तामाङ र नेपाल सरकारी कामकाजका भाषा, बागमतीमा प्रधानमन्त्रीले गरे शुभारम्भ
रासंसा/काठमाण्डौ, बैशाख २४,
मुलुकमा बागमती प्रदेशमा सोमबारदेखि तामाङ र नेपाल भाषामा पनि सरकारी कामकाज हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौंको बसन्तपुरमा सोमबार भएको कार्यक्रममा तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा शुभारम्भ गरेका हुन्। अहिलेसम्म नेपाली भाषामा मात्रै सरकारी कामकाज हुँदै आएको थियो। बागमतीको गत वैशाख १२ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने निर्णय गरेको थियो। तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा बनाउने मन्त्रिपरिषदको वैशाख १२ को निर्णय राजपत्रमा वैशाख २० गते प्रकाशित भइसकेको छ। उक्त निर्णयअनुसार सोमबार प्रदेशभर सार्वजनिक बिदासमेत दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। बागमतीमा तामाङ र नेपाल भाषा बोल्ने समुदाय छन्। नेपाल तामाङ बोम्बो संरक्षण समाज, नेवा देय दबू यललगायत र्यालीसहित बसन्तपुरमा कार्यक्रम गरेका छन्।