सक्रिय बन्दै निर्वाचन कार्यालय निर्वाचन, आचारसंहिताको व्यापक उल्लंघन
रासंसा/रौतहट, बैशाख २२,
मुलुकमा रौतहट र सर्लाही जिल्लामा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भएको पाइएको छ। निर्वाचन आचारसंहिताको धेरै पक्षमा उल्लंघन भएको आलोचना बढेपछि निर्वाचन कार्यालय बल्ल सक्रिय बन्न थालेको छ। पार्टीको झण्डा र चुनाव चिन्ह भएको झण्डा बोकाएर बालबालिकालाई चुनाव प्रचारमा खटाइएको देखिएको छ। बालबालिकालाई डिजेमा नाच गरिरहेको, झण्डा बोकेर जुलुस तथा घरदैलो कार्यक्रममा हिँडिरहेको, उम्मेदवारको गाडीमा बसेर प्रचार गरिरहेको तथा मोटरसाइकलको पछाडि बसेर झण्डा बोकेर जिन्दावाद भनिरहेको दृश्य आम भइसकेको छ। सर्लाही जिल्लास्थित पूर्वपश्चिम राजमार्गमा विभिन्न पार्टीका तुल, ब्यानर, झण्डा र चुनाव चिन्हको तोरन बनाएर जताततै झुण्ड्याइएको छ। ठाउँ-ठाउँमा उम्मेदवारहरुले आफ्नो पक्षमा माहोल बनाउने किसिमका सामग्रीहरु झुण्ड्याएका छन्। रौतहट र सर्लाहीमा उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरिरहँदा बालबालिकाको व्यापक प्रयोग गरेको देखिएको छ। सूचनामा कुनै पार्टीको चुनाव चिन्ह वा संकेत झल्किने स्टिकर, भेस्ट, गमछा आदि प्रयोग गर्न नपाइने भनिएको भए पनि सबै जुलुस र घरदैलो कार्यक्रममा यस्ता सामग्रीको व्यापक प्रयोग भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले आचारसंहिताको उल्लंघन नगर्न र परिपालन गर्न सार्वजनिक सूचना प्रकाशित गरेपछि सकारात्मक प्रभाव परेको छ। रौतहटको अधिकांश पालिकामा डिजे र लाउड स्पिकरमा चर्को आवाजमा विभिन्न पार्टीको प्रचार भइरहेको देखिन्छ। रौतहटमा आचारसंहिताको व्यापक उल्लंघन भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले आचारसंहिताको पालन गर्न सार्वजनिक सूचना नै प्रकाशन गरेको छ।