अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारहेडलाइन

धार्मिक गुरुहरुद्वारा आन्दोलनको घोषणा

Share to:

रासंसा/काठमाण्डौं, श्रावण १६,

मुलुकमा धर्म, न्याय, सामाजिक समन्वय र राष्ट्रिय एकताको पक्षमा धार्मिक क्षेत्रको आह्वान गर्दै नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त राष्ट्र हो। यस राष्ट्रको मौलिक पहिचान, सभ्यता र सामाजिक सद्भावको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो उल्लेख गरेका छ्न ।
हालै देशका तराई–मधेशका विभिन्न स्थानमा भएका घटनाक्रमका कारण धर्म, संस्कृति, मानवअधिकार, सामाजिक सद्भाव तथा राष्ट्रिय एकताप्रति आम नागरिकमा गम्भीर चिन्ता र चासो उत्पन्न भएको छ। यस्ता परिस्थितिमा राज्यका सबै निकायले कानुनी शासन, निष्पक्षता, संयमता र नागरिकको मौलिक अधिकारको पूर्ण सम्मान गर्दै कार्य गर्नुपर्ने हाम्रो स्पष्ट धारणा छ।
हामी स्पष्ट रूपमा विश्वास गर्दछौँ कि कुनै पनि विवादको समाधान हिंसा, प्रतिशोध वा द्वेषबाट होइन, सत्य, न्याय, संवाद र संवैधानिक प्रक्रियाबाट हुनुपर्छ। कुनै पनि नागरिकमाथि भएको अन्याय वा मानवअधिकार उल्लङ्घनको आरोप भए त्यसको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ।
हामी सम्पूर्ण सनातन धर्मावलम्बी तथा सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई धैर्य, संयम र सामाजिक सद्भाव कायम राख्न हार्दिक अनुरोध गर्दछौँ। आन्दोलन वा असहमति व्यक्त गर्दा पनि शान्तिपूर्ण र कानुनी मार्ग अवलम्बन गर्न तथा कुनै पनि किसिमका उत्तेजना, हिंसा, घृणा वा साम्प्रदायिक विभाजनलाई प्रोत्साहन नदिन सबैमा आग्रह गर्दछौँ।
धर्मले समाजलाई जोड्ने कार्य गर्छ, विभाजन गर्ने होइन। त्यसैले राष्ट्रिय स्वाधीनता, सामाजिक सनातन एकता, धार्मिक भावनामा समन्वय र न्यायको संरक्षणका लागि सबै पक्ष जिम्मेवार, संवेदनशील र संवादमुखी बन्न आवश्यक छ।
हामी सम्पूर्ण नेपाली नागरिकलाई सत्य, न्याय, शान्ति र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गर्दछौँ।
मागहरू
१. हालैका घटनाको स्वतन्त्र, निष्पक्ष र समयबद्ध छानबिन समिति गठन गरियोस् र समितिमा सनातन धर्म पक्षधर धार्मिक प्रतिनिधि सुनिश्चित गरियोस्।
२. मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचार र राहतको व्यवस्था गरियोस्।
३. दोषी जोसुकै भए पनि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गरियोस्। साथै कुनै पनि जातीय वा समुदाय विशेषका लागि मात्र बनेका आयोग खारेज गरियोस्, अन्यथा सबै समुदायका लागि समान प्रकृतिका आयोग गठन गर्ने व्यवस्था गरियोस्।
४. शान्तिपूर्ण सभा, अभिव्यक्ति र धार्मिक स्वतन्त्रताको संवैधानिक अधिकारको पूर्ण सम्मान गरियोस्। धर्म परिवर्तनजस्ता दण्डनीय कार्य रोक्न प्रभावकारी प्रशासनिक संयन्त्र बनाई कार्यान्वयन गरियोस्।
५. धर्म, संस्कृति, मठ–मन्दिर तथा सम्पूर्ण स्वदेशी स्थानीय धार्मिक सम्पदाको संरक्षणका लागि सम्बन्धित परम्परावाला समुदायको नेतृत्वमा सञ्चालन हुने प्रभावकारी नीति तथा कार्यक्रम लागू गरियोस्।
६. सरकार र धार्मिक गुरुहरूबीच राष्ट्रिय सहमति र समाधानका लागि तत्काल औपचारिक संवाद प्रारम्भ गरियोस्।
७. भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी तथा प्रशासनिक सुधार गरियोस्। धार्मिक मठ–मन्दिरमा राजनीतिक नियुक्ति बन्द गरियोस्।
८. देशको धार्मिक एकता, अल्पसङ्ख्यक समुदायको अधिकार तथा बहुसङ्ख्यक समुदायको धार्मिक भावना र पहिचानको सम्मान एवं संरक्षण सुनिश्चित गर्दै सनातन हिन्दू अधिराज्य स्थापनाका लागि संवैधानिक र लोकतान्त्रिक प्रक्रियामार्फत आवश्यक पहल गरियोस्।
९. मौलिक स्वदेशी स्थानीय परम्परागत पर्व मनाउने क्रममा जुनसुकै स्थान वा मार्ग प्रयोग गर्न सहज वातावरण बनाइयोस्। देशको कुनै पनि स्थानमा यस्ता धार्मिक कार्यक्रम रोक्ने कार्यमा संलग्नमाथि कानुनबमोजिम कारबाही गरियोस्।
आगामी कार्यक्रमहरू
१. सचेतना सभा
मिति: २०८३ साउन १७ गते, आइतबार
उद्देश्य: धर्म, संस्कृति, सामाजिक सद्भाव र नागरिक सचेतनाबारे जनजागरण।
स्थान: माइतीघर, काठमाडौं
समय: दिउँसो ठिक २:०० बजे
२. खबरदारी सभा
मिति: २०८३ साउन २० गते, बुधबार
यदि मागहरूप्रति सरकारबाट सकारात्मक पहल नभए शान्तिपूर्ण रूपमा खबरदारी सभा आयोजना गरिनेछ।
स्थान: माइतीघर, काठमाडौं
समय: दिउँसो ठिक २:०० बजे
आयोजक:
समग्र सनातन ओंकार धार्मिक समाज

Like