६० हजार मानिस विस्थापितहुने गरि वासिङ्टनमा डढेलोको ताण्डव
एजेन्सी/श्रावण १८,
मुलुकमा अमेरिकाको वासिङ्टन राज्यमा तीव्र गतिमा फैलिएको भीषण डढेलोले ठूलो विनाश मच्चाएको छ। स्पोकान काउन्टीमा मात्रै तीन ठूला डढेलोका कारण सयौँ संरचना ध्वस्त भएका छन् भने कम्तीमा ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। राज्यभर भने १५ वटा ठूला डढेलोका कारण २ लाख ५० हजार एकडभन्दा बढी क्षेत्र जलेको छ। समाचार संस्था रोयटर्सका अनुसार यस गर्मीयाममा वासिङ्टनमा हालसम्म करिब ४ लाख ५० हजार एकड भूभाग डढेलोबाट प्रभावित भइसकेको छ। राज्यका सार्वजनिक भूमि आयुक्त डेभ अप्टेग्रोभका अनुसार हजारौँ अग्निनियन्त्रक विभिन्न क्षेत्रमा आगो नियन्त्रणका लागि खटिएका छन्।प्रारम्भिक विवरणअनुसार अहिलेसम्म आगलागीका कारण मृत्यु वा कोही गम्भीर घाइते भएको पुष्टि भएको छैन, तर क्षतिको पूर्ण मूल्यांकन हुन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन्। डढेलो प्रभावित केही बासिन्दा सुरक्षित क्षेत्रबाट घर फर्किन थालेका छन्। तर, उनीहरूमध्ये कतिपयले आफूले वर्षौँ बिताएको घरको ठाउँमा जलेका भग्नावशेष र खरानी मात्रै भेटेका छन्। कतिपय परिवार भने आफ्ना घर सुरक्षित छन् कि छैनन् भन्ने जानकारीका लागि अझै प्रतीक्षामा छन्। अधिकारीहरूले प्रभावित क्षेत्र अझै असुरक्षित रहेकाले सबै बासिन्दालाई तत्काल घर फर्कन अनुमति दिन नसकिने बताएका छन्।
स्पोकानको बाल्बोआ क्षेत्रमा ‘ओल्ड ट्रेल्स’ डढेलो तीव्र हावाको सहयोगमा स्पोकान नदी पार गर्दै बस्तीमा प्रवेश गरेपछि घरहरूको लामो पंक्ति ध्वस्त भएको छ। केही स्थानीय बासिन्दा जलेका संरचनाबाट काम लाग्न सक्ने वा बचेका सामान खोज्दै अझै तातो भग्नावशेषबीच पुगेका छन्। स्पोकान काउन्टीमा लागेको ‘अटम लेन’ डढेलो आइतबार सबैभन्दा ठूलो अग्निनियन्त्रण प्रयासको केन्द्रमा थियो। अधिकारीहरूका अनुसार आगो अझै सक्रिय छ, तर यसको फैलावट रोक्न अग्निनियन्त्रकहरूले तुलनात्मक रूपमा राम्रो नियन्त्रण कायम गर्न सकेका छन्। अर्कोतर्फ, ओल्ड ट्रेल्स डढेलोले स्पोकानका बस्तीलाई ठूलो जोखिममा पारेको छ। शनिबारसम्म यो आगो करिब ३ हजार एकड क्षेत्रमा फैलिएको र करिब ४ हजार संरचनालाई जोखिममा पारेको अधिकारीहरूले बताएका थिए। यसकै कारण अस्पताल, पानी प्रशोधन केन्द्र र अन्य महत्त्वपूर्ण पूर्वाधारसमेत खाली गराउनुपरेको थियो। शनिबारको मौसम डढेलो तीव्र रूपमा फैलिन विशेष अनुकूल बनेको थियो। अत्यन्त सुक्खा हावा र चिसो वायुको शक्तिशाली प्रभाव (कोल्ड फ्रन्ट) का कारण २० देखि ३० माइल प्रतिघण्टाको निरन्तर हावा तथा ४० माइल प्रतिघण्टाभन्दा बढीको झोक्का चलेको थियो। तर, यो राहत लामो समय टिक्ने छैन। मंगलबारदेखि तापक्रम फेरि बढ्ने र बुधबार तथा बिहीबार स्पोकानमा ९० डिग्री फरेनहाइटभन्दा माथि पुग्ने अनुमान छ। शुक्रबार फेरि हावा बढेमा तातो र अत्यन्त सुक्खा अवस्थासँग मिलेर डढेलो अझ फैलिन सक्ने चेतावनी दिइएको छ। आइतबार हावाको गति केही कम भए पनि आगो फैलिने जोखिम कायम नै रह्यो। सोमबार भने मौसम केही अनुकूल हुने अनुमान गरिएको छ। तापक्रम करिब ८० डिग्री फरेनहाइट रहने र हावा हल्का हुने भएकाले अग्निनियन्त्रकलाई डढेलो नियन्त्रणको घेरा बलियो बनाउन केही सहज हुने अपेक्षा गरिएको छ। डढेलोको धुवाँले स्पोकानको वायुको गुणस्तर अत्यन्त खराब बनाएको छ। आइतबार सहरको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २०७ पुगेको थियो, जुन ‘अत्यन्त अस्वस्थकर’ तह हो। सोमबार हावाको दिशा परिवर्तन हुने भएकाले धुवाँ पूर्वी क्षेत्रबाट सियाटल र पोर्टल्यान्डतर्फ समेत पुग्न सक्ने मौसमविद्हरूले बताएका छन्। त्यसले संवेदनशील समूहका मानिसका लागि वायु गुणस्तर अस्वस्थकर बनाउन सक्छ। डढेलोको धुवाँसँगै पश्चिमी प्रशान्त क्षेत्रमा बनेको तातो हावाको विशाल क्षेत्र अर्थात् ‘हिट डोम’ ले उच्च तापक्रम, स्थिर हावा र जमिननजिक ओजोन जम्मा हुने अवस्था सिर्जना गरेको छ। तापक्रम र धुवाँ दुवै बढेपछि एयर कन्डिसनर (एसी) वा वातानुकूलन सुविधा नभएका घरमा बस्ने मानिसका लागि अर्को समस्या देखिएको छ– गर्मीबाट बच्न झ्याल खोल्ने कि धुवाँ घरभित्र नछिरोस् भनेर बन्द गर्ने? यस्तो दोधारमा स्थानीय परेका छन्। डढेलोका कारण विद्युत् आपूर्तिमा पनि ठूलो असर परेको छ। प्रारम्भमा ३० हजारभन्दा बढी मानिस विद्युत्विहीन भएका थिए भने आइतबारसम्म पनि १० हजारभन्दा बढी ग्राहकको विद्युत् आपूर्ति पुनःस्थापित हुन सकेको थिएन।आगोबाट विद्युत् संरचना तथा अन्य पूर्वाधारमा परेको क्षतिको मूल्यांकनसँगै मर्मत तथा पुनःस्थापनाको काम अघि बढाइएको छ। आगो नियन्त्रण र विस्थापितको व्यवस्थापनका लागि १०० भन्दा बढी नेसनल गार्डका सदस्य परिचालन गरिएको छ। वासिङ्टनबाहेक एक दर्जनभन्दा बढी अमेरिकी राज्य तथा अस्ट्रेलियाबाट समेत अग्निनियन्त्रण टोली सहयोगका लागि पुगेका छन्। राज्यका गभर्नर बब फर्गुसनले आपत्कालीन अवस्था घोषणा गर्दै राज्यव्यापी आगो नियन्त्रणसम्बन्धी प्रतिबन्धसमेत जारी गरेका छन्। संघीय आपत्कालीन व्यवस्थापन एजेन्सी (फेमा-FEMA) बाट तत्काल राहत स्वीकृत हुने अपेक्षा गरिएको छ भने दीर्घकालीन पुनर्निर्माण सहयोगका लागि पनि राज्य सरकारले पहल गरिरहेको जनाएको छ। वासिङ्टन नेसनल गार्डका मेजर जनरल जेन्ट वेल्सले प्रभावित बासिन्दालाई सुरक्षित रूपमा आफ्ना समुदायमा फर्काउन ‘केही समय लाग्ने’ बताएका छन्। भग्नावशेष, तातो अवशेष, विद्युत् जोखिम र संरचनाको अस्थिरताका कारण तत्काल सबै क्षेत्र खुला गर्न नसकिने अधिकारीहरूको भनाइ छ। स्पोकानका मेयर लिसा ब्राउनले स्थानीय बासिन्दालाई प्रभावित परिवारको सहयोगमा स्वयंसेवा गर्न आह्वान गरेकी छन्। रेडक्रस तथा स्थानीय राहत कोषमार्फत सहयोग गर्न पनि आग्रह गरिएको छ। वासिङ्टनको यस वर्षको डढेलो संकटलाई केवल आकस्मिक प्राकृतिक विपत्तिका रूपमा मात्र हेरिएको छैन। राज्यका दीर्घकालीन वन व्यवस्थापनसम्बन्धी अध्ययनहरूले तातो हुँदै गएको जलवायु, लामो सुक्खा मौसम, वन क्षेत्रमा जम्मा भएको जल्न सक्ने पदार्थ र डढेलो जोखिम भएका क्षेत्रमा बढ्दो मानवीय बसोबासले जोखिम बढाइरहेको औँल्याएका छन्। यस वर्ष भने संकट अझ ठूलो देखिएको छ। राज्यभर २ लाख ५० हजार एकडभन्दा बढी भूभागमा डढेलो फैलिनु, स्पोकानजस्ता घना बस्तीमा आगो पस्नु र हजारौँ मानिस विस्थापित हुनु पश्चिमी अमेरिकामा बढ्दो डढेलो संकटको गम्भीर संकेत बनेको छ। रोयटर्सका अनुसार राज्यका अधिकारीहरूले वर्तमान अवस्था सामान्य नभएको बताएका छन्। वासिङ्टनमा पछिल्ला वर्षहरूमा डढेलोको मौसम थप चुनौतीपूर्ण बनेको तथ्य सरकारी वन व्यवस्थापनसम्बन्धी प्रतिवेदनहरूले पनि देखाउँछन्। २०२५ को डढेलो मौसममा राज्यले अत्यधिक सुक्खा अवस्था, रेकर्ड गर्मी र ढिलो भएको चट्याङजन्य आगलागीका कारण व्यापक जोखिम सामना गरेको थियो। सोमबारको तुलनात्मक रूपमा शान्त मौसमले अग्निनियन्त्रकलाई केही राहत दिए पनि त्यसपछि फेरि तापक्रम बढ्ने भएकाले संकट तत्काल अन्त्य हुने अवस्था छैन। आगो नियन्त्रणसँगै घर गुमाएका परिवारको पुनर्वास, विद्युत् तथा अन्य पूर्वाधारको पुनःस्थापना, वायु प्रदूषण नियन्त्रण र दीर्घकालीन वन तथा जलवायु व्यवस्थापन अब वासिङ्टनसामुका मुख्य चुनौती बनेका छन्। अधिकारीहरूले क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी नै रहेको बताएका छन्। त्यसैले आगामी दिनमा ध्वस्त संरचना, विस्थापित परिवार र आर्थिक क्षतिको संख्या अझ बढ्न सक्ने सम्भावना छ।
