘लोकतन्त्रका लागि भएका आन्दोलनको मुख्य वाचा शासन प्रणाली हावा, पानी माटो सुहाउँदो होइन जनता सुहाउँदो हुनुपर्छ र त्यसले जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्छ’ भन्ने थियो। आन्दोलनमा जनतालाई सहभागी हुन तिनताका गरिएका वाचाहरूमा हाम्रो ध्यान कति पुग्न सक्यो कि सकेन भनेर वर्तमानमा आत्मसमीक्षा गर्न जरुरी छ। जनताको अधिकारका लागि एउटै पुस्ताले तीन/तीन पटक संघर्ष र आन्दोलन गर्नुपरेको इतिहास संसारमा विरलै पाइन्छ ।’ मुलुकको आजको सबैभन्दा दारुण दृश्य भनेकै युवा पुस्ताको विदेश पलायनको लहर भएको उनको भनाई छ। सन्देशमा भनिएको छ, ‘सक्षम युवा विदेशिँदा देशलाई चाहिने जनशक्तिको अभावबाट मुलुकले ठूलो मूल्य चुकाउनुपर्छ भन्ने हेक्का समयमै राखेर उनीहरूलाई स्वदेश फर्कने वातावरण तयार गर्न गाउँबाट विचलित भइरहेको मनलाई गाउँमा नै सेवा सुविधा पुर्याएर गाउँमा नै बसौं–बसौं बनाउँने वातावरण तयार गर्न आवश्यक छ।’ राष्ट्रपति पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरी उत्पादन, रोजगार र उद्योगधन्दासहितको अवस्था सृजना गर्ने विकास प्रयासको थालनी आजको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्यमान्यतालाई नीति निर्माण तह र नेतृत्वमा बसेका सबैले जीवनशैली र संस्कारका रुपमा व्यवहारतः अपनाउनुपर्ने खाँचो रहेको टिप्पणी गरेका छन्। राष्ट्रपति पौडेलले केही व्यक्ति विशेषका आचरण र व्यवहारलाई लिएर जनताको व्यवस्थामाथि नै आँच पुर्याउने गतिविधि र बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न नसक्ने बताएका छन्। ‘संघीय लोकतान्त्रिक गणतन्त्र नै एकमात्र त्यस्तो व्यवस्था हो जसले जनताको घर आँगनमा सेवा, सुविधा र विकास पुर्याउन सर्वोत्कृष्ट माध्यमको काम गर्दछ। तर अहिलेको देशको परिस्थितिले यस्तो हो भनेर प्रमाणित गर्नुपर्ने मुख्य चुनौती हाम्रा सामु छ। यो चुनौतीको सामना गर्न शासन प्रणालीको पारदर्शिता, जनताप्रति जवाफदेही राज्यप्रणाली, सुशासन, जनसहभागितासहितको विकास प्रक्रिया, सामाजिक न्याय, अवसरको न्यायोचित वितरण, रोजगारीमा तीव्र वृद्धि र सेवा प्रवाहमा चुस्तता अनिवार्य आवश्यकता हो। यसका लागि आदर्शप्रेरित, सिद्धान्तनिष्ठ राजनीति, आचरणशील तथा उच्च नैतिक राजनीतिक नेतृत्व पहिलो शर्त हो।’ सन्देशमा भनिएको छ, ‘ संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नेक्रममा हामीले दुईपटक आम निर्वाचन र दुई पटक स्थानीय तहको निर्वाचन सम्पन्न गराइसकेका छौं। आम निर्वाचन र स्थानीय तहको निर्वाचन समयमा नै हुनु भनेको लोकतान्त्रिक गणतन्त्र संरचनागत संस्थागत विकासतर्फ उन्मुख हुनु हो। यो सबैका लागि खुशीको विषय हो। तर निर्वाचन केवल निर्वाचनका लागि मात्र नभएर जनताका आकांक्षा, आवश्यकता र समस्या मिहिन ढंगबाट सम्बोधन हुन्छ भन्ने विश्वासको आधार र अवसर पनि हो।’ देशको आवश्यकता, नागरिकको अपेक्षा र विश्वासलाई हामीले आत्मसात गर्दै समुन्नत, आधुनिक र समृद्ध नेपाल निर्माणको मार्ग प्रशस्त गर्नुपर्ने उनको जोड छ। शुभकामना सन्देशमार्फत पौडेलले भनेका छन्, ‘विपन्न, निमुखा र मूलधारबाट बञ्चित नागरिक नै लोकतन्त्रको सच्चा पहरेदार हुन्। उनीहरूको उत्थान नहुँदासम्म समृद्ध नेपाल निर्माण हुँदैन भन्ने कुरालाई ध्यानमा राखी हाम्रा नीति तथा योजनाहरू त्यसैमा केन्द्रित होऊन् भन्ने म चाहन्छु।’